सोमबार हङकङकी प्रमुख कार्यकारी क्यारी लामले दोस्रो कार्यकालका लागि आफू नउठ्ने घोषणा गरिन्।
यससँगै हङकङमा अबको प्रमुख कार्यकारी को होला? भन्नेबारे बहस सुरु भएको छ। हङकङमा अबको निर्वाचनमा त्यति ठूलो प्रतिस्पर्धा हुन सक्ने सम्भावना कम रहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
हङकङ प्रमुखका निकट रहेका नेता आईपी क्वोक अनुसार अबको निर्वाचनमा दोस्रो दर्जाका अधिकारी जोन ली का–चिउ प्रमुख कार्यकारीको उम्मेदवार हुनेछन्। यसअघि उनी र लामबीच प्रतिस्पर्धा हुन सक्ने अनुमान गरिएको थियो तर लाम पछि हटेसँगै अब उनी बलियो उम्मेदवार हुन सक्ने बताइएको हो।
आगामी महिनामा हुन गइरहेको निर्वाचनको लागि उनीबाहेक अन्य कुनै पनि चर्चित पात्र देखिएका छैनन्। यस्तोमा उनी निर्वाचनमा जित हात पार्न सक्ने एक्ला उम्मेदवार हुन सक्ने देखिएको हो।
क्यारी लामको डि फ्याक्टो मन्त्रिपरिषद् कार्यकारी परिषद्का एक सदस्यसमेत रहेका आईपीका अनुसार क्यारी लामले निर्वाचनमा नउठ्ने निर्णय गर्नु उनको लागि उचित हो। किनकी पछिल्लो समय उनको लोकप्रियतामा कमी आएको छ।
आगामी निर्वाचनमा कति जनाले उम्मेदवारी दिन्छन् भन्नेचाहिँ अहिले नै भन्न सकिने अवस्था छैन। हङकङमा कार्यकारी प्रमुखको निर्वाचनमा उठ्न अहिले चीनले बनाएको देशभक्त हुनुपर्ने जस्ता मापदण्ड पूरा गरेको हुनुपर्छ।
अहिलेसम्म प्रमुख कार्यकारीको लागि इच्छा देखाएकामध्ये ६५ वर्षीय फिल्म निर्माता चेक्ली सिन क्वोक–लाम र यसअघि हङकङ प्रमुखमा उठ्न पर्याप्त सहयोग नपाएका प्रजातान्त्रिक गठबन्धनका सदस्य ६२ वर्षीय टिटुस वु साइ पनि छन्।
जोन ली का चिउले बुधबार आफ्नो पदबाट राजीनामा दिन सक्छन् र आफ्नो चुनावी प्रचार सुरु गर्न सक्छन्। हङकङमा मे ८ मा प्रमुख कार्यकारीको लागि निर्वाचन हुनेछ।
Shares

प्रतिक्रिया