हङकङको एक अदालतले अवैधरुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको पास बनाई वितरणको मुद्दामा एक नर्ससहित सातजनालाई जमानत दिने निर्णय गरेको छ।
नर्स कार्मेन हो का मन र दुई परिवारका ६ जना मानिसहरुलाई पहिलोपटक बुधबार अदालतमा उपस्थित गराइएको हो। उनीहरुमाथि खोप नलगाई सरकारी वेबसाइटमा खोप लगाएको गलत विवरण राखेको आरोप छ।
अदालतले उनीहरुलाई आफ्ना वकिलसँगको परामर्शको लागि केही समय दिने निर्णय गरेको हो। न्यायाधीशले उनीहरु सबैलाई एक हजार हङकङ डलरमा जमानत दिने निर्णय गरेकी छिन्।
यद्यपि उनले उनीहरुबाट बाहिर भ्रमणमा भने प्रतिबन्ध लगाएकी छिन्। साथै उनीहरुलाई यो मुद्दाका कुनै पनि प्रत्यक्षदर्शीसँग भेट्न रोक लगाइएको छ।
उनीहरु सातैजनालाई आगामी जुन ८ मा सोही अदालतमा पेश गरिनेछ। हङकङले गत फेब्रुअरी २४ बाट शपिङ मल, सुपरमार्केट र रेष्टुरेन्टलगायतका क्षेत्रमा कोरोना खोप लगाएको पास देखाउनुपर्ने नियम ल्याएको थियो।
नर्सको रुपमा रहेकी होलाई क्वालिटी हेल्थकेयर मेडिकल सर्भिसमा पार्ट टाइम काममा राखिएको थियो। उनले मानिसहरुलाई खोप लगाउने काम गर्दै आएकी थिइन्।
तर, ४२ वर्षीया लिउ होई–यानलाई उनले खोप नलगाई खोप लगाएको प्रमाण बनाइदिएकी थिइन्। उनले आफ्ना अभिभावक तथा घरका सहयोगीलाई पनि यसै गरी खोप लगाएको प्रमाणपत्र बनाएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
यो मुद्दामा उनीहरुलाई १४ वर्षसम्मको जेल सजाय हुन सक्छ।
Shares

प्रतिक्रिया