२ दिनमा १० घण्टा हङकङमा बिताएर फर्किए सी, नयाँ सरकारलाई जनअपेक्षा पुरा गर्न निर्देशन

२ दिनमा १० घण्टा हङकङमा बिताएर फर्किए सी, नयाँ सरकारलाई जनअपेक्षा पुरा गर्न निर्देशन

नेपालखबर
असार १७, २०७९ शुक्रबार १५:३६, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङले हङकङ चिनियाँ शासन व्यवस्थामा फर्केको २५ औँ वर्षगाँठको अवसरमा गरेको सहरको दुई दिने भ्रमण टुंग्याएका छन्। उनले सहरका पाँचौँ कार्यकारी प्रमुख तथा नयाँ प्रशासनलाई शपथ पनि खुवाए।

बिहीबार हङकङ आएर विभिन्न समारोह र भेटघाटमा व्यस्त भएका सी रात कटाउन भने मुख्यभूमिको सेन्जेन नै फर्केका थिए। 

बिहान फेरि हाइस्पिड रेलमा सीमा पार गरेर उनी हङकङ आएका थिए। शपथ समारोहपछि किनोट स्पिच दिँदै सीले हङकङको सुधार र आर्थिक विकासमा जोड दिए।

सबै कार्यक्रम सकेपछि उनी अपरान्ह वेस्ट काउलुन टर्मिनसबाट विदा भएका थिए। सी र उनकी पत्नी पेङ ल्युआनलाई बिदा गर्न पूर्व कार्यकारी प्रमुखहरु ल्युङ चुन यिङ, क्यारी लाम, नयाँ नेता जोन ली र अधिकारीहरु स्टेसन पुगेका थिए। 

उनको विदाइमा विद्यार्थी र स्वयंसेवकहरुले धन्यवाद ज्ञापन गर्दै नारा लगाएका थिए। सो अवसरमा मन्दारिनमा देशभक्तिपूर्ण गीत बजाइएको थियो। 

प्लाटर्फममा पुग्नुअघि सी ले विद्यार्थीहरुतर्फ फर्केर ताली पिट्नुका साथै सबैलाई हात हल्लाएर बिदा मागेका थिए। 

दुई दिन गरी सीले हङकङमा मात्र १० घण्टा बिताए।

उनले पीएलएको हङकङ ग्यारिजन पनि भ्रमण गरेका थिए।

त्यसअघि शपथ समारोहलगत्तै सीले नयाँ नेता जोन ली र उनको क्याबिनेटसँग बैठक गरेका थिए। उनले लीलाई हङकङका जनताको अपेक्षा पुरा गर्न निर्देशन दिएका थिए।

सीलाई बिदा गरेपछि वेस्ट काउलुन टर्मिनसमा नयाँ नेता लीले हङकङप्रति सीले उच्च सम्मान र समर्थन व्यक्त गरेको बताए।

‘उहाँको शब्दहरुले एक देश दुई व्यवस्था लागू गर्न तथा हङकङको भविष्यप्रति हाम्रो आत्मविश्वास बढाएको छ,’ लीले भने।

सीको भाषणले हङकङ स्थिरता र आगामी बाटोलाई मार्गनिर्देश गरेको हङकङ बेइजिङपक्षी पार्टी डेमोक्रेटिक अलायन्स फर द बेटरमेन्ट एन्ड प्रोग्रेस फर हङकङले जनाएको छ।

आफ्नो भाषणमा सीले हङकङले आइन्दा भद्रगोल बेहोर्न नसक्ने भन्दै सबैलाई प्रगतिको मार्गमा लाग्न आह्वान गरेका थिए। त्यस्तै केन्द्र सरकारले गर्ने जुनसुकै गतिविधि हङकङकै भलाइका लागि गर्ने उनको आश्वासन थियो।

उनले जनताले रोजगारीका अवसर सिर्जना हुने, शिक्षाको अवस्था सुध्रिने र वृद्धवृद्धाको हेरचाहको व्यवस्था उन्नत बन्ने अपेक्षा गरेको बताए।

‘नयाँ सरकारले उनीहरुलाई निराश बताउनु हुँदैन। सरकारले यो अपेक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,’ सीले भनेका थिए।

‘युवाहरुको भविष्य छ। हङकङको भविष्य छ,’ सीले भनेका थिए। 

सीले हङकङका जनताले कम्युनिस्ट पार्टीको शासनलाई सम्मान गर्नुपर्ने बताए। 

उनले हङकङ र मकाउमा पुँजीवादी मोडल रहेको र मुख्यभूमिमा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी मोडल लागू गरिएको बताए। 

‘हङकङका जनताले त्यसलाई सम्मान गर्नुपर्छ,’ सीले भने। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .