हङकङमा घरको मूल्य ७ वर्षयताकै न्यून, घरभाडा भने बढ्यो

हङकङमा घरको मूल्य ७ वर्षयताकै न्यून, घरभाडा भने बढ्यो

सलिना लि
पुस १२, २०८० बिहिबार १३:२८, हङकङ

हङकङमा घरको मूल्य लागातार ओरालो लाग्दै गइरहेको छ।

सरकारी तथ्यांकका अनुसार सात महिनादेखि ओरालो लाग्दै गइरहेको आवास बजार सातौँ महिना नोभेम्बरसम्म आइपुग्दा झन्डै सात वर्षयताकै न्यूनमा पुगेको छ।

सहरको सुस्त अर्थतन्त्र र उच्च ब्याजदरका कारण माग घटेकोले घरको मूल्य डिसेम्बरमा पनि घट्ने क्रम जारी रहने सम्पत्ति एजेन्टहरूले बताएका छन्।

निजी आवासीय मूल्य सूचकांक नोभेम्बरमा ३१६ बिन्दुमा रह्यो, जुन फेब्रुअरी २०१७ पछिको सबैभन्दा कम हो।

त्यस्तै, यो सूचकांक अक्टोबरको ३२२.४ बिन्दुबाट तीव्र गिरावट आएको रेटिङ तथा मूल्यांकन विभागले जनाएको छ।

आवास बजारको मूल्य मेदेखि प्रत्येक महिना घट्दै गइरहेको छ। सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा आवास सम्पत्तिको मूल्य ५.५९ प्रतिशतले गिरावट आएको हो।

रिकाकर्प प्रपर्टिजका अनुसन्धान प्रमुख डेरेक चानका अनुसार यस महिना (डिसेम्बर)मा पनि आवास बजारमा कुनै सुधार आएको छैन।

‘डिसेम्बरमा पनि घरको मूल्य घट्ने क्रम जारी छ,’ उनले भने, ‘यो वर्ष ७ प्रतिशतले गिरावट आउने देखिन्छ।’

सम्पत्तिको मूल्य सेप्टेम्बर २०२१ को बजारबाट लगभग २०.६ प्रतिशतले कम छ।

४३१ वर्गफिटमुनिका साना एकाइहरू नोभेम्बरमा ३.४७ प्रतिशतले घट्यो भने यो वर्षको जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा ८.९ प्रतिशतले घट्न पुग्यो।

त्यस्तै, कम्तीमा १ हजार ७५ वर्गफिटको बिक्रीयोग्य ठूला आवासीय एकाइको सूचकांक महिनामा १.९४ प्रतिशतले घटेको छ भने जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा ६.१७ प्रतिशतले घटेको छ।

‘आवासीय बजार अझै पनि उच्च ब्याजदर, अपर्याप्त क्रयशक्ति र स्टकको उच्च मात्राले प्रभावित भइरहेको छ,’ ग्रेटर चाइना एट नाइट फ्रान्कका अनुसन्धान तथा परामर्श प्रमुख मार्टिन वोङ भन्छन्, ‘विभिन्न स्ट्याम्प ड्युटी (सम्पत्ति कर)को समायोजनले घरको मूल्य तथा लेनदेनको मात्रा घटाउनमा प्रभाव पारेको छ।’

यद्यपि, हङकङका प्रमुख कार्यकारी जोन लीको पछिल्लो नीति सम्बोधनले बजारलाई गतिशील बनाउनको लागि स्ट्याम्प ड्युटीमा छुटको कुरा गरेकोले सुधार होला कि भन्नेमा उनी आशावादी देखिन्छन्।

प्रमुख कार्यकारी लीले नीति सम्बोधनमा दुई वर्षपछि आफ्नो सम्पत्ति बिक्री गर्ने घर मालिकलाई १० प्रतिशत स्ट्याम्प ड्युटी छुट दिने घोषणा गरेका थिए।

त्यस्तै सम्बोधनमा गैरस्थायी बासिन्दा र थप सम्पत्ति खरिद गर्ने खरिदकर्ताका लागि स्ट्याम्प ड्युटी १५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत पुर्‍याइएको थियो।

आवास बजारमा यस वर्ष समग्रमा ७ प्रतिशत गिरावट आउने डेरेक चानको अनुमानमा मार्टिन वोङ पनि सहमत देखिन्छन्। ‘यो वर्ष (सन् २०२३) घरको मूल्य ७ प्रतिशतले घट्ने सम्भावना छ,’ वोङ भन्छन्।

सन् २०२४ मूल्य प्रवृत्ति भने अंग्रेजी ‘एल’ आकारको हुने वोङको अनुमान छ। ‘वर्षको पहिलो ६ महिना ३ देखि ५ प्रतिशतले गिरावट आउनेछ भने दोस्रो ६ महिना तुलनात्मक रूपमा स्थिर रहनेछ।’

हङकमा आवासीय सम्पत्तिको मूल्य घट्दै गइरहे पनि घरभाडामा भने वृद्धि भइरहेको छ। घरभाडा पछिल्लो १० महिनायता लगातार बढिरहेको छ।

तथ्यांकअनुसार नोभेम्बरमा आवासीय भाडा सूचकांक १८६.८ बिन्दुमा पुगेको छ। यो मासिक रूपमा ०.६५ प्रतिशत वृद्धि हो। यो तथ्यांक विगत चार वर्षयताको उच्चतम हो। यसले १० महिनाको अवधिमा घरभाडामा ७.६ प्रतिशत वृद्धि भएको देखाउँछ।

हङकङ र मकाउ हेर्ने मिडल्यान्ड रियल्टीको आवासीय डिभिजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समी पो सिउ सन् २०२३ मा घरभाडामा ६.४३ प्रतिशत वृद्धि भएको आँकलन गर्छन्।

सरकारले केही नीतिगत कुरामा सुधारमा गरे आगामी वर्ष सम्पत्तिको मूल्यमा वृद्धि आउन सक्ने सिउ बताउँछन्। ब्याजदरमा कमी तथा सन् २०२४/२५ को बजेटमा बजार गतिशील हुने खालका कार्यक्रम समावेश गर्ने सरकारको तयारीले पूर्णता पाउने हो भने अर्को वर्ष आवासीय बजारमा १० प्रतिशतले वृद्धि हुने उनको अपेक्षा छ।

यद्यपि बजार विश्लेषकहरू भने यसले घरको मूल्यलाई थप घट्नबाट रोक्न नसक्ने बताउँछन्। (एससीएमपीबाट भावानुवाद)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .