हङकङका पर्यटक बोकेको बस शुक्रबार चीनको सांघाई पुदोङ विमानस्थलनजिकै दुर्घटनामा परेको छ।
उक्त बस हङकङको ट्राभल एजेन्सी मिरामार ट्राभलको भ्रमण समूहको हो। एजेन्सीका प्रबन्ध निर्देशक ली चुनका अनुसार भ्रमण टोलीमा १६ जना थिए। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
चुनले मिडियासँगको प्रतिक्रियामा मृतक व्यक्ति पर्यटक गाइड भएको पुष्टि गरे। ६ दिनको भ्रमणमा निस्किएका उनीहरू आज हङकङ फर्कनका लागि सांघाई पुदोङ अन्तर्राष्ट्रिय विमानस्थल जाँदैथिए।
‘आज यात्राको अन्तिम दिन थियो। उनीहरू साङ्घाई पुदोङ अन्तर्राष्ट्रिय विमानस्थलतर्फ यात्रा गरिरहेका थिए,’ चुनलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ, ‘उनीहरू राजमार्गमा थिए, त्यतिबेला बस दुर्घटना भयो र हाम्रो हङकङ भ्रमण गाइड दुर्घटनामा मारिए।’
चुनले मृतक परिवारसँग सम्पर्क भइरहेको पनि बताए। ‘हामीले उनको परिवारलाई सम्पर्क गरेका छौँ र उनीहरूलाई सकेसम्म धेरै मद्दत गर्ने प्रयास गरिरहेका छौँ,’ उनले भने।
सांघाई सार्वजनिक सुरक्षा ब्युरोको अन्तर्राष्ट्रिय विमानस्थल डिभिजनले विमानस्थलको र्याम्प नजिकै एस३२ राजमार्गमा दिउँसो २:२० बजे दुर्घटना भएको बताएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, शेन थरका ५३ वर्षीय चालकले घुमाउरो बाटोमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको थियो। नियन्त्रण गुमाएको बस सडकको डिभाइडरमा ठोकियो।
डिभाइडरमा ठोकिँदा गाडीबाट खसेका यात्रुको मृत्यु भएको हो। घटनामा अन्य दुई जनालाई सामान्य चोट लागेको छ।
मुख्यभूमि अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्। भ्रमण समूहले यात्रा कार्यक्रम जारी राख्ने र आज राति हङकङ फर्कने योजना बनाएको द स्ट्यान्डर्डमा उल्लेख छ।
Shares

प्रतिक्रिया