नेपाल आइडलका पहिलो विजेता बुद्ध लामाले मकाउमा सांगीतिक प्रस्तुति दिएका छन्। लामा नेपाल आइडलको पहिलो विजेता हुन्।
२०७४ असोजमा कतारको दोहामा भएको ग्रान्ड फिनालेमा लामाले निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै नेपाल आइडल बनेका थिए।
पोखराका लामाको मकाउ प्रवेश यो दोस्रो पटक हो। नेपाल आइडल बनेपछि ५० भन्दा बढी देशको भ्रमण गरिसकेको बताउने लामा पहिलो पटक सन् २०१९ मा मकाउ आएको स्मरण नेपालखबरसँग गरे।
हङकङमा हङकङ तामाङ घेदुङको ल्होसार कार्यक्रममा सहभागी भई मकाउको निम्तो स्विकार्न उनी यहाँ आइपुगेका हुन्। लामालाई तामाङ घेदुङ एसोसिएसन मकाउले निम्तो दिएको हो।
एसोसिएसनले हिजो (१ फेब्रुअरी) ‘सोनाम ल्होसार सांस्कृतिक साँझ २०२५’ आयोजना गरेको थियो।

कार्यक्रममा नेपालबाट आएका लामाका साथै सञ्जिव वाइबाले सांगीतिक प्रस्तुतिद्वारा दर्शकलाई मनोरञ्जन दिलाएका थिए।
रिजेन्सी आर्ट होटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ मकाउका अध्यक्ष भीमकुमार राईले पानसमा द्वीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए।
एसोसिएसनका अध्यक्ष कलबहादुर तामाङको अध्यक्षता रहेको कार्यक्रममा मकाउका नेपाली संघसंस्था गुरुङ समाज, मगर समाज, शेर्पा समाज, नेवा: गुठी, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल चेम्बर अफ कमर्स लगायतका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।
साथै, हङकङ तामाङ घेदुङका निर्वतमान अध्यक्ष सुष्मा वाइबा र अध्यक्ष कृष्ण थिङको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमका लागि आर्थिक एवं अन्य सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई एनआरएनए मकाउका पूर्वअध्यक्ष पूर्ण गुरुङले सम्मान पत्र प्रदान गरेका थिए।
Shares

प्रतिक्रिया