हङकङमा अर्को हप्तादेखि ५ हजार ६० अस्थायी सार्वजनिक आवासका लागि आवेदन खुल्ने भएको छ।
‘हल्का सार्वजनिक आवास (लाइट पब्लिक हाउजिङ-एलपीएच)’ योजनाको दोस्रो चरणअन्तर्गत सोमबारदेखि आवेदन खुल्ने यी फ्ल्याट भाडामा लिनेहरू यसै वर्षको चौथो त्रैमासिकबाट त्यहाँ सर्न सक्ने अपेक्षा गरिएको छ।
आवास ब्युरोले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार यस ‘हल्का सार्वजनिक आवास’ योजनाको यो दोस्रो चरणमा क्वुनतङ, सेङसुई, काइतक र चुनमुनमा गरी चार स्थानमा ५ हजार ६० फ्ल्याट समावेश छन्।
यी फ्ल्याटको मासिक भाडा युनिटको आकार र जिल्लाको आधारमा ८६० देखि ३ हजार २७० हङकङ डलरसम्म हुनेछ।
सरकारी अनुदान प्राप्त सार्वजनिक आवासको लागि पर्खने समय कम गर्ने माध्यमको रूपमा २०२२ मा प्रमुख कार्यकारी जोन लीको पहिलो नीति सम्बोधनबाट हङकङमा एलपीएच योजना प्रस्तुत गरिएको थियो।
विज्ञप्तिमा जनाइएअनुसार तीन वर्षभन्दा बढी समयदेखि सार्वजनिक भाडा एकाइको लागि लाइनमा बसिरहेका व्यक्तिले अर्को हप्ता सोमबार (२४ फेब्रुअरी) देखि १७ मार्चसम्म प्राथमिकता पाउनेछन्।
त्यस्तै, आवश्यकतामा परेका परिवारहरू पनि उच्च प्राथमिकतामा पर्नेछन्। जसमा अपर्याप्त आवासमा बस्ने आवेदक, विशेष चिकित्सा अवस्था भएका, नवजात शिशु, साना बच्चा तथा वृद्ध व्यक्ति भएका परिवार पर्दछन्।

५ हजार ६० फ्ल्याटमध्ये २ हजार ९७० युनिट (लगभग ६० प्रतिशत) काइतक ओलम्पिक एभिन्यु र काइतक एमटीआर स्टेसनको छेउमा रहेका छन्। जसको अनुमानित मासिक भाडा १ हजार ३१० देखि २ हजार ९९० हङकङ डलर हुनेछ। काइतक साइट एमटीआर स्टेसनबाट १० मिनेटभन्दा कम दूरीमा अवस्थित छ।
त्यस्तै, १ हजार ८५० एकाइ चिङचुङ लाइट रेल स्टेसनको छेउमा रहेको चुनमुनस्थित चिङफुक लेनमा छन्। यी फ्ल्याटको मासिक भाडा ८६० देखि १ हजार ९९० हङकङ डलर हुनेछ।
बाँकी दुई परियोजना भने विद्यालय परिसरबाट मर्मत गरिनेछन्। जसमध्ये क्वुनतङ रहेको सनअन रोड परियोजनाले लगभग १३० युनिट प्रदान गर्नेछ, जसको भाडा १ हजार ३६० देखि ३हजार २७० हङकङ डलर हुनेछ।
त्यस्तै, सेङसुईमा रहेको चोईयुन रोड परियोजनाले लगभग ११० युनिट प्रदान गर्नेछ, जसको भाडा १ हजार २० देखि २ हजार ३२० हङकङ डलर हुनेछ।
गतवर्ष सेप्टेम्बरको अन्त्यसम्ममा, हङकङमा सार्वजनिक भाडा इकाइको लागि औसत प्रतीक्षा समय ५.५ वर्ष थियो।
एलपीएच योजनाको पहिलो चरणले दुई स्थानमा ४ हजार ४०० भन्दा बढी एकाइ प्रस्ताव गरेको थियो। जुन युनलङको याउपोक रोड र ङाउताउ ककको चोइहिङ रोडमा अवस्थित छन्।
हाउजिङ ब्युरोको विज्ञप्तिअनुसार, याउपोक रोड परियोजना मार्चभित्र बासिन्दाहरू बस्न सुरु गर्ने पहिलो परियोजना हुनेछ।
हङकङ सरकारले २०२७-२८ सम्ममा लगभग ३० हजार एलपीएच युनिट निर्माण गर्ने लक्ष्य राखेको बताएको छ। (एजेन्सीको सहयोगमा)
Shares

प्रतिक्रिया