हङकङमा कामदारको न्यूनतम पारश्रमिक बढ्ने भएको छ। सरकारको प्रमुख निर्णय लिने कार्यकारी परिषद्ले न्यूनतम ज्याला आयोगको सिफारिस स्वीकार गरेसँगै कर्मचारीको न्यूनतम ज्याला बढ्ने निश्चित भएको हो।
जसअन्तर्गत कामदारहरूले अब आफ्नो प्रतिघण्टा न्यूनतम तलबमा हालको हङकङ डलर ४० बाट बढेर हङकङ डलर ४२.१० पाउनेछन्। यो वृद्धि ५.३५ प्रतिशत हो।
यद्यपि, कार्यकारी परिषद्को यो निर्णयलाई व्यवस्थापिका परिषद् (लेग्को)ले भने पास गर्नु पर्दछ। परिषद्मा अर्को हप्ता बुधबार प्रस्ताव पेस हुनेछ। लेग्कोबाट पास भएमा संशोधित दर १ मेदेखि लागू हुनेछ।
कार्यकारी परिषद्ले सिफारिस स्वीकार गरेकोमा न्यूनतम ज्याला आयोगले स्वागत गरेको छ। जसबाट कम तलब लिने कामदारलाई जागिरबाट विमुख बनाउने खतरालाई न्यूनीकरण गर्ने समेत आयोगको प्रतिक्रिया छ।
‘आयोगको विश्वास छ कि न्यूनतम ज्याला दरले अत्यधिक कम ज्याला रोक्ने र कम तलब भएका जागिरको क्षति न्यूनीकरण गर्नेबीच उपयुक्त सन्तुलन कायम राख्न सक्छ,’ आयोगकी अध्यक्ष प्रिसिला वङले भनिन्, ‘यसले हङकङको आर्थिक वृद्धि र प्रतिस्पर्धात्मकतालाई दिगो बनाउने कुरामा ध्यान दिनेछ।’
न्यूनतम ज्याला बढेसँगै, कार्यघण्टाको रेकर्डअनुसार काम गर्ने कामदारको मासिक मौद्रिक सीमा पनि बढाइनेछ। जुन प्रतिमहिना हङकङ डलर १६,३०० बाट हङकङ डलर १७,२०० हुनेछ। (एससीएमपी)
Shares

प्रतिक्रिया