हङकङ साहित्यिक साझा श्रृङ्खलाको १४१औँ संस्करणमा नेपालबाट प्राप्त विभिन्न विधाका ४ ओटा साहित्यिक कृति विमोचन भएका छन्।
श्रृङ्खलाका संयोजक रमण गुरुङको अध्यक्षता र सहसंयोजक रोशन एक्सोले सञ्चालन गरेको उक्त कार्यक्रममा शिव प्रधानकृत उपन्यास ‘प्रेमाश्रु’, सगुन आँसुको ‘नवयुगकी सुम्निमा’ (कविता सङ्ग्रह), दीपा गुरुङ समभावको ‘कल्पनाका छालहरू’ (टुक्का कविता सङ्ग्रह) र ताराप्रसाद चापागाईँको ‘आवाजका रेखाहरू’ (टुक्का कविता सङ्ग्रह) विमोचन गरिएको थियो।
याउमा तेइस्थित एकीकृत नेपाली समाज (हिन्स)को सभाकक्षमा सम्पन्न भएको कार्यक्रममा हङकङवासी नेपाली कवि सुनिता गिरी, पूर्णिमाजी शाह, जानु काम्बाङ लिम्बु, रमण गुरुङ र गजलकार सुन्दर गुरुङले आ-आफ्ना रचना वाचन गरेका थिए।
त्यस्तै, कवि जुनु राना र बालिका बान्तावाले शकुन आँसुको विमोचित कृति ‘नवयुगकी सुम्निमा’ भित्रका कविता वाचन गरेका थिए भने बज्रकुमार राईले यस कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए।

त्यसैगरी, श्रृङ्खलाका संरक्षक दाजु गुरुङ, टंक साम्बाहाम्फे र साहित्यकार शिव प्रधानले विमोचित कृतिमाथि बोल्दै साहित्यिक धारणा राखेका थिए। साहित्यकार प्रधानका ‘प्रेमांशु’ (उपन्यास) बाहेक दुई वटा कथा सङ्ग्रह ‘छरिएको सिन्दुर’, ‘बहुलाहीको यात्रा’ र ‘रुदिना’ (उपन्यास ) प्रकाशित छन्।
स्मरण रहोस्, प्रत्येक महिनाको अन्तिम आइतबार हुने हङकङ साहित्यिक साझा श्रृङ्खला निरन्तर सञ्चालन हुँदै १२ वर्षको जन्मोत्सव मनाउने क्रममा छ।
Shares

प्रतिक्रिया