हङकङमा दौड प्रतियोगिता : दशकअघि स्थानीय मिडियामा यसरी छाएका थिए सन्तोष

हङकङमा दौड प्रतियोगिता : दशकअघि स्थानीय मिडियामा यसरी छाएका थिए सन्तोष

दशकअघि बोनाका एक्सन स्प्रिन्ट शृङ्खलामा साइकुङको कठिन भूभाग पार गर्दै सन्तोष तामाङ जुन तस्बिर एससीएमपीले समाचारको मुखपृष्ठमा छापेको थियो


नेपालखबर
फागुन १८, २०८१ आइतबार १२:३१, हङकङ

हङकङमा शनिबार आयोजित गोर्खा ट्रेलब्लेजर दौडमा सन्तोष तामाङ नेपाली समुदायबाट प्रथम बने।

३० र १२ किलोमिटर गरी दुई विधामा भएको दौडमा विदेशीहरूसहित उल्लेख्य संख्यामा नेपालीको पनि सहभागिता रहेको थियो।

दौडको प्रमुख विधा ३० किलोमिटरतर्फ तामाङ ओभरअलमा चौथो बने भने नेपालीहरूमाझ प्रथम भए। नेपालखबरको संवाददाता समेत रहेका उनले निर्धारित दूरी ०४:१५:३५ मा पार गरेका थिए।

यस प्रतियोगितामा फ्रान्सका अर्नाउड माउडुइट प्रथम भएका थिए। उनले निर्धारित दूरी ०३:५६:२० मा पूरा गरेका थिए। त्यस्तै, बेलायतका टोमी येङले ०३:५८:३४ र बेलायतकै रिचार्ड किम्बरले ०४:०४:०९ मा पार गरी क्रमशः दोस्रो र तेस्रो भएका थिए।

लिङ्मा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ लिमिटेडको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी बनेका सन्तोषको लामो समयपछि दौडमा पुनरागमन हो।

२०१५ को ‘बोनाका एक्सन स्प्रिन्ट दौड प्रतियोगिता’मा कीर्तिमान रचेका सन्तोष (बायाँ) लाई कदर पत्र प्रदान गर्दै हङकङ नेप्लिज टेनिस सोसाइटीका तत्कालीन अध्यक्ष मगेन्द्र राई

एक समय उनी दौडमा ‘हिरो’ थिए। त्यसैले त ‘लोकल हिरो’ को उपमा समेत पाएका थिए।

१० वर्षअघि लगातार दुई वटा उपाधि जितेर उनले यस उपमालाई न्याय समेत गरेका थिए। ‘किङ अफ द हिल’ को विजेता बनेका थिए। प्रसिद्ध भिब्राम हङकङ १०० किमि प्रतियोगितामा एसियाकै प्रथम भए। यस्ता धेरै प्रतियोगितामा उनले जित निकालेका थिए।

सन्‌ २०१५ मा ‘बोनाका एक्सन स्प्रिन्ट दौड प्रतियोगिता’ उनले ब्याक टु ब्याक लगातार दुई वटा उपाधि जिते। जितेनन् मात्र कीर्तिमान नै कायम गरे।

दशकअघिसम्म उनी दौडकै कारण धेरै पटक हङकङका न्युजपेपरमा छाएका छन्। बोनाका एक्सनमा कीर्तिमान रच्दा हङकङको प्रसिद्ध न्युजपेपर ‘साउथ चाइना मर्निङ पोष्ट’ ले ९ मार्च २०१५ मा तामाङको फोटो समाचारको मुखपृष्ठमा राखेर कभर गरेको थियो।

‘सन्तोष तामाङ र जेन विलियम्सले बोनाका एक्सन सिरिजमा उपाधि जिते’ शीर्षकमा छापिएको समाचार यस्तो थियो -

नेपाली सन्तोष तामाङ र बेलायती धावक जेन विलियम्सले आइतबार साइकुङमा भएको बोनाका एक्सन स्प्रिन्ट सिरिजको पहिलो दौडमा पुरुष र महिलाको उपाधि जिते। विलियम्सले क्लेयर च्यापम्यानको पुरानो कोर्स रेकर्ड घटाइन्।

समाचारको स्क्रिन सट

पुरुषतर्फ तामाङले १ घण्टा १७ मिनेट ४० सेकेन्डमा दौड पूरा गरे। ‘यो मेरो गतवर्षको रेकर्डको तुलनामा ठूलो सुधार हो,’ तामाङले भने, ‘समग्र च्याम्पियन उपाधि जित्नु ठूलो उपलब्धि हो।’

दौडमा अस्ट्रेलियाली धावक स्कटी कालाघन दोस्रो स्थानमा रहे। ‘म अद्भुत महसुस गर्दैछु। सुरुमा मभन्दा अगाडि चार जना थिए। भाग्यवश म डाउनहिल दौडनमा राम्रो थिएँ र म त्यो खण्डमा अरूभन्दा छिटो दौडन सक्षम भएँ,’ कालाघन भने।

दौडमा तेस्रो स्थान हङकङका धावक चेङ हिङले सुरक्षित गरे। उनले निर्धारित दूरी १ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरे। ‘मैले मेरो व्यक्तिगत रेकर्ड तोडेकोमा म धेरै खुसी छु,’ चेङले भने।

महिलातर्फ प्रथम हुने बेलायती धावक जेन विलियम्सले निर्धारित दूरी १ घण्टा ३३ मिनेट २२ सकेन्ड पूरा गर्दै नयाँ रेकर्ड कायम गरिन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .