बुधबार राति ताइवानको ताइपेईबाट हङकङ उड्ने तालिकामा रहेको उडान चराको अवरोधले रद्द हुन पुग्यो। ताइपेई आइपुग्नेबित्तिकै चरा ठोकिएको उक्त विमानको यसपछि हङकङ उड्ने तालिका थियो।
ग्रेटर बे एयरलाइन्सको उडान एचबी७०४ जब ताइपेई आइपुग्यो विमानमा चरा ठोकियो। यसपछि हङकङको उडान रद्द गरिएको थियो।
एयरलाइन्सका प्रवक्ताले बिहीबार जानकारी गराएअनुसार चरा ठोकिएपछि विमानको सुरक्षा जाँचका लागि हङकङको उडान रद्द गरिएको हो।
उडान रद्द भएपछि एयरलाइन्सले यात्रुसँग माफी मागिसकेको छ भने प्रभावित यात्रुका लागि आवासको व्यवस्था समेत गरेको थियो।
विमान राति ९ बजेतिर ताइपेईस्थित ताओयुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। घटनाबाट यात्रु र चालक दलका सदस्यलाई कुनै चोटपटक नलागेको एयरलाइन्सका प्रवक्ताले बताएका छन्।
‘सुरक्षा सावधानीका लागि विमान फेरि सेवामा प्रवेश गर्नुअघि पूर्ण निरीक्षणका लागि हङकङको उडान भने रद्द गर्नुपर्यो,’ प्रवक्ताले हङकङ उडान सम्बन्धमा स्पष्टीकरण दिएका छन्।
गएको डिसेम्बरमा दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको उडान ७सी२२१६ को दुर्घटनाग्रस्त अवतरणको सम्भावित कारण चरा ठोकिनुलाई उल्लेख गरिएको छ जुन यहाँको अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो। यो दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो।
Shares

प्रतिक्रिया