हङकङको लामतिनस्थित लिनताक रोडमा डबल डेकर बससँग ट्रक ठोकिँदा कम्तीमा १२ जना घाइते भएका छन्।
घाइते हुनेमा दुवै सवारी साधनका चालक र बसका यात्रु रहेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बुधबार बिहान करिब साढे ९ बजे विपरीत दिशाबाट आइरहेको ट्रकले नियन्त्रण गुमाउन पुगी बसलाई ठक्कर दिन पुगेको हो।
अनलाइन प्रसारित भिडिओमा देखिएअनुसार विपरीत दिशाबाट आएको ट्रकले छेउको लेनमा गुडिरहेको बसमा ठक्कर दिएको देखिन्छ। दुर्घटनापश्चात कार्गो ट्रकका सामान सडकभरि छरिएको देखिन्थ्यो।
घाइतेहरूलाई युनाइटेड क्रिश्चियन अस्पताल लगिएको छ।
फ्रान्चाइज्ड बस फर्म केएमबीले विपरीत दिशाबाट आइरहेको ट्रकले नियन्त्रण गुमाउन पुग्दा छेउको लेनमा गुडिरहेको बसलाई ठक्कर दिएको बताएको छ।
‘चालकहरूलाई साँघुरो सडकमा सावधानीपूर्वक गाडी चलाउन अपिल गरिन्छ, ताकि दुर्घटनाहरू रोक्न सकियोस्,’ घटनापछि केएमबीले भनेको छ।
Shares

प्रतिक्रिया