हङकङमा सुपर टाइफुन रगासाको प्रभाव यस्तो रह्यो

टी८ संकेत कम्तीमा राति ८ बजेसम्म रहने
हङकङमा सुपर टाइफुन रगासाको प्रभाव यस्तो रह्यो

शक्तिशाली आँधी रगासाले जरैसहित उत्तानो पारेको रुख


नेपालखबर
असोज ८, २०८२ बुधबार १४:४३, हङकङ

हङकङमा गएराति सुपर टाइफुन रगासाको प्रभाव तीव्र रूपमा रहन पुग्यो। आँधीले सहरलाई त्रसित बनाइरहेको बेला अब्जर्भेटरीले उच्चतम स्तरको चेतावनी नम्बर १० जारी गर्‍यो। बुधबार बिहान २:४० बजे जारी गरिएको यो संकेत प्रभाव घट्दै गएपछि दिउँसो ८ नम्बरमा घटाइएको छ।

यो चेतावनी संकेत आज राति ८ बजेसम्म रहन सक्ने पूर्वानुमानकर्ताले जनाएका छन्।

अब्जर्भेटरीले अझै पनि भारी हुरीबतास चल्ने, समुद्र किनारमा ठूला छालहरू ठोकिने र पानीको सतहमा उल्लेखनीय वृद्धि हुने चेतावनी दिएको छ। बासिन्दाहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ।

टाइफुनकै कारण मंगलबार झन्डै ६ सय उडान रद्द भए। बुधबार भने सीमित कार्गो ढुवानी सञ्चालन गरिएको छ। विद्यालयहरू मंगलबारदेखि नै २ दिनको लागि बन्द गरिएको छ।

शक्तिशाली आँधी रगासाले सहरमा कस्तो प्रभाव पार्‍यो त? स्थानीय सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेका हालसम्मका केही हाइलाइट–

जरैसहित उखेलिए रुख
सहरका विभिन्न स्थानमा रुखहरू फेदैदेखि ढलेका छन्। अग्नि नियन्त्रण विभागका कर्मचारी सहरभरि ढलेका रूख हटाउन व्यस्त देखिन्छन्।

प्राप्त जानकारीअनुसार, अग्नि नियन्त्रकको टोलीले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कम्तीमा १७६ वटा ढलेका रुख हटाएका छन्।

१ लाख ४० हजार हवाई यात्रु प्रभावित
विमानस्थल प्राधिकरणले विगत दुई दिनमा उडान अवरोधबाट लगभग १ लाख ४० हजार यात्रु प्रभावित भएको बताएको छ।

सुरक्षा अवस्था सुध्रिएमा एमटीआर निगमले चाँडै नै एयरपोर्ट एक्सप्रेस सञ्चालन पुनः सुरु गर्ने जनाएको छ।

क्याथेले बिहान ६ बजेदेखि सेवा सुचारु गर्ने
क्याथे प्यासिफिक एयरवेजले बिहीबार बिहान ६ बजेदेखि हङकङ विमानस्थलमा उडानहरू सुरु गर्ने बताएको छ। हङकङ बाहिर पार्क गरिएका विमानहरूलाई सहर फर्काउनको लागि व्यवस्था गरिरहेको एयरवजेजले जनाएको छ।

ग्रेटर बे एयरलाइन्सका सबै उडान रद्द
ग्रेटर बे एयरलाइन्सले बुधबारका लागि आफ्ना सबै उडान रद्द गरिएको जनाएको छ। बिहीबार बिहानदेखि सञ्चालन पुनः सुरु हुने अपेक्षा गरिएको एयरलाइन्सको कथन छ। उडान तालिकामा केही समायोजन हुनसक्ने पनि वाहकले जनाएको छ।

एचके एक्सप्रेसले मध्यरातपछि उडान सुचारु गर्ने
एचके एक्सप्रेसले मध्यरातदेखि बिहान ६ बजेसम्म १३ उडान हङकङ आइपुग्ने बताएको छ। साथै, धेरैजसो सार्वजनिक यातायातहरू सेवाबाट बाहिर हुने भएकाले यात्रुहरूलाई घर फर्कने समय पहिले नै मिलाउन आग्रह समेत गरेको छ।

रेल सञ्चालनको तयारी
टाइफुन रगासा सहरबाट टाढिँदै गर्दा एमटीआर कर्पोरेसनले विस्तारै सेवा सञ्चालन गर्ने जनाएको छ।

हङकङ स्टेसन र एसिया वर्ल्ड-एक्स्पो स्टेसनबीचको एयरपोर्ट एक्सप्रेस खण्ड, डिज्नील्यान्ड रिसोर्ट लाइनमा सेवा सुचारुको तयारी भइरहेको हो।

यद्यपि, बाहिरी रेल ट्र्याकहरूमा ढलेका रूखका अवशेष र अन्य फोहोर हटाउनुपर्ने हुँदा प्रक्रियामा समय लाग्ने एक रेल अपरेटरले बताए।

अलपत्र यात्रु
एमटीआर कर्पोरेशनले सेवा सुचारु गर्न समय लाग्ने बताइसकेको छ। दिउँसो लगभग साढे २ बजे सेन्ट्रलको हङकङ एयरपोर्ट एक्सप्रेस स्टेसनमा झन्डै ३० जना यात्रु रेल पर्खिरहेका देखिन्थे।

रेलको पर्खाइमा रहेका केही यात्रु आक्रोशित पनि देखिन्थे। सांघाईकी यात्री मे होङले दिउँसोदेखि स्टेसनमा रेल पर्खिरहेको बताइन्। उनी एमटीआर कर्पोरेसनबाट स्पष्ट सूचनाको चाहना राख्नै केही आक्रोशित पनि देखिइन्।

‘कर्पोरेसनले एयरपोर्ट एक्सप्रेस निलम्बित भएको सूचना राख्न सक्थ्यो,’ आक्रोशित मुद्रामा देखिएकी ५० वर्षीया होङ भन्छिन्, ‘आँधी चेतावनीको समयमा रेल अपरेटरको रेल सेवा तालिकाले मैले थाहा पाइनँ। मेरो प्रतीक्षा समय लामो भइसक्यो।’

भत्कियो राष्ट्रिय दिवस समारोह संरचना
चेङसा वान सरकारी कार्यालय बाहिर निर्माण गरिएको राष्ट्रिय दिवस समारोहको प्रचार संरचनालाई तीव्र हावाले भत्काइदिएको छ।

छाल हेर्न पुगेका परिवारको अवस्था गम्भीर
मंगलबार चाइवानमा शक्तिशाली छालले समुद्रमा पुर्‍याएका महिला र उनको पाँच वर्षीय छोराको अवस्था अझै गम्भीर बनेको अस्पताल प्राधिकरणले जनाएको छ।

श्रीमती र छोरालाई छालले बगाएपछि उनीहरूला बचाउन समुद्रमा हाम फालेका बुबाको अवस्था पनि गम्भीर छ।

मंगलबार दिउँसो ८ नम्बर चेतावनी संकेत जारी हुँदा ५ र ९ वर्षका छोराछोरीसहित छाल हेर्न यिप स्ट्रिटको ब्रेकवाटरमा पुगेका उक्त परिवारमाथि यस्तो विपत्ति आइलागेको थियो।

६२ जना घाइते, ४३७ रुख ढले
दिउँसो २ बजेसम्मको प्राप्त रिपोर्टअनुसार आँधीका कारण ६२ जना घाइते भएका छन्। उनीहरूको सार्वजनिक अस्पतालहरूमा उपचार भएको छ। त्यस्तै, ४३७ रुख ढलेका छन् भने एउटा पहिरो र १५ बाढीका घटना प्राप्त भएका छन्।

चेतावनी संकेत १० बाट ८ मा झर्‍यो
दिउँसो १:२० बजे अब्जर्भेटरीले १० नम्बर चेतावनी संकेतलाई ८ मा झारेको छ। र, यो संकेत कम्तीमा बुधबार बेलुका ८ बजेसम्म रहने बताइएको छ।

यसपछि हावाको गतिका आधारमा यसलाई ३ नम्बर संकेत झार्न सकिने अब्जर्भेटरीले भनेको छ।

रागासाले ल्याएको आँधीबेहरीको कारण पानीको स्तरमा १.५ मिटरभन्दा बढीको सामान्य वृद्धि भएको छ। भिक्टोरिया हार्बरको स्तर एक बिन्दुमा चार्ट डाटमभन्दा लगभग ३.४ मिटर माथि छ। यस्तै, ताइपो काउ टाइड स्टेसनमा अधिकतम पानीको स्तर चार्ट डाटमभन्दा ३.८ मिटर माथि पुगेको छ।

तटीय क्षेत्रहरूमा पानीको स्तर दिउँसोबाट क्रमिक रूपमा घट्ने पूर्वानुमानकर्ताले बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .