हङकङमा गत बुधबार १५९ जनाको ज्यान जाने गरी भएको भीषण आगलागीपछि हङकङका प्रमुख विकासकर्ताले निर्माणस्थलमा धूमपान प्रतिबन्धको लागि पहल अघि बढाएका छन्।
यदि कुनै कामदारले कार्यस्थलमा धूमपान गरेको पाइयो भने उसलाई जागिरबाटै बिदा दिनेसम्मको गृहकार्यमा विकासकर्ताहरू जुटेका हुन्।
विकासकर्ताहरूको संगठन रियल इस्टेट डेभलपर्स एसोसिएसन (रेडा)लाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘एसोसिएसनले सिनो ल्यान्ड, स्वाइर प्रोपर्टिज, सन हङ काई र न्यू वर्ल्ड डेभलपमेन्ट जस्ता प्रमुख विकासकर्तासहित आफ्ना सदस्यबाट धूमपान प्रतिबन्धको बारेमा विचार सङ्कलन गरिरहेको छ।’
स्रोतका अनुसार, रेडाको एक सदस्य हेन्डरसन ल्यान्ड डेभलपमेन्टले त निर्माणस्थलमा धूमपान प्रतिबन्ध लागु गर्न ठेकेदार कम्पनीहरूलाई निर्देशन समेत दिइसकेको छ।
हेन्डरसनले प्रतिबन्ध लागु गर्ने अधिकार ठेकेदारलाई दिएको छ, जसमा कामदारलाई जरिवानादेखि बर्खास्त गर्नेसम्मको अधिकार समावेश गरिएको छ।
यस्तै, धूमपान निषेधसम्बन्धी जानकारी गराइएका भिडिओ यतिखेर सामाजिक सञ्जालमा समेत फैलिएका छन्। पोस्ट लेख्छ, ‘बिहीबार पोस्ट गरिएको एउटा भिडिओमा सामसुई पोको एक साइटमा निर्माण कामदारहरूलाई सचेत गराइएको देखिन्छ। जहाँ भनिएको छ– धूमपान गरेको पाइएमा भविष्यका परियोजनाका लागि कालोसूचीमा राखिनेछ।’
अझ अगाडि बढ्दै ब्रिफिङकर्ताले भनेका छन्, ‘यदि मैले यहाँ कसैले धूमपान गरिरहेको भेट्टाएँ भने उसको जागिर चट् हुनेछ।’
Shares

प्रतिक्रिया