गएको हप्ता हङकङको ताइपोस्थित वाङफुक कोर्टमा भएको भीषण आगलागी पहिलो र दोस्रो तलाको बीचमा रहेको स्काफोल्डिङबाट सुरु भएको प्रारम्भिक निष्कर्ष निस्केको छ।
हङकङ अग्नि सेवाको प्रारम्भिक अनुसन्धानले उक्त निष्कर्ष निकालेको हो। अग्नि नियन्त्रक प्रमुख एन्डी युङले आगो बिन्दु निर्धारण गर्न भुइँको पूर्ण आकारको प्रतिकृति निर्माण गरिएको हुन सक्ने बताए।
प्रमुख एन्डीले शनिबार मुख्यभूमि चिनियाँ मिडियासँगको सामूहिक अन्तर्वार्तामा उक्त निष्कर्ष सुनाएका हुन्।
‘निरीक्षण गरिएका स्थलबाट सङ्कलन गरिएका रेकर्ड, घटनास्थलमा अग्नि नियन्त्रकहरूले गरेको मूल्याङ्कनको आधार लगायतको प्रारम्भिक निष्कर्षमा आगो वाङ चेओङ हाउसको पहिलो र दोस्रो तलाको बीचमा रहेको स्काफोल्डिङमा कतैबाट सल्केको थियो,’ युङले दिएको अन्तर्वार्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।
यस्तै, आगो लागेको दिन वाङफुक कोर्टको आठ ब्लकमध्ये एक वाङ चेओङ हाउसको तल्लो तलानजिकैबाट आगो सुरु भएको स्थानीय मिडियाहरूले प्रचार प्रसार गरेका थिए। यसले पनि प्रारम्भिक मूल्याङ्कनले पुष्टि गरेको युङको भनाइ छ।
यद्यपि, यो प्रारम्भिक अनुसन्धान मात्र भएको र सही क्षेत्र पहिचान गर्न थप अनुसन्धान आवश्यक पर्ने कुरामा युङले जोड दिएका छन्।
‘हामी गहन अनुसन्धान जारी राख्नेछौँ,’ युङको भनाइ छ, ‘यसमा कम्प्युटर सिमुलेसन लगायतको प्रयोग सहित आगोको वास्तविक सुरुआत बिन्दु हो कि होइन भनेर हेर्नको लागि आगोको नक्कल गर्न वान-टु-वान स्केल मोडेलको पनि प्रयोग हुनेछ।’
ताइपो जिल्लाको वाङफुक कोर्टका आठ भवनमध्ये सात वटा डेढ हप्ताअघि (२६ नोभेम्बर) भीषण आगलागी भएको थियो।
४३ घण्टासम्म चलेको आगलागीमा परी १५९ जनाको ज्यान गयो भने ७९ जना घाइते भए। मृत्यु हुनेमा १ जना अग्निनियन्त्रक पनि थिए।
Shares

प्रतिक्रिया