शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ हङकङ-मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ। निर्माण पक्षले हङकङ र पोर्चुगलमा पनि प्रदर्शन अधिकार बिक्री गरिएको जनाएको छ।
निर्देशक बस्नेतका अनुसार हङकङमा प्रदर्शन अधिकार हिमालयस क्राफ्ट एचके लिमिटेडका निर्देशक आकाश बन्जाराले किनेका हुन्। पोर्चुगलका लागि भने कावासोती पोर्चुगल संघका प्रतिनिधि सुकदेव अधिकारी र महेश न्यौरेले प्रदर्शन अधिकार लिएका छन्।
अब यो फिल्म जापान, अस्ट्रेलिया, न्युजिल्यान्डसँगै हङकङ र पोर्चुगलमा पनि प्रदर्शन हुनेछ। ‘अहिले जापान, अस्ट्रेलिया, न्युजिल्यान्डसँगै हङकङ र पोर्चुगलमा फिल्म ‘पीआर’मा सोल्ट आउट भइसकेको छ। अन्य देशमा पनि फिल्म प्रदर्शनका लागि कुराकानी भइरहेको छ,’ निर्देशक बस्नेतले भने।
फिल्मका प्रस्तुतकर्ता रञ्जित साह (आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट) र सन्तोष तिवारी (क्यारियर्स गेटवे)का अनुसार पछिल्ला दिनमा विदेशबाट आएको माग निकै उच्च रहेको र यसले फिल्मको अन्तर्राष्ट्रिय आकर्षण बढेको छ। यो फिल्म मंसिर २६ गतेबाट प्रदर्शन हुँदैछ।
फिल्मले एक महिनाअघि अस्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो गरेको थियो। उक्त शो हेरेका अधिकांश दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए।
फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्कीलाई देख्न सकिन्छ।
रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुति रहेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। फिल्मको कथा गणेश बुढाथोकीले लेखेका हुन्।
Shares

प्रतिक्रिया