पाचौँ योजनामा हङकङका नेपालीलाई सरप्राइज दिन चाहन्छु : अरुणा गुरुङ (अन्तर्वार्ता)

पाचौँ योजनामा हङकङका नेपालीलाई सरप्राइज दिन चाहन्छु : अरुणा गुरुङ (अन्तर्वार्ता)

नयाँ वर्षकै दिन सोमबार हङकङको याउचि मङ जिल्ला परिषद् सदस्यको सपथ लिएर अरुणा गुरुङले जिम्मेवारी सम्हालेकी छन्


नेपालखबर
पुस १६, २०८० सोमबार १०:३८, हङकङ

१२ डिसेम्बर २०२३ मा हङकङ सरकारले अरुणा गुरुङलाई याउचि मङ जिल्लाको जिल्ला परिषद् सदस्यमा चयन गर्‍यो। आज (१ जनवरी २०२४) मा सपथ लिएर उनले यो जिम्मेवारी सम्हालेकी छन्। यो सँगै गुरुङ जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दै नेपाली समुदायबाट यो पदमा पुग्ने पहिलो नेपाली बनिन्।

उनको कार्यकाल १ जनवरी २०२४ देखि चार वर्ष (सन् २०२४–२०२७)सम्म रहनेछ। जातीय अल्पसंख्यक समुदायलाई लक्षित गर्दै उनीहरूलाई सरकारका अंगमा समावेश गर्न सरकारले यसरी नियुक्त गर्ने गरेको छ।

स्थानीय क्यान्टोनिज भाषामा पोख्त गुरुङ गैरचिनियाँ अल्पसंख्यक सुमदायबाट अहिले याउचि मङ जिल्लाको जिल्ला परिषद्‌मा एक्लो प्रतिनिधि हुन्। उनी सन् २०१२ मा हङकङ सरकारको ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ बाट पनि सम्मानित भइसकेकी छन्।

उनै अरुणा गुरुङसँग नेपालखबरले हङकङमा गरेको कुराकानीको संक्षिप्त अंशः

तपाईँलाई हङकङ सरकारले याउचि मङ जिल्लाको जिल्ला परिषद् सदस्यमा चयन गर्‍यो। कस्तो लागिरहेको छ?
एकदमै खुसी लागेको छ। गर्व महसुस भएको छ। त्यसमाथि नेपालीहरूसँग भेटेर कुरा गर्दा र उनीहरूले खुसी मनले स्वागत गरेको देख्दा, आशीर्वाद दिएको देख्दा झन् बढी खुसी लागिरहेको छ।

हङकङ सरकारले हामी नेपालीलाई यस्तो पद दिनु भनेको हामीले कहिल्यै नसोचेको कुरा पाएको जस्तो लाग्छ।

हङकङको डिस्ट्रिक काउन्सिलमा वा भनौँ यहाँको संवैधानिक निकायमा जाने तपाईँ पहिलो नेपाली हो। शक्तिशाली राष्ट्र चीनको स्वशासित क्षेत्र हङकङको यति संवेदनशील ठाउँमा पुग्नु भनेको हङकङका नेपाली भनेर मात्र सीमित रहेन होइन?
हङकङ भनेको चीनको विशेष प्रशासनिक क्षेत्र हो। यहाँ चीन सरकारअन्तर्गत एक देश दुई प्रणाली छ। म हङकङको बासिन्दा मात्र नभएर नेपाली नागरिक पनि हो। उनीहरूले मलाई योग्य सम्झेर यो जिम्मेवारी दिए। हङकङको आधारभूत कानुनमै यो व्यवस्था भएर पनि होला। मैले नेपाली भाषाका साथै चाइनिज भाषामा पनि दखल राख्ने तथा नेपाली लगायत भारतीय, पाकिस्तानी समुदायलाई पनि समेटेर यी सबैको पुलको काम गर्न सक्ने क्षमता देखेर मलाई छनोट गरिएको हुन सक्छ। यो समुदायमा धेरै समस्या पनि आइपरे। यी समस्यालाई समाधान गर्नसक्ने व्यक्तिको आवश्यकता देखेर उनीहरूले मलाई लिएका हुन्।

एउटा उदाहरण लिऊँ, सन् २०२० मा हङकङ ठूलो आगलागी भयो। त्यो आगलागीमा ११ जना घाइते हुनुका साथै ८ जना नेपाली अर्थात् अल्पसंख्यक समुदायका मानिसको निधन भयो। त्यतिबेला धेरै समस्या देखियो। भाषाको कारणले गर्दा ‘इन्टरप्रिटेसन सर्भिस’मा समस्या भयो। आगलागीमा पर्नेहरू ज्ञान नभएरै तुरुन्तै भाग्न पनि सकेनन्। घाइते भएर अस्पताल भर्ना भएकाहरूलाई पनि उपचारका क्रममा धेरै सहयोग चाहियो। जस्तो, कुनै दुर्घटनामा परिसकेपछि मानिसलाई मानसिक समस्या हुन्छ। यसमा हामीले सामाजिक कार्यकर्ताको हैसियतमा ‘इन्टरप्रिटेसन सर्भिस’ गर्‍यौँ। यो आवश्यकताको परिपूर्ति गरेको सन्देश त्यतिबेला पनि हामीले सरकारलाई दियौँ।

यस्तै दुई महिना अगाडिको कुरा हो। एक जना भारतीय महिलाले आफ्नै तीन जना बच्चालाई मारिन्। उनका श्रीमान् चाहिँ पाकिस्तानी हो। त्यसमा पनि धेरै समस्या देखियो। यस्तो घटना कसरी घट्यो। एक जना हङकङको बासिन्दा वा भनौँ हङकङको कार्डबाहक भएपछि हङकङकै नागरिक भन्नुपर्‍यो। हङकङको नागरिकलाई भविष्यमा यस्तो घटनाबाट कसरी बचाउने भन्ने सवालमा पनि यस्तो विषयमा नेतृत्व लिन सक्ने मानिसको खाँचो देख्यो होला यहाँको सरकारले।

हङकङमा नेपालीहरू बसोबास गर्न थालेको र यहाँको राजनीतिमा जोडिएको पनि २५/३० वर्ष भयो। यतिका वर्षपछि पहिलो पटक एक जना नेपालीलाई हङकङ सरकारले छनोट गर्‍यो। यो काम किन यति ढिला भयो? र, अहिले आएर त्यसमा कसरी तपाईँ नै पर्नुभयो? 
मैले २० वर्षभन्दा बढी समयदेखि सामाजिक सेवा गर्दै आएको हो। मैले हङकङ सरकारको अफिसियल एड्भाइजरी बोर्डमा बसेर नै काम गर्दै आएँ। यति लामो दौरानमा हामीले कति म्यासेज पुर्‍यायौँ। तर, यसभन्दा अघि जति म्यासेज पुर्‍याए पनि उनीहरूले अंग्रेजी भाषाले नै सबै समाधान हुने कुरा देखेका थिए। यसभन्दा पहिले हङकङ ब्रिटिस सरकारको नियन्त्रणमा भएको कारणले पनि होला उनीहरूले अंग्रेजी भाषाले सबै समाधान हुन्छ भन्ने सोचेका थिए।

उनीहरूले पनि विस्तारै थाहा पाउँदै गए। नेपाली समुदायको वा भनौँ अल्पसंख्यक समुदायको संख्या पनि बढ्दै गयो। कतिको आमाबाबु लगायत परिवारका अन्य सदस्य आए। उनीहरू यहीँ जन्मेका होइनन्। आफ्नो देशमा जन्मेर, हुर्केर यहाँ आएको हुनाले समस्या देखिन थाल्यो– विशेषगरी भाषाको कमजोरीले गर्दा।

विस्तार–विस्तार यो समस्या झन् बढ्दै गयो। यो समस्यालाई कसरी समाधान गर्ने भन्दा– उनीहरूको आफ्नै समुदायको मानिसले नेतृत्व लियो भने सायद उनीहरूको कुरा सुनिदिन्छ, उनीहरूको समस्या समाधान हुन्छ भन्ने तरिकाले महसुस गर्‍यो जस्तो लाग्छ सरकारले।

त्यसैले पनि अहिले उनीहरूले छनोट गर्नु ठिक समय हो जस्तो लाग्छ। फेरि नियुक्ति गर्नको लागि योग्य व्यक्ति पनि हुनुपर्‍यो। मैले २० वर्षको दौरानमा धेरै काम गरेँ। पहिले म महिला आयोगको सदस्य हुँ। याउचि मङ क्षेत्रको साउथ एरिया कमिटीमा बसेर पनि ६ वर्ष काम गरेँ। अहिले याउचि मङ जिल्लाको फायर सेफ्टी कमिटीको सदस्य छु।

त्यस्तै, सन् २००६ मा म ‘द प्रमोसन अफ रेसल हार्मोनी’ भन्ने होम अफेयर्स डिपार्टमेन्टको एउटा कमिटी छ, अल्पसंख्यक समुदायको कुरा सुन्दिने एड्भाइजरी बोर्ड। त्यसको पनि सदस्य भएँ। यति धेरै कामको अनुभवले गर्दा पनि छनोटमा परिएको होला।

फायर सेफ्टी कमिटीकै सन्दर्भमा कुरा गर्नुपर्दा, सन् २०२० मा ठूलो दुर्घटना भयो, यसले गर्दा सरकारले यस्तो पोजिसनको मान्छे चाहिँदो रहेछ भन्ने महसुस गर्‍यो होला। त्यसमा अहिले योग्य मान्छे भेटियो भन्ने लाग्यो होला उनीहरूलाई। मलाई गर्व लाग्छ म चुनिएँ भनेर। यसमा म योग्य छु जस्तो लाग्छ।

तपाईंलाई छान्दै गर्दा यहाँको सरकारले तपाईंबाट के अपेक्षा गरेको छ?
मैले २० वर्षदेखि समाजसेवा गरेँ। यसभन्दा पहिलो स्वयंसेवीको काम गर्थेँ। अब चाहिँ मैले एउटा पद लिएर, अफिसमा बसेर काम गर्नेछु। अब मैले आफ्नो समुदायसँग वा भनौँ अल्पसंख्यक सुमदायसँग कुरा गरेर सरकार र समुदाय बीचको पुल भएर काम गर्न सक्ने भएँ।

यसभन्दा पहिले काम गर्दा अरूको सहयोग लिएर काम गर्थेँ भने अब सिधै काम गर्न सक्ने भएँ। पहिले चाइनिज डिस्ट्रिक्ट काउन्सिलसँग सहयोग लिन्थेँ। अब म आफैँ डिस्ट्रिक्ट काउन्सिलमा गएपछि सरकारसमक्ष सिधै कुरा पुर्‍याउन सक्ने क्षमता भयो, अनुमति भयो। यो अनुसार मैले काम गर्न सक्ने भएँ। यो मेरो पहिलो काम हो।

हाल हङकङमा ३०/४० हजार नेपाली होलान्। त्यसमध्ये हजार/पन्ध्र सय मानिस सामाजिक/राजनीतिक हिसाबले सक्रिय छन्। तिनीहरूलाई तपाईंले के गर्न सक्नुहुन्छ, हामीले के फाइदा लिन सक्छौँ भन्ने अवगत होला। तर, बाँकी सामान्य नेपाली जो काम गरेर खान्छन्, व्यापार गर्छन्। तिनीहरूको लागि तपाईँको नियुक्तिको महत्त्व के हो?
एउटा त हङकङ सरकारले नेपाली भनेर चिनायो। हामीहरू ब्रिटिस कालदेखि नै ब्रिटिस आर्मीको सन्तति हौँ। अहिले हामी दोस्रो पुस्ता हौँ। अझ हामीपछिको तेस्रो पुस्ता पनि भइसके। हामीभन्दा माथिको पुस्ताले ब्रिटिस सरकारको सेवा गर्‍यो। हामी दोस्रो पुस्ता चाइनिज सरकारको अन्डरमा हङकङलाई आफ्नो घर मानेर बसेका छौँ। बस्नु पनि पर्छ। अनि खुसी पनि हुनुपर्छ।

हामी यहाँ बसुन्जेल खुसी भएर बस्नुपर्छ। यहाँको समुदायलाई पनि खुसी बनाउनु पर्छ। सबैलाई थाहा भएकै कुरा हो, हामी यहाँ काम गर्न आएको हो। त्यसैले यो समुदायसँग मिलेर बस्नु पर्छ। सुखी तरिकाले बस्नुपर्छ, एक भएर बस्नु पर्छ। सर्वप्रथम त म यही सन्देश दिन चाहन्छु।

हाम्रो आफ्नो राजनीतिक पार्टी नेपालमा छँदैछ। सबैको आ–आफ्नो तरिकाले आफ्नो पार्टी छँदैछ। तर, यहाँ बस्दा हामी एक भएर बस्नुपर्छ। यो पार्टी, त्यो पार्टी, यो जात, त्यो जात होइन, हामी नेपाली एक भएर बस्नु पर्छ। यो नै हाम्रो लागि बुद्धिमानी हो। यो भएमा नै हामीले सरकारको सहुलियत पूर्ण रूपमा लिन सक्छौँ।

हङकङकी गृहसचिव एलिस माकसँग पाकिस्तानी मूलका परिवारको घरमा अरुणा गुरुङ

तपाईं जिल्ला परिषद् सदस्य। यहाँका सामान्य नेपालीले तपार्ईँबाट लिन सक्ने सहयोग, फाइदा के हो? जस्तो, शिक्षा, स्वास्थ्य, जागिर वा अन्य यस्तै?
जिल्ला परिषद्को सदस्यमा नियुक्ति पाउनुभन्दा पहिलेदेखि नै मेरो प्राथमिकता शिक्षा वा भनौँ भाषा हो। म एउटा नेपाली भएर पनि चाइनिज भाषा बोल्न सक्ने भएकोले म यो पदमा आउन पाएको हो।

यसभन्दा पहिले मैले क्याथे प्यासिफिक एयरलाइन्समा ३२ वर्ष ‘इन्फ्लाइट सर्भिस म्यानेजर भएर काम गरेँ। हङकङमा यो पोजिसनमा भएको पहिलो नेपाली सायद म नै होला। मैले यो काम पाउनुको मुख्य कारण चाइनिज भाषाले गर्दा नै हो। जहाँ गए पनि भाषा एकदम महत्त्वपूर्ण छ। त्यसैले म भर्खर जन्मिएका बच्चाका आमाबाबुलाई भन्न चाहन्छु कि– तपाईँका नानीबाबुलाई किन्डरगार्डनदेखि नै चाइनिज भाषा सिकाउनुहोस्। किनभने यो हामी यहाँ बस्दाखेरीको फाइदा हो। यसले अर्को फाइदा पनि हुन्छ– नानीबाबुले चिनियाँ साथीभाइसँग पनि खुलेर सञ्चार गर्न सक्छन्। उनीहरूसँगको संवादले भाषामा निखारता ल्यान अझ सजिलो हुन्छ। यो हाम्रो लागि फाइदाजनक कुरा हो।

जस्तै, मानिस जापान जान्छ, जापानिज भाषा सिकेर जान्छ। कोरिया जान्छ, कोरियन भाषा सिकेर जान्छ। युरोप जान्छ, युरोपियन भाषा सिकेर जान्छ। भनेपछि, हामी हङकङ आउँदा किन चाइनिज भाषा सिक्दैनौ? मलाई यो अचम्म लाग्छ।

नेपाली समुदायलाई यो सुझाव दिन चाहन्छु कि– कुनै पनि कुरा सिक्न लजाउनु हुँदैन। मनैदेखि इच्छा लगाएर चाइनिज भाषा सिक्नुस्। हामीलाई यो फाइदाजनक छ। यसो हुँदा राम्रो काम पाइन्छ। म जस्तै भविष्यमा जिल्ला परिषद् सदस्य हुनसक्छ तपाईंको नानी पनि। त्यसैले म भाषालाई नै पहिलो प्राथमिकता दिन्छु। मैले भाषाको कक्षा पहिलेदेखि नै चलाउँदै आएको पनि हो। अरू एनजीओसँग मिलेर चलाउँदै आएको हो।

त्यस्तै, मेरो दोस्रो प्राथमिकता भनेको स्वास्थ्य हो। हामी सबै जना स्वस्थ हुनुपर्छ। कतिपय नेपालीलाई थाहा पनि छैन होला, यहाँ स्वास्थ्य उपचारको सुविधा कति राम्रो छ भनेर।

हङकङमा स्वास्थ्य उपचारको सुविधा धेरै राम्रो छ भनेर म सबैलाई भन्न चाहन्छु। जस्तै तपाईं अस्पतालमा इमर्जेन्सीमा जानुभयो भने एक सय डलरभन्दा केही बढी मात्र तिरे पुग्छ। त्यसमा एक्स–रे, त्यहाँ बस्ने बेड चार्ज, खाना त्यसैमा पर्छ। यदि अस्पतालमै बस्नुपरेमा पनि बिहानको ब्रेकफास्टदेखि दिउँसोको खाना, कपडा लगायत अपरेसन गरेको चार्जमा पनि एकदम सहुलियत हुन्छ। यी सुविधा पाउनको लागि त्यहाँ गएर बोल्न चाहिँ सक्नु पर्छ। आफूलाई के आवश्यक छ भनेर भन्न सक्नु पर्‍यो, माग्न सक्नु पर्‍यो। जुन कुरा भाषा जानियो भने मात्र हुन्छ। यो पनि सन्देश दिन चाहन्छु।

हाम्रो अल्पसंख्यक समुदायले स्वास्थ्यका क्षेत्रमा केही बुझ्न चाहनुहुन्छ भने म सहयोग गर्न तत्पर छु। मलाई सम्पर्क गर्न सक्नुहुन्छ।

अब आयो जागिरको कुरा। हङकङमा जागिरको अवसर धेरै छ। तीन महिना अगाडिकै कुरा हो, सायद १३ अक्टोबरकै कुरा होला। त्यतिबेला १०० भन्दा बढी कम्पनीले जागिरको आह्वान गरेका थिए। त्यहाँ हजारौँ जागिरको अवसर थियो। तर, नेपालीहरूले त्यहाँ निवेदन दिएको ५०/६० जना पनि भेटिनँ।

यति ठूलो गोल्डेन अवसर छ। यति धेरै जागिर खोलेको छ, मान्छे पाएको छैन भनेको छ। यहाँको न्यूनतम तलब भनेको मासिक १५/१६ हजार हङकङ डलर छ। नेपाली रुपैयाँमा हेर्ने हो भने न्यूनतम तलब नै साढे दुई लाखभन्दा माथि भयो। यस्तो हुँदा हामी नेपालीले किन नगर्ने?

त्यस्तै, ग्य्राजुएट गरेका नेपाली नानीबाबुले आफूले जुन विषय पढेको छ, त्यसैमा काम पाउन खोज्न सक्नुपर्छ। त्यो कुरामा म सहयोग गर्छु।

मेरो चार वर्षे कार्यकालमा चौथो भिजन छ– वृद्धाश्रम खोल्ने। हामीहरू यहाँ बस्दाबस्दै बुढाबुढी भइसक्यौँ। मैले हाम्रै पुस्ताको लागि पनि सोच्नुपर्‍यो। बुढाबुढीको हेरचाह भनेको निकै महत्त्वपूर्ण कुरा हो। वृद्धाश्रमको आवश्यक छ यहाँ।

जतिसुकै मै हुँ भने पनि यहाँ गाह्रो हुन्छ हामीलाई। घरेलु कामदार राख्न सक्ने क्षमता भएकाहरूले त राख्नुहोला। तर आफन्त, छोराछोरीले हाम्रो सेवा गर्न गाह्रो हुन सक्छ। त्यही भएर यहाँ वृद्धाश्रमको आवश्यकता छ। जहाँ वृद्धवृद्धाले नेपाली भाषामै सेवा पाउन्। नर्स, डाक्टर, खानाको सुविधा होस्। म यसको लागि पहल गर्नेछु।

योजना यिनै हुन् तपाईँका?
पहिलो प्राथमिकतामा रहेका ४ वटा योजना यिनै हुन्। पाचौँ योजनामा चाहिँ सरप्राइज दिन चाहन्छु। नेपाली समुदायले पहिलेदेखि नै कम्युनिटी सेन्टरको आवश्यकता छ भनेर कुरा गरिरहेको थियो। भविष्यमा हुनसक्छ कि पहल गर्नेछु।

तपाईँ राजनीतिक पृष्ठभूमि भएको परिवारको मान्छे। नेपाल छँदा आफू पनि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। यहाँ पनि सक्रिय हुनुहुन्छ। अहिले पहिलो पटक औपचारिक नियुक्ति पाउनुभयो। नेपालमा राजनीति गर्ने व्यक्ति, त्यहाँको शैली र हङकङको राजनीतिमा कस्तो फरक हुँदारहेछ?
नेपालमा मेरो परिवार राजनीतिक पृष्ठभूमिको भए पनि म त्यति धेरै राजनीतिमा भिजेको थिइनँ। बुवा मेजर दीपकबहादुर गुरुङ सांसद हुनुहुन्थ्यो तर म सतहमै थिएँ राजनीतिको गहिराइमा थिइनँ।

हङकङको राजनीतिमा पनि म त्यति धेरै गहिराइमा त पुगेको छैन। तर, ५० वर्ष हङकङ बसाइको अनुभवमा यहाँको राजनीति समाजसेवाको तरिकाले जाँदो रहेछ। यहाँ जनताको डोनेसनबाट नै राजनीति हुँदो रहेछ। चुनाव आउन १/२ महिना अगाडिबाट मात्र होइन, पहिलेदेखि नै यहाँका राजनीतिज्ञले तयारी गरिरहेका हुन्छन्।

भर्खरै जिल्ला परिषद्को चुनाव सकियो। अब दुई वर्षपछि कानुनी परिषद्को चुनाव आउँदैछ, उनीहरूले चार वर्ष अगाडिदेखि नै तयारी गर्छन्।

यहाँको मुख्य कुरा मैले के पाएँ भने– ६० वर्ष पुगेपछि रिटायर्ड हुँदो रहेछ। नेपालमा त जति उमेर भए पनि पदमै बसिरहने चलन छ। मेरो नियुक्ति भएको उमेरले पनि हो। कतिपय प्रतिभाशाली अल्पसंख्यक इच्छुक थिए। भारतीय समुदायका अब्बल व्यक्ति थिए। मेरो विचारमा, उनीहरू जतिसुकै राम्रो भए पनि उमेरको कारणले छनोट हुन सकेनन्।

उमेर हदलाई यहाँ किन पनि प्राथमिकतामा राखिन्छ भने यहाँ समाजसेवा गर्न घर–घरमा जानुपर्ने हुन्छ। जस्तै, आज म बिहानदेखि अहिले साँझ ६ बजेसम्म १५ हजार स्टेप हिँडेछु। उमेर बढी हुने मानिस त यसरी हिँड्न सक्दैन!

समाजसेवा गर्न यहाँ यसरी डोर–टु–डोर जाने चलन रहेछ। त्यस्तै कम्युनिटी प्रोग्राम धेरै हुने रहेछ यहाँ। विशेषतः युवायुवती र वृद्धवृद्धालाई लक्षित गरेर कार्यक्रम गरिँदो रहेछ। मुख्य बुझाउनुपर्ने समूह नै यही हो, बीचको हाम्रो उमेर समूह त काममा नै व्यस्त हुन्छ। रिटायर्ड भइसकेको मान्छे घरमै हुन्छ, उनीहरूलाई कसरी आबद्ध गराउने भनेर समेट्न खोज्ने रहेछ। यहाँको राजनीतिले त्यसरी म्यासेज पुर्‍याउने रहेछ। जसले बढी समाजसेवा गर्न सक्यो त्यो नै बलियो पार्टी बन्ने रहेछ।

अघि तपाईँले भन्नुभयो नि, बुवा पुस्ताले ब्रिटिस सरकारलाई सहयोग गर्‍यो, ब्रिटिस कोलोनीको हिसाबले। अहिले हाम्रो पुस्ता चीनप्रति जोडियो, केन्द्र सरकारको हिसाबले। यसमा तपाईँको अनुभव बताइदिनुस् न?
बसाइ हेर्दा हामी हङकङमै छौँ। सन् १९९७ अघि यहाँ ब्रिटिस सरकारको कानुन चल्थ्यो, त्यसपछि चीन सरकारको कानुन चल्छ। प्रणाली फरक रह्यो। हामी जहाँ बस्छौँ त्यसको प्रणालीलाई मान्नु पर्छ। जापान गए जापानको नियम मान्नुपर्छ, यूके गए त्यहीँको नियम मान्नु पर्छ।

त्यसैले म दुई प्रणाली भनेर सोच्दिनँ। आफू यहाँ बस्दा जुन सरकार छ, त्यो सरकारलाई मान्नु पर्छ, किनभने हामी काम गर्न आएको हो। यदि आफूलाई यहाँको प्रणाली मन पर्दैन भने नेपाल नै जानु पर्छ। यदि यहाँ बस्नुछ भने यहाँको नियम मानेर बस्नु पर्छ।

फेरि हङकङ यति सुरक्षित छ कि राति १२ बजे हिँड्न पनि कुनै डर छैन। म महिला भएर पनि राति १२/१ बजे हिँड्न सक्छु, मलाई कुनै डर हुँदैन। यहाँको सुरक्षा प्रणाली एकदमै राम्रो छ। त्यसैले मलाई यो सहर छोड्न सक्दिनँ जस्तो लाग्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .