बेलायती सेना बनेका नेपालीका कथा : ‘आफ्नै ‘मृत्युपत्र’मा हस्ताक्षर गर्न सकिनँ’

बेलायती सेना बनेका नेपालीका कथा : ‘आफ्नै ‘मृत्युपत्र’मा हस्ताक्षर गर्न सकिनँ’

मगेन्द्र राई
माघ २६, २०८० शुक्रबार ८:२८, बेलायत

काँधमा टेप रेकर्डर, घाँटीमा यासिका क्यामेरा, आँखामा कालो रेबन सन ग्लास, नाडीमा सिको फाइभ घडी, मगमग बास्ना आउने चार्ली पर्फ्युम, नीलो जिन्सको ट्राउजर, सेतो स्पोर्ट्स जुत्ता, हृष्टपुष्ट शरीर, बाटुलो चमकदार अनुहार!

प्रस्तुत हुलिया हो- सन् ८०/९० को दशकका एक ब्रिटिस गोर्खा लाहुरेको। यस्तो लोभलाग्दो जीवनशैली देखेपछि कुन युवा नलोभिएलान् र लाहुरे बन्न? जनजाति समुदायका धेरैजसो युवाको त पहिलो रोजाइ नै हो- लाहुरे बन्ने। 

यसरी लाहुरे बन्ने चलन सुरु भएको दुई शताब्दीभन्दा बढी भइसकेको छ। सन् १८१४-१६ को नेपाल-अंग्रेज युद्धमा गोर्खाली फौजले देखाएको बहादुरिताबाट प्रभावित बेलायतले सन् १८१६ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिपश्चात् विधिवत् रुपमा गोर्खा पल्टनका रुपमा नेपालीलाई बेलायती सेनामा भित्र्याउन थालेको हो। 

हालसम्म बेलायती सेनामा लाखाैँ नेपाली युवा भर्ना भइसकेका छन् भने सिख युद्ध, बर्मा युद्ध, पहिलो तथा दोस्रो विश्वयुद्ध, मलाया/ब्रुनाई, कोसोभो अपरेसन युद्ध, फकल्यान्ड, खाडी, अफगानिस्तान युद्धलगायत दर्जनौँ युद्धमा सहभागी भइसकेका छन्। यस क्रममा अहिलेसम्म १३ जना गोर्खालीले ‘भिक्टोरिया क्रस’ (भीसी) पाए, हजारौँ नेपालीले ज्यान गुमाए, हजारौँ अंगभ‌ग भए, पारिवारिक विछोड भोगे, बेलायती समकक्षीबीच चरम विभेद सहे। र, पनि देशमा व्याप्त बेथिति, बेरोजगारी र गरिबीलगायत कारण गोर्खा भर्ती नेपाली युवाका लागि अझै उत्तम अवसर नै बनिरहेको छ।

गोर्खाहरूले बेलायती समकक्षबीच भोग्नुपरिरहेको विभेदविरुद्ध आवाज उठाएपछि लेबर पार्टीका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले सन् १९९७ भन्दाअगाडि सेवानिवृत्त नेपालीलाई सन् २००४ देखि आवासको अधिकार दिए। त्यसयता बेलायतमा गोर्खाहरूको बसोबास बाक्लिएको हो।

कालो टिसर्टमा सोभित गुरुङ (बायाँ)

सन् १९९७ पश्चात् गोर्खाहरूलाई पनि बेलायती समकक्षीसरह सेवा-सुविधा दिन थालिएपछि यसमा नेपालीको आकर्षण झन् बढेको हो। हरेक वर्ष बेलायती सेनामा खुल्ने २ सय गोर्खा कोटामा झन्डै ३० हजार नेपाली युवा छाती नपाउन पुग्छन्।

सन् १९९७ देखि हङकङबाट बेलायत स्थानान्तरण भएपछि गोर्खाली सेनाको संख्या  १० हजारबाट ३ हजार ६ सयमा झारियो। हाल ४ हजारभन्दा केही मात्र बढी नेपाली बेलायती सेनामा छन्। तीमध्ये धेरैजसो नेपालबाट गएका हुन् भने हङकङको बीएनओ र बेलायतमै हुर्किएर भर्ना भएका लाहुरे पनि छन्।

त्यसो त बेलायती सेनामा भर्ती हुने हरेक नेपालीका आआफ्नै पृष्ठभूमि र कथा छन्। कोही बाध्यताले, कोही रहरले त कोही देखासिकीले बेलायती सेनामा भर्ना भएका छन्।

यस्तै कथा केलाउन केही समयअगाडि यो पंक्तिकार बेलायतको कोल्चेस्टर सैनिक छाउनी पुगेको थियो। जहाँ विभिन्न पुस्ताका गोर्खालीसँग साक्षात्कार भयो।

बाजेको आशीर्वाद लाग्यो : मेजर सरोज राई 

मेजर सरोज राई

सरोज राईका बाबु-बाजे दुवै लाहुरे थिए। त्यसैले उनलाई खान-लाउन कुनै समस्या थिएन। विशेष गरी उनका बाजे उनलाई भारतीय सेनाको कमिसन अफिसर बनाउन चाहन्थे, तर उनको पढाइ मध्यम थियो।

उनी काठमाडौँमा आरसीटी डिभिजन ए क्लबबाट फुटबल खेल्थे। समय रमाइलोसँगै बितिरहेको थियो। तर फुटबल खेलेरै जीवन चलाउन सम्भव थिएन। घाइते भए वा खेल्न छाडे  ‘ह्वाट नेक्स्ट’ भन्ने प्रश्नले उनलाई घच्घच्याइरह्यो।

यही चिन्ताले उनी सन् १९९० मा ब्रिटिस गोर्खाको क्लर्कमा भर्ना भए। खेलकुदमा रुचि भएका उनलाई अफिसको बन्द कोठाभित्र बसिरहन मन लागेन। उनी इन्फेन्ट्रीमा सरुवा भए। जवान र फुर्तिलो भएकाले उनी गुरुजीहरूको प्यारो बने। र, निरन्तर पदोन्नति हुँदै अहिले मेजरको दर्जामा पुगेका छन्।

दायाँबाट क्रमशः मेजर सरोज राई, सार्जेन्ट मान लिम्बु, दिलीप राई (बिना बर्दी) र कर्पोरल शेखर थापा

उनी अहिले सलामी ग्रहण गर्दै हेडक्वाटरबाट आएका आदेश, नीति-नियम सर्कुलर गर्ने, महत्त्वपूर्ण मिटिङहरूमा उपस्थित हुनेजस्ता कार्यमा बढी समय बिताउछन्।

बाजेको कमिसन अफिसर बनाउने सपना पूरा गरिदिनुभएछ त हैन भनी प्रश्न गर्दा उनले हाँस्दै यस अर्थमा बाजेको आशीर्वाद लागेको बताए। झन्डै ३४ वर्ष लामो लाहुरे जीवनमा उनले धेरै उतरचढाव भोगे, दर्जनौँ देश घुमे, संसार देखे। दु:खसुख खेपे। समग्रमा उनी आफ्नो लाहुरे करिअरप्रति सन्तुष्ट छन्। 

आफ्नो ‘मृत्युपत्र’मा हस्ताक्षर गरिनँ : डब्ल्यूओटु खडक क्षेत्री

डब्ल्यूओटु खडक क्षेत्री

वारन्ट अफिसर खडक क्षेत्रीले ९ वर्षको कलिलै उमेरमा पितृ वियोग सहनुपर्‍यो।

बेलायती सेनाको लेफ्टिनेन्ट क्षेत्रीका पिता ६ महिनाको छुट्टीमा नेपाल जाँदा आकस्मात् बिते। त्यतिबेला उनका बुवाआमा उनलाई हङकङमै छाडेर नेपाल गएका थिए।

पिताको निधनपश्चात् उनी पुर्ख्यौली घर गुल्मी फर्कन बाध्य भए। हङकङको सुखसयलमा बस्ने बानी परिसकेका उनलाई गाउँघरको दु:खमा बाँच्न निकै गाह्रो भयो। त्यसैले उनी जसरी पनि पुन: हङकङ छिर्ने ध्याउन्नमा लागे। जसका लागि लाहुरे बन्नुबाहेक उत्तम विकल्प अरु थिएन।

मेजर इङ्लिस लिएर क्याम्पस धाउँदै गर्दा उनले बोर्डिङ स्कुलको शिक्षक बन्ने चाहना पनि राखेका थिए। तर आफ्नो प्रमुख मिसन पूरा गर्न सन् १९९२ मा क्लर्कमा भर्ना भएर उनी फेरि हङकङ पुगे। जागिरकै क्रममा उनले धेरै देश घुमे। इन्फ्रेन्ट्रीले जस्तो युद्धग्रस्त स्थानमा खटिन नपरे पनि उनी तीनपटक अफगानिस्तान जान बाध्य भए।

परिवारबाट लामो समय कहिल्यै छुट्टिन नपरेका उनलाई अझ युद्ध क्षेत्रमै जानुपर्दा चिन्ताको पहाडले नराम्ररी थिच्यो। अफगानिस्तानको पहिलो र दोस्रो बसाइ त जसोतसो कटाए तर तेस्रोपल्ट उनी निकै अत्तालिए।

तेस्रोपटकमा केही न केही अनिष्ट हुनसक्ने रुढिवादी सोचले पनि उनलाई नराम्ररी गाँज्यो।

विगत सिम्झँदै उनी सुनाउँछन्, ‘त्यतिबेला म दुश्मनबाट मारिएँ, झसंग बिउँझदा त पो थाहा भयो- सपना पो रहेछ! आफैँलाई छामेँ, जीवितै रहेछु, बढी सोच्दा सपना पनि प्रभावित हुँदोरहेछ।’

अलि भावुक हुँदै उनले थपे, ‘युद्धग्रस्त स्थानमा खटिएर जानुपूर्व आफ्नो परिवार र इष्टमित्रलाई अन्तिम इच्छा र सन्देश लेख्नुपर्थ्यो। त्यो एक किसिमको मृत्युपत्र हो। आफ्नो श्रीमतीलाई सम्झिएँ, मसिना लालाबालालाई सम्झिएँ, त्यो त आफ्नै मुटुमा छुरा चलाएर त्यसको रगतले लेख्नुजस्तै थियो, मैले आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्न सकिनँ। ती क्षणलाई शब्दमा उतार्न निकै कठिन हुन्छ।’

उनले ठट्यौली गर्दै भने, ‘मृत्युपत्रमा सहीछाप लगाउनेहरू यही छाउनीमा अझै जीवितै छन्।’

"बीएनओवाहक नेपालीलाई बेलायती सेनामा भर्ना हुने वातावरण बनाइदिएको क्षेत्रीको जिकिर

सन् २००० बाट बीएनओवाहक नेपालीहरू पनि बेलायती सेनामा भर्ना हुने बाटो खुल्यो। नेपालबाट लाहुरे बन्ने सपना पूरा गर्न नसकेकाहरूलाई यसले राहत दियो। साथै नेपालको भर्ना मापदण्डमा उमेर काटेकाहरूले पनि बीएनओमार्फत बेलायती सेनामा काम गर्न पाउने भए।

यही प्रसंग कोट्याउँदै क्षेत्रीले कथा सुनाए। 

उनका भाइ हङकङबाट बीएनओ पासपोर्टमार्फत बेलायत घुम्न र काम गर्न आएका थिए। उनी सेनामै भएका कारण भाइले पनि सैनिक जागिर खान रहर गरे। अनि भाइलाई आफैँले भर्नाकेन्द्रमा लगे। तर कागजात देखाउँदा त्यहाँका अधिकारीहरूले उनका भाइ बेलायती नागरिक नभएकाले भर्ना गर्न नसकिने बताए। 

त्यसपछि क्षेत्रीले प्रतिवाद गर्दै बीएनओ लिइसकेपछि नेपाली नागरिकता स्वत: समाप्त हुने प्रावधान रहेको बताउँदै आफ्ना भाइले बीएनओ लिइसकेको हुँदा बेलायती सेनामा भर्ना हुन पाउने जिकिर गरे।

यो सुनेर त्यहाँका अधिकारीले निवेदन लेख्न लगाउँदै केही समय प्रतीक्षा गर्न भने। नभन्दै करिब दुई महिनापछि सम्बन्धित निकायबाट उनका भाइले भर्ना हुन पाउने जानकारी गराउँदै कार्यालय आउन खबर आयो।

त्यसो भए तपाईंको भाइ पनि तपाईंसँगै बेलायती सेनामा कार्यरत छन्?

नेपालखबरको जिज्ञासामा उनले भने, "ऊ छनोट प्रक्रियामा सफल हुन सकेन, तर त्यसयता बीएनओवाहक धेरै नेपाली बेलायती सेनामा भर्ना हुने बाटो खुल्यो, जुन अहिले पनि जारी छ। मलाई लाग्छ- यसमा मेरो भूमिका छ।’

इराक खटिन चाहन्थे सार्जेन्ट रविन राई

लाहुरे बन्ने धोको पूरा नभएपछि धरानका रविन राई हङकङ हानिए। हङकङमा निकै आकर्षक आम्दानी भए पनि उनलाई लाहुरे बन्ने धङधङी बाँकी नै थियो। त्यो चाहना पूरा गर्न उनी सन् २००४ मा बेलायत आए। बीएनओमार्फत बेलायती सेनामा भर्ना भए।

सोही समय इराकमा सुन्नी विद्रोहीले १२ नेपालीको हत्या गरेका थिए। यता ट्रेनिङ चलिरहेको थियो।

त्यो क्षण सम्झिँदै राई भन्छन्, ‘ट्रेनिङ सकेर पहिलो पोस्टिङ इराकमा भइदिएहुन्थ्यो भन्ने कामना थियो।’

त्यस्तो खतरापूर्ण ठाउँमा सकेसम्म जान नपरोस् भन्ने पो हुन्छ हैन र?

नेपालखबरको प्रश्नमा उनले भने, ‘आखिर जे भए पनि यो मन त नेपाली हो नि! नेपालीहरूमाथि भएको अन्याय र पीडा कसरी आँखा चिम्लेर बस्न सकिन्छ र! मलाई त तालिम सकिनेबित्तिकै त्यहाँ गएर तिनिहरूलाई मकै भुटेझैँ गोलीले भुट्न, मुला काटेझैँ छप्काउन रगत उम्लेर आएको थियो।’

उनले आफ्नो सैनिक जीवनको पहिलो अध्यायलाई यसरी सम्झिए।

नभन्दै उनी युद्धग्रस्त क्षेत्रमा खटिए। र, आफ्नै अगाडि दुश्मनले प्रहार गरेको मोर्टारको विस्फोटन पनि देखे।

‘युद्धमा खटेपछि यस्ता अनेक बाधा, सिनारियोहरू छिचोल्न सक्ने मेन्टालिटी हुनुपर्छ’, उनी भन्छन्, ‘बालबाल बचियो।’

बाबाले नेपाली सेनाको लप्टन बनाउन चाहन्थे : स्टाफ सार्जेन्ट टेकेनसिंह गुरुङ

बायाँबाट टेकेनसिंह गुरुङ र रविन राई

स्याङ्जाका टेकेनसिंह गुरुङ पढाइमा मेधावी थिए। बेलायती सैनिक परिवारमा हुर्केका उनलाई उनका पिता नेपाली सेनाको सेकेन्ट लेफ्टिनेन्टमा भर्ना गराउन चाहन्थे। विज्ञान विषय लिएर त्रिचन्द्र कलेज पढिरहेका उनलाई नेपाली सेनामा भर्ना हुन पढाइले मात्र नपुग्ने, तर घुस खवाउनपर्ने स्थिति उनले बुझे। उनका बुवा घुसका कट्टर विरोधी थिए। त्यसैले उनले लेफ्टिनेन्टमा भर्ना हुने सपना सदाका लागि त्यागिदिए।

त्यसपछि उनी विस्तारै अल्लारे संगतले अल्लारिन थाले। उनको यस्तो चाला देखेपछि उनलाई दु:ख चखाउन उनका पिताले १८ वर्को उमेरमा उनलाई हङकङ खेदाइदिए। हङकङमा उनको कमाइ ब्रिटिस आर्मी अफिसरलाई जित्ने थियो।

त्यसै पनि सेनामा जाने सोच नबनाएका उनको मन भर्ती भएर थोरै पैसामा काम गर्न किन मान्थ्यो र? तर पनि ज्यादै काममा खटिनुपर्ने हुँदा उनलाई दिक्क लागिरहेको थियो। अन्तत: उनी सन् २००५ मा बेलायत आएर बीएनओमार्फत बेलायती सेनामा भर्ना भए।

संगीत क्षेत्रमा रम्न चाहन्थे, बने सैनिक नर्स 

सार्जेन्ट मान लिम्बु गोर्खा सैनिक परिवारमा जन्मिए पनि उनका पिता उनलाई लाहुरे होइन, नेपालमै पढेर जागिरे बनाउन चाहन्थे। त्यसो त उनी आफैँ पनि लाहुरे बन्न चाहन्थेनन्। पढाइमै ज्यादा चाख थियो। त्यसैले उनलाई बाबाले दार्जिलिङको स्कुलमा भर्ना गरिदिए।

साहित्य र संगीतको उर्वर भूमि दार्जिलिङ पुगेपछि कलिलो उमेरका मानको मनमा संगीतको बीउ रोपियो। बिस्तारै उनी संगीतको मोहमा डुब्न थाले। उनले खासै नरुचाएका पेसा गोर्खा भर्तीभित्रै संगीतको रहर पूरा गर्ने मौका पाइन्छ भन्ने आशाले उनी सन् २००३ मा बेलायती सेनामा भर्ती भई ब्यान्डमा कम्पनीमा गए।

पछि संगीतको सागरमा डुब्दै जाँदा आफ्नो क्षमता थाहा पाए। आफू संगीतका लागि नजन्मिएको महसुस गरे। अनि करिब ८ वर्षपछि उनले संगीतकर्मी हुने सपनालाई तिलान्जली दिए र सैनिक नर्स बने।

‘सैनिक नर्स निकै जोखिमपूर्ण पेसा हो, युद्धग्रस्त क्षेत्रमा खटिएर घाइतेहरूको उपचार गर्नु, उनीहरूको ज्यान बचाउनु प्रमुख उद्देश्य हो, अर्थात् ड्यामेज कन्ट्रोल गर्नु हो, मान भन्छन्, ‘यसका बाबजुद करिअरको इन्जोए गरिरहेको छु।’

गोर्खा ब्रान्डमै रम्न मन पर्छ : कर्पोरल सेखर थापा

बुटवलका शेखर थापामा सानैदेखि लाहुरे बन्ने सपना थियो। नभन्दै उनी सन् २००६ मा भर्ती भएर बेलायत आए। आफूलाई मन परेको पेसामा आवद्ध हुन पाउनु ढुंगा खोज्दा देउता फेलापरेजस्तै भयो।

पेसाकै सिलसिलामा उनी थुप्रै देशमा पुगिसके। विभिन्न मुलुक भ्रमण गर्न पाउनु बेलायती सेनाको एक आकर्षक पाटो हो। निजी खर्चमा यसरी भ्रमण गर्न निकै मुस्किल हुन्छ।

धेरै गोर्खाली बिग्रेड अफ गोर्खा छाडेर गोरा पल्टन गइसके, तपाईंको के योजना छ?

नेपालखबरको प्रश्नमा उनले भने, ‘त्यो आआफ्नो स्वतन्त्रताको कुरो हो, तर मलाई गोर्खा ब्रान्ड नै मन पर्छ, जसले नेपालीपनलाई क्यारी गरेको छ। नेपाली चालचलन, परम्परा, रहनसहन, संस्कार-संस्कृतिलाई बचाउँदै, जीवन दिँदै आएको छ, मलाई ब्रिगेड अफ गोर्खाजमा आनन्द छ, कम्फर्टेबल छ।’

कमर्सियल पाइलट बन्न नपाएपछि बेलायती सेना 

पछिल्लो छिमलका सोबित गुरुङको बाल्यकाल ब्रुनाईमा बितेको थियो। उनी आफ्ना लाहुरे बाबासँगै कलिलै उमेरमा बेलायत बसाइँ सरेका थिए। उनको सपना कमर्सियल पाइलट बन्ने थियो। तर यो निकै खर्चालु भएका कारण उनको बाटो मोडियो। र, सन् २०२१ मा बेलायती सेनामा भर्ना भए।

बाटो फेरिए पनि उनको लक्ष्य फेरिएको छैन। उनी प्लान एमार्फत सेनाको सेक्टरबाटै पाइलट बन्न चाहन्छन्। कदाचित् यो सपना साकार हुन नसके प्लान बीमार्फत कमिसन अफिसर हुने आफ्नो लक्ष्य रहेको उनले सुनाए।

उनी भन्छन्, ‘सोचेजस्तो जीवन नहुन सक्छ, सबै सपना पूरा हुन्छन भन्ने छैन, तर अल्टर्नेटिब प्लान हुन जरुरी छ, त्यसैले प्लान ए असफल भए प्लान बी गर्ने हो, प्लान बी पनि सफल भएन भने सी गर्ने हो। सगरमाथा चढ्न सकिएन त के भो, मकालुका लागि प्रयास गर्ने हो, मकालु नसके हिउँचुली चढ्ने हो। बेलायती सेनामा वाइड रेन्ज छ, आफ्नो योग्यता र क्षमता भए धेरै अवसर छन्। यहाँ नेपालमा जस्तो भनसुन, घुसपेस केही चल्दैन। निष्पक्ष रुपमा सबैले समान अवसर पाउँछन्। मेरो भविष्यको योजना सेनाबाटै कमर्सियल पाइलट बन्ने हो। त्यो पनि हुन नसके सैनिक अधिकृत बन्छु।’

उनी आफ्नो लक्ष्यमा कटिबद्ध छन्।

पंक्तिकारसँगै छाती नपाएका भोजपुरका दिलीप हिराहाङ्ग राई पनि भेटिए।

सन् १९९५ मा बेलायती सेनामा भर्ना भएका उनी आगामी सन् २०२५ मा पेन्सन पकाउँदै छन्।

३० वर्ष कति छिटो चिप्लिएर गयो पत्तै नभएको उनले बताए।

उनको छातीभरि तक्मा देखेर मलाई भन्न त मन थियो- भिक्टोरिया क्रसले त दुनियाँ रुवाउँछ साथी! तिम्रो छातीमा त गुराँस सुहाउँछ!

तर खैर! मनको ऐनामा बेरोजगारीले अट्टहास गरिरहेको थियो।

वैदेशिक रोजगारको लागि लाइन लागेका हजारौँ युवाको तस्बिर झलझली याद आइरहेको थियो। र, भन्न मन लागेको थियो- भावनाले घरको चुलो बल्दैन। खाने चरी आशिषले बाँच्दैन। त्यसैले दुई शताब्दीभन्दा लामो इतिहास बोकेको गोर्खा भर्ती सुरु जसरी भए पनि अहिले परम्पराजस्तै बनेको छ।

हाल बहालमा रहेकाबाहेक पूर्वगोर्खा सैनिक र तिनका परिवार दसौँ हजारको संख्यामा बेलायतमा बसोबास गरिरहेका छन्। बहादुरमध्ये सबैभन्दा बहादुर, उदारमध्ये सबैभन्दा उदार तथा सबैभन्दा भरोसापूर्ण मित्रको उपमा पाएको गोर्खाहरू स्थानीय बेलायतीबीच निकै सम्मानित छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .