छापा खबर


यसकारण महत्त्वपूर्ण छन् सर्प, भ्यागुता र छेपारा

यसकारण महत्त्वपूर्ण छन् सर्प, भ्यागुता र छेपारा

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार २:०,

चितवन अन्नपूर्ण भूपरिधि क्षेत्रमा सर्प, भ्यागुता र छेपाराको बासस्थानका सर्वेक्षण भइरहेको छ।

सरिसर्प वर्गको मझौला तथा साना जीवजन्तुमा पर्ने सर्प, भ्यागुता र छेपाराको वास्तविक अवस्थिति पत्ता लगाउने विशेष अध्ययन गर्ने आधार तयार पार्न सर्वेक्षण सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ।

कोषको अगुवाइमा भइरहेको सर्वेक्षणले दिने आधारकै भरमा सर्प, भ्यागुता र छेपाराको वास्तविक सङ्ख्या पत्ता लगाउन अर्को अध्ययन हुने सर्वेक्षण संयोजक सन्तोष भट्टराईले जानकारी दिए।

उनले भने, “चितवन अन्नपूर्ण भूपरिधि क्षेत्र वन्यजन्तुका लागि मुख्य करिडोर नै मानिन्छ, यी क्षेत्रमा जलवायु परिवर्तनको असर कस्तो परेको छ र त्यसले सरिसर्पका साना प्रजातिमा प्रभाव कस्तो छ भनेर अध्ययनले पत्ता लगाउने छ।”

उनका अनुसार जसरी यी क्षेत्रमा विचरण गर्ने बाघ, गैँडा, हात्तीको महìव छ, त्यसरी नै साना सरिसर्पको अवस्थिति पनि महìवपूर्ण छ । सरिसर्प वर्ग केही समय पानीमा र केही समय जमिनमा बस्छ। त्यसैले जमिन र पानीको सन्तुलनमा थोरै पनि गडबड भएको खण्डमा यिनको जीवनचक्रमा नै असर पर्ने उनी बताउँछन्।

संरक्षण जरुरी
सर्पले भ्यागुता र छेपारो खान्छ। भ्यागुताले फट्ङ्ग्रा र अन्य कीरा खान्छ । छेपाराले किसानका बालीका साना कीरा उन्मूलन गर्ने अध्येता करण शाहले बतए।

“त्यसैले खाद्यचक्रमै यिनीहरूको भूमिका प्रकृति सन्तुलन राख्नमा ठूलो छ,” शाहले भने, “अधिकांश मांसाहारी रहेकाले बढेका साना कीटपतङ्गको सङ्ख्या सन्तुलनमा राख्न पनि सघाउँछ।”

अन्नपातका हानिकारक जीव र कीरा व्यवस्थापनमा मानिसलाई सघाउने गर्छ। उहाँका अनुसार भ्यागुताका केही प्रजाति औषधिका रूपमा समेत प्रयोग हुने भएकाले अझ महत्वपूर्ण मानिन्छ। यो खबर आजको गोरखापत्रमा चाँदनी हमालले लेखेकी छन्।

“विदेशमा कानुनी रूपमै भ्यागुताको खेती हुने गरेको पाइन्छ तर नेपालमा यसको महìव बुझ्न अझै सकिएको छैन,” उनले थपे, “मेरुदण्ड भएको शरीरको संरचनाको अध्ययन नै भ्यागुतामार्फत आधुनिक जमानामा हुन थालिसकेको छ।”

उनले भनेझैँ चीन, मलेसिया लगायतका देशमा भ्यागुता खानाको परिकार तथा औषधिका लागि प्रयोग गर्ने गरिन्छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्येता भट्टराईका अनुसार आयु छोटो हुने भ्यागुताको नयाँ पुस्ता करिब ४५ दिनभित्र तयार हुन्छ । त्यसरी उत्पादन हुने भ्यागुताबाट औषधीय क्षेत्रको परीक्षणमा नेपालले राम्रो फाइदा लिनसक्छ।

औषधि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने र नयाँ औषधिको विकास गर्ने सरकारी लक्ष्य पूरा गर्न भ्यागुता निकै सहायक हुनसक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन्। छेपारोको अवस्थिति जङ्गल र बुट्यान मासिँदै गएकाले थप अध्ययन हुनु जरुरी रहेको अर्का अध्येता शाहले औँल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad