दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले उद्धार गरेको छ।
अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेका उनीहरू सोमबार राति काठमाडौं आइपुगेका छन्।
चारै जना एक वर्षअघि भारतीय एजेन्टको पछि लागेका थिए। एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्याउन आश्वासन दिएको थियो। शारीरिक र मानसिक यातना दिएर राखिएका उनीहरूलाई ब्युरोले मलावी प्रहरीसँगको समन्वयमा छुटाएको हो।
गिरोहले उनीहरूलाई भियतनाम, इथियोपिया, मादागास्कर, जोर्डन, दुबई, अजरबैजान हुँदै मलावी पुर्याएको थियो। प्रारम्भिक बयानमा उनीहरूले गुमाएको यकिन रकम नबताए पनि प्रत्येकले १५ लाख रुपैयाँभन्दा बढी फसाएको हुने सक्ने प्रहरीले जनाएको छ।
उद्धार भएकाहरूले मलावीमै अन्य पाँच नेपाली पनि मानव तस्कर गिरोहको फन्दामा परेको तर उनीहरू प्रहरीको सम्पर्कमा आइनसकेको सूचना ब्युरोलाई दिएका छन्।
‘भारतीय नागरिक एजेन्टले हामीलाई धम्क्याउँदै कुटपिट गर्थे,’ एक पीडितले प्रहरीसँग भनेका छन्, ‘एकाध दिनको अन्तरमा स्थानीय केटाहरू आउँथे र पैसा माग्दै कुटपिट गर्थे।’
गिरोहले उनीहरूको राहदानी र परिचय खुल्ने कागजात कब्जामा लिएको थियो। एजेन्टले नेपाल फर्किने भए ३ लाख भारु र २५ डलर खाना खर्च तथा बोलिभिया उड्ने भए ७ लाख भारु मागेको थियो। यो खबर आजको कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन्।
रकम नदिए मिर्गाैला निकालेर बेचिदिने धम्की दिइएको पीडितको भनाइ छ। बोलिभिया पुग्न नसके अमेरिका नै जाने, नसके चिली वा ब्राजिल जाने उनीहरूको योजना थियो। तर १५ लाखभन्दा धेरै कम खर्चिंदा पनि काम नभएपछि उनीहरूको सपना चकनाचुर भयो।
Shares

प्रतिक्रिया