ad ad

छापा खबर


एमबीबीएस परीक्षामा सेटिङ : नक्कली परीक्षार्थी मार्फत जाँच दिन लगाएर करोडौं असुली

एमबीबीएस परीक्षामा सेटिङ : नक्कली परीक्षार्थी मार्फत जाँच दिन लगाएर करोडौं असुली

नेपालखबर
चैत १९, २०७८ शनिबार ९:१०, काठमाडौँ

स्वास्थ्यजस्तो निकै संवेदनशील विषय र चिकित्सक पेसाकै बद्नाम हुनेगरी एमबीबीएस परीक्षामा सेटिङ धन्दा मौलाउँदै आइरहेको पुष्टि भएको छ। 

एमबीबीएसको इन्ट्रास परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाउने र त्यसरी परीक्षा दिने परीक्षार्थी मार्फत् ३० देखि ४० लाख रुपैयाँ असुली हुने गरेको पाइएको खबर आजको राजधानी दैनिकले छापेको छ। 

चिकित्सा शिक्षा आयोग र चिकित्सा अध्ययन संस्थान (आईओएम)ले लिने एमबीबीएस परीक्षाको इन्ट्रासमा करोडौँको सेटिङ हुने गरेको गुनासा आइरहेका थिए । सेटिङ धन्दा मौलाउँदै जाँदा आयोग र आईओएम दुवैमाथिसमेत आशंका सिर्जना भएको छ।

ती निकायले लिने सो परीक्षा शुक्रबारदेखि नै सुरु भएको छ। 

एमबीबीएसको इन्ट्रास परीक्षामा लामो समयदेखि नै सेटिङको आधारमा करोडौँको चलखेल हुने गुनासा र उजुरी पर्ने गरेको थियो । शुक्रबारदेखि सुरु भएको एमबीबीएसको इन्ट्रान्स परीक्षामा सहभागी भएका चार जना नक्कली परीक्षार्थी र एक जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। 

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले नक्कली परीक्षार्थी र बिचौलिया गरी पाँच जना पक्राउ गरिएको पुष्टि गरे । उनले अन्य नक्कली परीक्षार्थीको पनि व्यापक रूपमा खोजी गरिएको जानकारी दिए।

यसरी प्रहरीले चार जना नक्कली परीक्षार्थी र बिचौलियालाई पक्राउ गरेपछि सेटिङ धन्दा सञ्चालन हुने गरेको र करोडौँको असुली हुने गरेको पुष्टि भएको हो । हाल सञ्चालन भइरहेको एमबीबीएस परीक्षामा अझै २ सय जना नक्कली परीक्षार्थी सहभागी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । ती सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ।

एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरी करोडौं रुपैयाँको चलखेल तथा सेटिङ हुने भएकाले छानबिन र कारबाहीको माग गर्दै केही दिनअघि मात्रै प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी परेको थियो । त्यसलगत्तै प्रहरीले एमबीवीएस परीक्षामा नक्कली परीक्षार्थी प्रयोग हुने विषयमा अनुसन्धान गर्दै आइरहेको थियो।

बिहीबार मात्रै गृह मन्त्रालय र प्रहरीले पनि एमबीबीएसको इन्ट्रान्समा नक्कली परीक्षार्थी प्रयोग हुने अवस्था रहेकाले सो परीक्षा स्थगित गर्न चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयलाई आग्रह गरेको थियो तर आयोगले भने परीक्षा नरोकिने जवाफ दिएको थियो।

स्रोतका अनुसार सेटिङ धन्दा सञ्चालन गर्नेहरूले त्रिभुवन विश्वविद्यालयका टपर विद्यार्थी तथा यसअघि नै परीक्षा दिएका काविल विद्यार्थीलाई एमबीवीएसको इन्ट्रान्स परीक्षामा सहभागी गराउने गरेका छन्। 

यसैगरी भारतबाट समेत ट्यालेन्ट विद्यार्थीलाई पैसा दिएर ल्याउने गरिएको छ । सेटिङवाला तथा बिचौलियाले नेपालमा एमबीबीएसमा सहभागी हुने तर परीक्षामा उत्तीर्ण हुन कठिन हुने खालका विद्यार्थीका अभिभावकसँग प्रतिअभिभावक ३० देखि ४० लाखसम्म उठाउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .