ad ad

छापा खबर


३० वैशाखमा हुने निर्वाचनको मतपत्रमा पहिलो नम्बरमा चुनाव चिन्ह ‘सूर्य’ रहने, यस्तो छ कारण

३० वैशाखमा हुने निर्वाचनको मतपत्रमा पहिलो नम्बरमा चुनाव चिन्ह ‘सूर्य’ रहने, यस्तो छ कारण

नेपालखबर
चैत २१, २०७८ सोमबार ६:३४, काठमाडौँ

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ।

आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्न लागेको खबर आजको राजधानी दैनिकले छापेको छ।

सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ,’ भन्ने उल्लेख छ।

सो कानुनअनुसार मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न सूर्य पहिलो, कांग्रेसको ‘रुख’ दोस्रो, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो, जसपाको ढल्केको छाता चौंथो, लोकतान्त्रिक समाजवादी पार्टी (लोपाका)को साइकल पाँचौं र नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलम छैटौं नम्बरमा रहने भएको हो । यी ६ दल राष्ट्रिय मान्यता प्राप्त हुन्।

यसैगरी, सातौं नम्बरमा विवेकशील साझा पार्टीको चिह्न तराजु, आठौंमा राप्रपाको हलो, नवौंमा जनमोर्चाको गिलास र १०औं नम्बरमा नेपाल मजदुर किसान पार्टीको चिह्न मादल रहने आयोगले जनाएको छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ को व्यवस्थामा पनि अघिल्लो निर्वाचनमा समानुपातिकमा प्राप्त मतका आधारमा अर्को चुनावका लागि चिह्न निर्धारण हुने व्यवस्था उल्लेख छ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको मतका आधारमा स्थानीय तह निर्वाचनको मतपत्रमा चुनाव चिह्न कायम हुने जानकारी दिए।

‘आयोगले मतपत्रमा चुनाव चिह्न राख्दा दल हेर्दैन, कानुन हेर्छ, कानुनअनुसार २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको मतका आधारमा मतपत्रमा चुनाव चिह्न कायम हुन्छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने।

दलहरूबीचमा मतपत्रमा चुनाव चिह्न राख्ने विषयमा विवाद हुने गरेपछि २०७३ सालमा निर्वाचनसम्बन्धी कानुन बनाउँदा समानुपातिकतर्फ दलले प्राप्त गरेको मतका आधारमा अर्को चुनावका लागि चिह्न निर्धारण हुने व्यवस्था गरिएको थियो। ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .