ad ad

छापा खबर


एमबीबीएस परीक्षामा सेटिङ : ५ देखि १८ लाखसम्म ‘डिल’

एमबीबीएस परीक्षामा सेटिङ : ५ देखि १८ लाखसम्म ‘डिल’

नेपालखबर
चैत २२, २०७८ मंगलबार ७:२१, काठमाडौँ

चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा पक्राउ परेका नक्कली विद्यार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी अरूको नाममा परीक्षा दिन परीक्षा हलमा सहभागी भएको खुलेको छ।

गत १८ चैतमा एमबीबीएस परीक्षा दिनका लागि अरूको प्रवेशपत्रमा फोटो टाँसेर सहभागी भएका चार जना नक्कली परीक्षार्थीसहित पाँच जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये एक जना भारतीय नागरिकसमेत छन्।

महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी परीक्षामा सहभागी भएको पाइएको बताए। यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

‘उनीहरू क्याटेगोरीअनुसार डिल गरेर अरूको परीक्षा दिन गएका रहेछन्, उनीहरूले ५० हजारदेखि १ लाखसम्म अग्रिम रकम लिएको पाइएको छ, पूरा परीक्षा सकिंएर नतिजा आउँदा ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको देखिन्छ,’ महाशाखाका प्रमुख एसएसपी कुँवरले भने।

उनका अनुसार फुल स्कलरसिपमा नाम निकाल्दा १८ लाखसम्म लिनेगरी डिल भएको पाइएको छ । यसैगरी, पेइङमा नाम निस्केको अवस्थामा सोहीअनुसार रकम लिने तथा पास मात्रै भएमासमेत रकम तोकेरै डिल गर्ने गरेको पाइएको छ।

‘कसले कति दिन सक्छ, कोसँग कति लिन सकिन्छ सोहीअनुसार डिल हुने गरेको रहेछ, जसले जति दिन सक्छ त्यति लिने गरेको अनुसन्धानले देखाएको छ,’ कुँवरले अघि भने।

यसरी नक्कली परीक्षार्थी खोज्नका लागि भने सक्कली परीक्षार्थीहरूले आफन्त, नातागोता तथा जेहेनदार विद्यार्थीहरूको साहरा लिने गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेमा ललितपुरको किस्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत अमर पण्डित, अनिकेत चौधरी र तेस्रो वर्षमा अध्ययनरत राम आशिष यादव छन् । यसैगरी, भारतीय नागरिक अहमद अन्सारी र परीक्षार्थी सन्नीकुमार साहसमेत पक्राउ परेको प्रहरीले भनेको छ । आरोपीहरूले परीक्षार्थीको नागरिकतासमेत बोकेर परीक्षामा सहभागी भएका थिए।

प्रहरीले उनीहरूलाई सीसीआरसी कलेज, एम्बिसन कलेज र कोटेश्वरस्थित ग्रामर स्कुलबाट पक्राउ गरिएको जनाएको छ । एमबीबीएसको इन्ट्रान्स परीक्षामा लामो समयदेखि नै सेटिङका आधारमा करोडौंको चलखेल हुने गुनासा र उजुरी पर्ने गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .