छापा खबर


मेलम्ची आउँदा पनि काठमाडौंका ११ लाख मानिसलाई पुग्दैन पानी

मेलम्ची आउँदा पनि काठमाडौंका ११ लाख मानिसलाई पुग्दैन पानी

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार १:४९,

सरकारले आगामी असारभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने गरी कामलाई तीव्रता दिएको छ ।

खानेपानी मन्त्रालयले सोहीअनुरूप गत असोजमा चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरी ठेक्का लिएर काम अघि बढाएको छ । ११ महिना ठप्प रहेको आयोजनाको काम अघि बढेसँगै पानी ल्याउने नयाँ डेडलाइनसमेत घोषणा गरिएको हो ।

आयोजना थालनी भएको आउँदो १२ पुसमा १८ वर्ष पूरा भई १९ वर्ष लाग्दै छ । बितेका १८ वर्षमा मेलम्ची आयाजनको कुल ९० प्रतिशत मात्र काम भएको छ ।

मेलम्ची विकास समितिअनुसार मेलम्चीको पानी काठमाडौं झार्ने काम आउने असारमा सम्पन्न हुनेछ । तर, सबै संरचना बनाएर आयोजना सम्पन्न गर्न १४ महिना लाग्नेछ । आयोजनाका अनुसार २०७७ पुसमा सबै काम सम्पन्न हुनेछ ।

अहिले काठमाडौं उपत्यकाको प्रक्षेपित चलायमान जनसंख्या ४२ लाख रहेको छ । त्यो जनसंख्यालाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दैनिक १४ करोड लिटर पानी उपलब्ध गराइरहेको छ।

सहरी क्षेत्रमा दैनिक प्रतिव्यक्ति एक सय लिटर पानी आवश्यक पर्ने प्रचलित मापदण्ड छ । त्यसअनुसार हाल काठमाडौं उपत्यकाको खानेपानी माग दैनिक ४२ करोड लिटर हो ।

मेलम्चीको पानी आउँदा (पहिलो चरणअन्तर्गत) दैनिक १७ करोड लिटर थपिनेछ । यसअनुसार काठमाडौंमा उपलब्ध पानी ३१ करोड लिटर पुग्नेछ ।

यसले ३१ लाख मानिसलाई मात्र खानेपानी पुग्ने भए पनि अझै ११ लाख मानिसलाई अभाव हुने खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेत र तीर्थराज बस्नेतले लेखेका छन्।

मेलम्ची आएपछि जम्मा हुने पानी काठमाडौं उपत्यकाको कुल जनसंख्यालाई समानुपातिक वितरण गर्दा दैनिक प्रतिव्यक्ति ७३ दशमलव ८० लिटर मात्र पुग्छ । जुन तोकिएको मापदण्डभन्दा २६ दशमलव २० लिटर न्यून हो । हाल उपत्यकामा दैनिक प्रतिव्यक्ति औसत ३३ लिटर खानेपानी वितरण भइरहेको छ।

पहिलो चरणमा काठमाडौं झर्ने दैनिक १७ करोड लिटर पानी चक्रपथभित्र वितरण गरिने मेलम्ची खानेपानी उपआयोजना २ का प्रमुख भोजविक्रम थापाले बताए ।

बढ्दो सहरीकरणका साथै जनसंख्या वृिद्धका कारणले पानीको माग बढ्दै गए पनि पर्याप्त स्रोतको अभावका कारण पानी उत्पादन क्षमता बढाउन नसकिएको केयुकेएलले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad