छापा खबर


बैठकमा नेपालले यसरी सम्झाए आफ्नो असहमति

बैठकमा नेपालले यसरी सम्झाए आफ्नो असहमति

नेपालखबर
पुस ४, २०७६ शुक्रबार ३:१९,

नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमति कायमै राखेका छन्।

जारी स्थायी समिति बैठकमा पार्टी सचिवालयले गरेका निर्णय अनुमोदन प्रस्ताव आएपछि नेता नेपालले असहमति कायमै रहेको प्रस्ट पारेका हुन्।

उनले पार्टी नेतृत्वले आफूलाई किनारा लगाउन खोजेको भन्दै आपत्ति जनाएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

कम्युनिस्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो नभएको र सचिवालयले आफ्नो असहमतिविपरीत निर्णय गरेको नेता नेपालको भनाइ थियो।

गत भदौ ३ मा उनले सचिवालयले गरेका निर्णयमा ७ बुँदे फरक मत राखेका थिए।

‘सचिवालयका कतिपय प्रस्तावमा मैले छुट्टै धारणा राख्दै आएकै छु। नोट अफ डिसेन्ट छँदै छ। अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा त्यसलाई अनुमोदन गर्नुपर्ने भनिएको छ। मेरो असहमतिसहित स्थायी समिति बैठकमा छलफल गरौं। छलफल नै नगरी अनुमोदन गरेमा मेरो सहमति हुँदैन,’ नेपाललाई उधृत गर्दै नेता विष्णुपुकार श्रेष्ठले भने।

विधानविपरीत दोहोरो जिम्मेवारी अन्त्य गर्नुपर्ने, कसैलाई खातैखात, कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्नु न्यायोचित हँुदैन भनेर आफूले पटकपटक उठाएकाले त्यसमा असहमति कायमै रहेको नेपालको भनाइ थियो।

नेपालले भने, ‘मेरो प्रश्न छ– विधानको व्यवस्था लागू गर्ने कि नगर्ने? मैले आरम्भदेखि नै यस्तो धारणा राख्दै आएको छु। सचिवालयले गरेका निर्णयमा मैले राखेको असहमति कायमै छ।’

उनले प्रदेश इन्चार्ज बनाउँदा नै गण्डकी प्रदेश र प्रदेश ५ का इन्चार्जलाई मुख्यमन्त्री र पार्टी इन्चार्जको जिम्मेवारी दिएकोमा फरक मत राखेका थिए। नेकपाभित्र नेता नेपाललाई अहिले ‘प्रतिपक्षी’ नेताका रूपमा हेरिन्छ।

सचिवालयको निर्णय अनुमोदनमा स्थायी समिति सदस्य वेदुराम भुसालले पनि फरक मत रहने बताएका थिए। भुसाल नेता नेपाल निकट मानिन्छन्।

नेपालले पार्टी कमिटीदेखि पार्टी निकट सामाजिक संघसंस्थामा समेत समानान्तर कमिटी बनाउने र आफूलाई किनरा लगाउने नीति लिएको भन्दै नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका थिए।

उनले भने, ‘जिल्लाजिल्लामा पार्टी पनि समानान्तर बनाउँदै जाने काम भएको छ। सामाजिक संघसंस्था पनि प्रायः समानान्तर बनाउँदै लगिएको छ। समानान्तर कमिटीमार्फत मलाई बहिष्कार गरिँदै छ। यही हो पार्टी विधि? यही हो परिपाटी?’

आलोचना गर्नेलाई पूर्वाग्रही ढंगले निषेध गर्ने परिपाटी चलेको भन्दै उनले त्यसलाई सुधार गर्न आग्रह गरे। ‘हामी आलोचना गर्नेलाई निषेध गरेर जान थालेका छौं। आलोचनाले पार्टी सप्रिन्छ’, नेपालले भने। सरकारले प्रभावकारी काम गरेको कुरा पार्टीलाई भन्दा जनतालाई गएर बुझाउन उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad