काण्डैकाण्ड मच्चाएर चर्चामा आउने गरको नेकपाका कैलाली जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य रतन थापाको अर्काे काण्ड बाहिरिएको छ।
थापाले तत्कालीन सांसद मोहनसिंह राठौराको संसद् विकास समितिअन्तर्गत सडक बनाउँदा ३ वर्षअघि १० प्रतिशत लिएको खुलासा भएको छ।
लम्की चुँहा नगरपालिका १ खानेपानी ट्यांकीबाट राजकाडा पर्यटकीय क्षेत्र जाने सडकमा काम गरेबापत १० प्रतिशत अर्थात् १० लाख सांसद थापाले हजर गरेको ठेकेदार नारायण पराजुलीलले बताए।
उनका अनुसार थापा अध्यक्ष भएको उपभोक्ता समिति र उनकै पहलमा बनेको र ध्वजबहादुर शाही अध्यक्ष रहेको अर्काे समितिबाट गरेर १ करोडको काम भएको थियो। दुईवटै समितिको कामबाट सांसद थापाले तत्कालीन जिल्ला विकास समितिका कर्मचारीलाई पनि दिनुपर्छ है भन्दै पैसा लगे तर कर्मचारी मिलाएनन्।
कर्मचारी नमिलाउँदा अनेक बहाना गरेर ४७ लाख भुक्तानी भएन। ठेकेदारले भने, ‘१ करोडको काम गर्दा ५७ लाख फसेपछि म सडकमा आएको छु। रकम माग्दा कर्मचारीलाई दिएँ भन्छन्, कर्मचारी पाएनौं भन्छन्। कर्मचारीले भुक्तानीमा गाह्रो पार्छन् भनेर रकम लगे। कम्युनिस्ट नेताले त्यसरी आफैं खालान् भन्ने लागेको थिएन।’ उनले थपे, ‘पैसा लगे, भुक्तानी नहुँदा मलाई पनि डुबाए।’ यो खबर आज बुधबार प्रकाशित जनआस्था साप्ताहिकले लेखेको छ।
नेकपाका अध्यक्ष थापाको यसअघि डार्लिङ, तिमीसित सबै भइसकेको छ नि भन्ने अडियो बाहिर आएको थियो। परस्त्रीसँग जोडिने थापाले दुई विवाह गरेका छन्। जेठी श्रीमती र दुई छोरालाई अंशसमेत नदिई अलपत्र पारेका छन् भने कान्छी टीका थापालाई लम्की चुँहा नगरपालिकाको उपमेयर बनाएका छन्।
केही महिनाअघि थापा र प्रेमिकाको अडियो र अहिले ठेकेदारको खुलासाको अडियो कैलालीका नेकपा कार्यकर्ताको हातहातमा छ। विवादमा आइरहने थापाको राजीनामा मागिएला? नेता–कार्यकर्ताको प्रश्न छ।

प्रतिक्रिया