छापा खबर


यसरी हात धोए सर्दैन कोरोना पनि तर नधोए लाग्छन् यी रोग

यसरी हात धोए सर्दैन कोरोना पनि तर नधोए लाग्छन् यी रोग

नेपालखबर
फागुन १०, २०७६ शनिबार ४:२८,

नियमित रूपमा प्रक्रिया पुर्‍याएर साबुनपानीले राम्ररी हात धुँदा कोरोना, मौसमी रुघाखोकी, श्वासप्रश्वासबाट हुने संक्रमण, टाइफाइड, झाडापखालालगायत थुप्रै संक्रमणबाट बच्न सकिन्छ ।

विशेषज्ञका अनुसार संक्रमण फैलन नदिने हो भने हात धुनु सबैभन्दा बढी प्रभावकारी तरिका हो। अन्य व्यक्तिलाई छुँदा केही खास रोग फैलन सक्ने भएकाले हात धुनु अत्यावश्यक मानिन्छ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार मानिसले छोएको ठाउँमा दुई घण्टाभन्दा बढी समयसम्म कीटाणु जीवित रहन सक्छ।

यति मात्र हैन, जतिबेला मानिसले दूषित वस्तु वा सतहलाई छुन्छ, उसको हातमा फोहोरमा रहेका कीटाणु टाँसिन्छ। त्यही हात उसले अनुहार, आँखा, मुखमा लाँदा र नाक आदि कोट्याउँदा र छुँदा संक्रमणको मारमा पर्छ।

‘नियमित रूपमा साबुनपानीले हात धुँदा मौसमी रुघाखोकीलगायत श्वासप्रश्वासबाट सर्ने रोगको जोखिम ५० प्रतिशतसम्म कम हुन सक्छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन्।

उनका अनुसार थुप्रै संक्रामक रोग हातको सरसफाइमा हुने कमीले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन्छ। आजकाल जीवाणु र विषाणुजन्य संक्रमण बढी हुने भएकोले पैसा र मोबाइल छोएपछि समेत हात धुन उनी सल्लाह दिन्छन्।

नोवल कोरोना भाइरस, मौसमी रुघाखोकी, झाडा पखाला, हैजा, ग्यास्ट्रो इन्ट्राइटिस, टाइफाइड, क्षयरोग, श्वासप्रश्वासबाट सर्ने रोग, हेपाटाइटिस ‘ए’ र ‘ई’, जुका, चुर्ना, निमोनिया, छालारआँखासम्बन्धी रोगलगायत थुप्रै रोगको संक्रमणबाट बच्न पनि नियमित हात धुनुपर्ने डा. पाण्डे जोड दिन्छन्।

सीडीसीका अनुसार हात धुनु आफैंले लिन सकिने एक प्रकारको खोपजस्तै हो। यसले झाडापखाला र श्वाससम्बन्धी संक्रमण फैलिनबाट जोगाएर स्वस्थ रहन सघाउँछ। केही खास गतिविधिपछि नियमित रूपमा सही तरिकाले हात धुने र कीटाणुलाई हटाउने एउटा सबैभन्दा राम्रो विधि भएको उसले जनाएको छ। नियमति हात धुने बानीले बिरामी हुनबाट जोगाउनुका साथै अन्य व्यक्तिमा समेत कीटाणुकोप्रसारलाई रोक्छ।

एउटा अत्यन्त सामान्य कुरा मानिने साबुनपानीले हात धुने प्रक्रिया कडाभन्दा कडा प्रकारको संक्रामक रोगसँग लड्ने सशक्त, विज्ञान प्रमाणित हतियार हो । तर विश्वभरि गरिएका विभिन्न अध्ययनले के देखाएको छ भने, हामीमध्ये धेरैजसोले उपयुक्त रूपमा आवश्यक मात्रामा हात सफा नै गर्दैनौं। सफा गरे पनि यसलाई प्रभावकारी रूपमा गरिएको हुँदैन।

साबुनपानीले राम्ररी धोएर वा ह्यान्ड सेनिटाइजर आदिका माध्यमले हातको स्वच्छतालाई कायम राख्दा थुप्रै प्रकारका संक्रमणजन्य रोगको रोगथाम गर्न सकिने कुरा हालै विज्ञानले प्रमाणित गरिसकेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइक्रोबायोलजी विभागका डा. पीयूष राजभण्डारी बताउँछन्।

मुलुकको आम जनसंख्यामा हात धुने प्रक्रियाबारे विस्तृत वैज्ञानिक अध्ययन छैन। यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चरद्वारा गरिएको एउटा अध्ययन अनुसार, खानुभन्दा अघि हात धुनेले पनि ९७ प्रतिशत समय उपयुक्त रूपमा हात धुने गरेको पाइँदैन। उनीहरू राम्ररी हात धुनु र २० सेकेन्डसम्म साबुन दल्नुमा असफल हुन्छन्।

यसरी कम समयमा हात धुँदा हातमा भएका सबै रोगका कीटाणुको नाश हुँदैन। अझ मिसिगन स्टेट युनिभर्सिटीद्वारा करिब सात वर्षअघि गरिएको एउटा अध्ययनमा त के पाइएको थियो भने, मात्र ५ प्रतिशत व्यक्तिले मात्र सही प्रकारले हात धुने गर्छन्।

हात धुने उचित तरिका
राम्ररी हात धुनलाई न्यूनतम २० सेकेन्ड समय खर्चिनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाउँदै आएको छ। बच्चालार्ई राम्ररी हात धुन सिकाएर एउटा राम्रो बानीको विकास गर्न सकिन्छ।

उचित प्रकारले हात धुनका लागि पानीमा हात भिजाएर पर्याप्त मात्रामा हातमा साबुन लगाएर दुवै हातलाई राम्ररी मोल्नुपर्छ। दुवै हातको औंलालार्ई आपसमा समातेर औंलाको पछाडिको खण्ड अर्को हातमा दल्नुपर्छ। एउटा हातको औंलालाई अर्को हातले समातेर घुमाउँदै दल्नुपर्छ। र, फेरि यस्तै विपरीत क्रममा समेत गर्नुपर्छ।

पानीले राम्ररी हात धुनुपर्छ। धोएको हात सफा तौलियाले राम्ररी पुछ्नुपर्छ। यस्तो प्रक्रियाले हात स्वस्थ र सुरक्षित हुन्छ। यो जानकारीमूलक सामग्री आजको कान्तिपुरमा अतुल मिश्रले प्रस्तुत गरेका छन्।

राम्ररी हात धोएर त्यसलाई आफूले लगाएको लुगाको कुना, खल्तीमा राखिएको रुमालले वा सारीको आँचलले पुछ्नु हुँदैन। यसमा पहिल्यैदेखि कीटाणु रहेको हुन्छ जुन चिसो हातमा टाँसिन्छन्। चिकित्सकहरूका अनुसार, सफा ठाउँमा राम्ररी घाममा सुकाइएको तौलियाले नै हात पुछ्नुपर्छ। तौलियालार्ई कीटाणुरहित बनाउन उम्लिरहेको पानीमा धुनुपर्छ।

हातमा ३२ सय ब्याक्टेरिया
कोलेराडो विश्वविद्यालयमा गरिएको एउटा अनुसन्धान अनुसार औसत रूपमा हाम्रो हातमा १ सय ५० विभिन्न प्रजातिका ३२ सय ब्याक्टेरिया हुन्छन्। हातलाई राम्ररी सफा नगरिएको स्थितिमा हात मिलाउँदा, अर्कालाई छुँदा यो ब्याक्टेरिया अन्य व्यक्तिमा सर्छ। हातमा मानव मलमा पाइने रोगाणुहरूसमेत पाइन्छन्।

हात धुन साबुन महत्त्वपूर्ण
हातलाई साबुनपानीले धुँदा मात्र पानीले हात धुनुको दाँजोमा धेरै बढी मात्रामा रोग उत्पन्न गर्ने जीवलाई हटाउँछ। साबुनले छालामा जलन उत्पन्न हुने व्यक्तिले यो बुझ्नु आवश्यक हुन्छ कि साबुनमा फरक ‘पीएच’ अर्थात् तटस्थ, अलिकति क्षारीय वा अलिकति अम्लीयपन हुन सक्छ।

यति मात्र नभई साबुनमा भएको सुगन्धले पनि जलन उत्पन्न गर्न सक्ने औंल्याउँदै डा. पाण्डेले अप्ठ्यारो हुने व्यक्तिले साबुनलाई परिवर्तन गरेर जलनको समस्याबाट मुक्ति पाउन सक्ने बताउँछन्। यति मात्र नभई संक्रमण नहुने हिसाबले तरल साबुन ठोस साबुनभन्दा राम्रो मानिन्छ।

जर्नल अफ एन्टिमाइक्रोविय थेरापीमा प्रकाशित एक अध्ययनअनुसार हात धुनका लागि साधारण साबुनसमेत एन्टिब्याक्टेरियल साबुन जत्तिकै प्रभावकारी हुन्छ।

अनुसन्धान अनुसार, वास्तविक स्थितिमा साधारण साबुन र एन्टिब्याक्टेरियल साबुनको प्रभावमा कुनै विशेष अन्तर हुँदैन। संक्रमण मुक्त गर्ने एन्टिब्याक्टेरियललगायत साबुनको दाँजोमा सामान्य साबुनले भने विधि पुर्‍याएर हात धुन पर्ने डा। राजभण्डारी औंल्याउँछन्।

स्वास्थ्यकर्मीबाट पनि संक्रमण खतरा
डब्लूएचओका अनुसार स्वास्थ्य निकायमा स्वास्थ्यकर्मीले हातलाई पर्याप्त र उचित रूपमा नधुँदा बिरामीलाई अस्पतालजन्य संक्रमण हुने सम्भावनामा वृद्घि हुन्छ ।

अस्पतालमा भर्ना भएका एक सय बिरामीमध्ये ७ जना उच्च आय भएका राष्ट्रका र १० जना मध्यम र निम्न आय भएका राष्ट्रका बिरामीलाई स्वास्थ्य रेखदेखसँग सम्बन्धित संक्रमण हुने गर्छ । इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा भएका गम्भीर रूपले बिरामी र कमजोर रोगीको हकमा भने यो एक सय जनामा ३० जनासम्म संक्रमित हुने गरेको देखिएको छ ।

बर्सेनि विश्वभरिमा करोडौं बिरामी स्वास्थ्य सेवासँग जोडिएको संक्रमणले प्रभावित हुन्छन्। जसमध्ये एउटा उच्च अनुपात रोगाणुका कारण हुन्छ। जो एन्टिबायोटिकप्रति प्रतिरोधी हुन्छन्। स्वास्थ्य स्याहारसँग जोडिएका संक्रमण त्यतिखेर हुन्छन्, जब स्वास्थ्य सेवा उपलब्ध गराउने व्यक्तिले छुँदा बिरामीमा रोगाणु सर्छ।

स्वास्थ्यकर्मीहरूका लागि हातको स्वच्छताका पाँच क्षण रहेको डब्लूएचओले औंल्याएको छ।

यसअन्तर्गत बिरामीलाई छुनुभन्दा अघि, स्वच्छता र कुहिने प्रक्रिया रोक्नुभन्दा अघि शरीरको तरल पदार्थको सम्पर्कपछि, एउटा बिरामीलाई छोएपछि र रोगीको परिवेश (सराउन्डिङ) लाई छोएपछि समेत संक्रमणमुक्त हुने गरी हात धुनुपर्छ। प्रत्यक्ष रोगीको सम्पर्क मात्र नभई स्वास्थ्यकर्मीलाई रोगीको सम्पर्कले गर्दा प्रदूषित सतहलाई छोएपछि समेत हातमा जीवाणु आउन सक्छन्।

जर्नल इन्फेक्सन कन्ट्रोल एन्ड हस्पिटल इपिडिमियोलजीमा प्रकाशित सन् २०१० को एउटा अध्ययनमा के देखियो भने, मात्र ४० प्रतिशत डाक्टर र अन्य स्वास्थ्यकर्मीहरूले अस्पतालमा हात स्वच्छताको नियमलाई पालन गर्छन्।

स्वास्थ्यकर्मीले कुनै न कुनै चरणमा हात उपयुक्त तरिकाले संक्रमणमुक्त हुने गरी धुनेबारे तालिम लिएको औंल्याउँदै डा. राजभण्डारी थप्छन्, ‘हात धुने प्रक्रियालाई कनिष्ठ स्वास्थ्यकर्मी, अप्रेसन गर्ने बेलामा शल्य चिकित्सकलगायतले बढी पालना गर्छन्।’

उनका अनुसार चिकित्सकलगायतका स्वास्थ्यकर्मीले नियमित रूपमा उपयुक्त रूपले हात धुने नियमको पालना गर्दा अस्पतालजन्य संक्रमणमा कमी आउँछ ।

साबुनको भूमिका
नुहाउँदा, कपाडा धुँदा उपयोग गरिने रासायनिक पदार्थ नै साबुन हो। यसलाई बोसो, अम्लको पानीमा घुल्ने लवण भने पनि हुन्छ। यसमा मुख्य रूपमा सर्फेक्टेन्ट अर्थात् फोहोर हटाउने रसायन, डिटर्जेन्ट, ग्लिसरिन, सुगन्धीलगायत मात्रा हुन्छ। यसको प्रचलन पछिल्लो ५-६ दशकयता बढेको छ। यसअघि धेरैजसो माटो, खरानी, रिठ्ठा आदिलाई हात वा कपाललगायत सफा गर्नका लागि उपयोग गरिन्थ्यो।

हाम्रो हात, शरीरमा भएका थुप्रै प्रकारको सूक्ष्म जीव, लवण, धुलोका कण, पसिना, तैलीय पदार्थ, मृत कोषिका आदिमा साबुन लगाउँदा पानीसँगै पखालिन्छ। बजारमा मुख्य रूपमा हात धुने र नुहाउने गरी दुई प्रकारका साबुन पाइने गरिएको रसायनशास्त्री विनय झा बताउँछन्।

साबुनको गुणस्तर त्यसमा भएको कुल बोसो (टोटल फ्याटी म्याटर अर्थात् टीएफएम) मा निर्भर गर्छ। नुहाउने साबुनमा ६० देखि ८० प्रतिशतसम्म टीएफएम प्रयोग गरिन्छ । यस्तै नुहाउने साबुनमा सुगन्धीलगायतका अन्य थुप्रै पदार्थसमेत थपिने गरिन्छ।

साबुन नभए सेनिटाइजर
हातमा भएको कीटाणुको संख्यामा कमी ल्याउन साबुनपानीले हात धुनु सबैभन्दा उपयुक्त तरिका हो। तर यदि साबुनपानी छैन भने अल्कोहलमा आधारित ह्यान्ड सेनिटाइजर उपयोग गर्न सकिन्छ।

सीडीसीका अनुसार, यस्ता सेनिटाइजरमा कम्तीमा ६० प्रतिशत अल्कोहल हुनुपर्छ। अल्कोहलमा आधारित सेनिटाइजरले हातमा भएको कीटाणुलार्ई छिटो कम गर्न मद्दत गर्छ। तर यस्ता सेनिटाइजरले भने सबै प्रकारका कीटाणुलाई हटाउन सक्दैन। सीडीसीका अनुसार, जतिबेला हातलाई हेर्दा नै फोहोर देखिन्छ त्यतिबेला ह्यान्ड सेनिटाइजर प्रभावकारी हुँदैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad