छापा खबर


मृत्युदण्डबाट उम्केर नेपाल आएका उमेश यसरी बिताउँदैछन् अनौठा दिन

मृत्युदण्डबाट उम्केर नेपाल आएका उमेश यसरी बिताउँदैछन् अनौठा दिन

नेपालखबर
फागुन ११, २०७६ आइतबार २:३,

उनी करिब डेढ दशकपछि घर फर्केका हुन् । एक महिना पुग्न लाग्यो तर उमेश यादवले अझै खलबलिएको जिन्दगीको लय मिलाउन सकेका छैनन्।

२००६ को जुनमा वैदेशिक रोजगारीका लागि साउदी पुगेका उनले एक पाकिस्तानी नागरिकको हत्यामा मृत्युदण्डको सजाय पाएका थिए।

आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेको समाचारअनुसार १३ वर्षभन्दा बढी समय जेल बसे । मृतक परिवारले माफीनामा दिएपछि उनले कैद माफी पाए । गत माघ ८ मा स्वदेश फर्के । काठमाडौं ओर्लेको पाँच दिनपछि जनकपुर पुगेका उनले त्यसयता प्रत्येक दिन अनौठोसँग बिताइरहेका छन्।

उमेशलाई परिवारसँगको साथ छुटेका दिन भेटिएजस्तो भइरहेको छ। नहोस् पनि किन, २४ वर्षको उमेरमा साउदी हान्निँदा ठूलो छोरा कमलेश तीन वर्ष र कान्छो जितेष १७ दिनका मात्रै थिए ।

१३ माघमा उनलाई लिन जनकपुरस्थित विमानस्थलमा पत्नी, छोराहरू र आफन्त माला लिएर आएका थिए । बुबाको उपस्थितिबिना १५ वर्ष बिताएका जेठा छोरा कमलेशले कान्तिपुरसँगको कुराकानीमा धेरैपछि बुबालाई देख्दा आफ्नो आँखा आँसुले भरिएको सुनाए । उनले भने, ‘मलाई त सानैमा बुबालाई देखेको धमिलो सम्झना थियो तर भाइले त बुझ्ने भएर पहिलोपटक बुबा देखेको थियो।’

धनुषाको माचीझिटकैयास्थित घरमा कुरिरहेका वृद्ध बाआमासँग केही समय बिताएर अहिले उमेश धनुषाकै महेन्द्रनगरस्थित सालोको घरमा ओत लागिरहेका छन्। उनले फेरिएको गाउँ, फेरिएको समय र हुर्किएका छोराहरूको कुरा सुनाए अनि भने, ‘सबै कुरा नयाँ–नयाँ लागिरहेछ।’

नलागोस् पनि किन कामदारका रूपमा साउदी पुगेको एकाध महिनामै उनी हत्याको आरोपमा जेल परेका थिए । जेलका कोठामा करिब १४ वर्ष एक्लै–एक्लै उदासीमा बिताएका थिए।

माघ ८ मा काठमाडौं ओर्लेको भोलिपल्ट भेट्दा उमेशको मनस्थिति एकतमासको थियो । कतिखेर घर पुगौंला र बाआमा, पत्नी र छोराहरू भेट्न पाउँला भनेर उनी हतारिएका देखिन्थे । उमेशको उद्धारको काम गरिरहेका सरोजले सुनाए, ‘कहिल्यै नेपाल टेक्नै नपाई मरिने भइयो भन्ठानेका थिए उनले । तर बाँचेर आए ।’

घर पुगेपछि उमेशलाई थाहा भयो, यतिका वर्षमा कति धेरै बदलिएछ । त्यसो त काठमाडौंमै पनि उनले फेरिएको काठमाडौंका बारे बताएका थिए । १३ वर्षको जेल बसाइले उमेशको भाषा र लवज नै बदलिएको थियो ।

उनले भने, ‘नमक पनि नभएको दालजस्तो खोले खाँदा खाँदा मेरो जिब्रो नै फेरिएको थियो ।’ स्वदेश फर्केपछि त उनले पुरानै स्वाद चाख्न पाएका छन् तर घर फर्किएपछि सुरु भएको पारिवारिक दायित्व कसरी पूरा गर्ने भन्ने प्रश्नले उनलाई घेरिसकेको छ।

उनी जेलमै रहेका बेला दाजुभाइ छुट्टिए । उनको भागमा ४ कट्ठा खेत र ५ धुर घडेरी परेको थियो तर साउदी पुगेलगत्तै जेल परेका कारण उनले साहुबाट लिएको ऋण तिर्न सक्ने कुरै भएन । परिवारका सदस्यले उनको भागमा परेका अंश बेचेर ऋण तिरिदिए । यतिबेला उनीसँग बाँचेर आएकोमा सबैको माया र स्नेह त छ तर कसरी कमाइखाने भन्ने योजना अनिश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad