छापा खबर


ठगी आरोपबारे अभिनेता अनमोलले दिए यस्तो स्पष्टीकरण

ठगी आरोपबारे अभिनेता अनमोलले दिए यस्तो स्पष्टीकरण

नेपालखबर
फागुन २६, २०७६ सोमबार ३:२२,

अभिनेता अनमोल केसीले आफूलाई ठगी आरोप लगाएको समाचारले स्तब्ध भएको भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन्।

आफू अहिले चलचित्र ए मेरो हजुर ४ को छायांकनको क्रममा काठमाडौं बाहिर भएको र आफूमाथि ५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको समाचारले दुःखी भएको बताएका छन्।

यो विषयमा पत्रकार भेटघाट गरेरै स्पष्ट पर्ने चाहना हुँदा पनि सुटिङका कारण काठमाडौं बाहिर रहेकाले विज्ञप्ति जारी गर्नुपरेको यी अभिनेताले बताएका छन्।

उनले आफ्नो विज्ञप्तिमा लेखेका छन्, ‘करिब ४ महिना पहिला धुपौरो नामक सिनेमाको साइन गरेको थिएँ। फिल्म साइन गरेबापत फिल्मका निर्माताले साइनिङ अमाउन्टका रूपमा ५ लाख रुपैयाँ दिनु भएको थियो। यहाँहरू सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रिप्टलाई प्राथमिकता दिने गरेको छु।’

अनमोलले अगाडि लेखेका छन्, ‘धुपौरो साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ। स्क्रिप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रिप्टमा थप काम गर्न आग्रह गरें। स्क्रिप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र? तर, उहाँहरूले त्यही स्क्रिप्टमा सुटिङमा जान मलाई कर गर्नु भयो, जुन मैले मानिनँ।’

यही कुरामा मत बाझिएको र यही स्क्रिप्टमा फिल्म बनाउने हो भने पेस्कीस्वरूपको ५लाख रुपैयाँ फिर्ता लिनुस् भन्दा निर्माताहरू नमानेको अनमोलले विज्ञप्तिमा जनाएका छन् ,‘अहिले अचानक उल्टो ममाथि ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु। अहिले पनि उहाँहरूले मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नुहुनेछ।’

अनमोलले विज्ञप्तिमा लेखेका छन्, ‘मैले यसो भनिरहँदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रिप्ट नपढी किन फिल्म साइन गरेको त? मैले माथि नै भनिसकें कि नेपाली फिल्म इन्डस्टी सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन्।

मैले फिल्मको स्क्रिप्टमा थप होमवर्क गरौं भन्दा उहाँहरूले इगोका रूपमा लिनुभयो र म सुटिङका सिलसिलामा बाहिर भएको मौका छोपी मेरो चरित्र हत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुःखी भएको कुरा अवगत गराउँछु। साथै उहाँहरूसँग एडभान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउँछु।’ यो खबर आजको राजधानी दैनिकले छापेको छ।

अनमोल केसीले फिल्म खेल्न मन्जुर भएर पेस्की लिए पनि फिल्म नखेलेको भन्दै चलचित्र धुपौरेका निर्माता जयन श्रेष्ठले यी अभिनेताविरुद्ध प्रहरीले यस अघि नै ठगीको उजुरी दिएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad