छापा खबर


नेपालका पहिलो कोरोना संक्रमित भन्छन्ः घरमै यसरी उपचार गरेर स्वस्थ भएँ

नेपालका पहिलो कोरोना संक्रमित भन्छन्ः घरमै यसरी उपचार गरेर स्वस्थ भएँ

नेपालखबर
फागुन २७, २०७६ मंगलबार १:८,

नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्।

अरू बिरामी अस्पतालबाट स्वस्थ भएर घर फर्किन्छन्, उनी भने घरमै स्वस्थ भएर अस्पताल फर्किएका छन्।

स्वास्थ्य मन्त्रालयले बिरामीको परिचय गोप्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा फर्किसकेको समेत जानकारी दिएपछि बिरामीलाई नै भेटेर कुरा गर्दा उनले भने, ‘हो, परीक्षणमा मलाई पोजेटिभ देखाइएको थियो, तर अस्पतालमा मैले राम्रो उपचार पाइनँ। आफ्नै पहलमा उपचार गरें, अहिले परीक्षण गर्दा कोरोना भाइरस नभएको रिपोर्ट आएको छ।’ यो खबर आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छन्।

उनका अनुसार चीनबाट काठमाडौं हुँदै नेपालगन्जसम्मको यात्रा पूरा गरी घर पुग्दा ज्वरो आयो। तत्काल नेपालगन्जबाट पुनः उनी काठमाडौं फर्के र सरकारको एक मात्र सरुवा रोग अस्पताल टेकु पुगे। समान्य बिरामीसरह दुई घण्टा लाइन बसेर ल्याब परीक्षण गराए।

‘ल्याब परीक्षणको रिपोर्ट आउन दुई दिनदेखि तीन दिन लाग्ने भएकाले उनलाई टेकु अस्पतालको विशेष कक्षमै भर्ना गरियो। ‘तर म अस्पतालको वातावरण देखेर निराश भएँ र अस्पताल छाडें। अस्पताल छाडेको दोस्रो दिन मेरो रिपोर्ट आयो र अस्पतालले फोन गरेर बोलायो। अस्पताल पुग्दा कोरोना भाइरस भएको रिपोर्ट आएछ, म आत्तिएँ।’

अस्पतालले अब एक्लै छुट्टै कोठामा बसेर उपचार गराउनुपर्ने जानकारी गरायो। ‘मेरा लागि अस्पतालमा बस्नु जेल जीवन बिताएजत्तिकै कठिन थियो,’ उनले सुनाए।

उनले अस्पताल छाडे। अस्पताल प्रशासनले पनि लाचारी देखायो। उनले डाक्टरहरू पनि रोगसँग डराएको पाए। र, आफ्नै जोखिममा आफैं उपचार गर्ने निर्णय सुनाउँदै उनी घर फर्के।

‘माघ २३ गते अस्पतालबाट डिस्चार्ज भएर घरमै बसी आफ्नो स्वास्थ्यको ख्याल आफैं गरें,’ उनले बताए।

एक सातापछि उनी फेरि परीक्षणका लागि अस्पताल पुगे। उनले भने, ‘मेरो र्‍यालको पुनः परीक्षण गरियो। रिपोर्ट नेगेटिभ आयो। अस्पतालले अझै क्वारेन्टाइनमा बस्नुपर्छ भनेको थियो। तर मैले मानिनँ।’

कोरोना भाइरसको सुरुकै अवस्थामा पहिचान भई उपचार गरे घरमै पनि निको पार्न सकिने उनको अनुभव छ। उनले घरमा विशेषतः तातो सुप, तातोपानी, जाउलोजस्ता खानेकुरालाई नियममितता दिए। त्यसैका कारण आफू निको भएको उनको भनाइ छ। ‘पानीलाई नै औषधि मानेर बाँचे,’ उनी भन्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad