छापा खबर


उत्तरी छिमेकी सक्रिय हुँदा नेकपामा युद्धविराम!

 उत्तरी छिमेकी सक्रिय हुँदा नेकपामा युद्धविराम!

नेपालखबर
बैशाख २०, २०७७ शनिबार २३:५१,

सरकार र पार्टी नेतृत्वमा केपी ओलीलाई अडाउने र हटाउने ‘वारपार’को संघर्षमा परेको नेकपाले समझदारीको बाटो लिएको छ।

स्थिरताको प्रतिबद्धता प्रकट गरेर दुईतिहाइ प्राप्त गरेको नेकपाभित्र युद्धविराम गराउन उत्तरी छिमेकीले पनि भूमिका खेलेको नेताहरूको भनाइ छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार अपराह्न बसेको सचिवालय बैठकले पार्टी विवाद समाधान गर्ने र पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन् । विवादको केन्द्रमा रहेको प्रधानमन्त्री र पार्टीअध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने विषयले शनिबारको बैठकमा प्रवेश नै पाएन।

नेकपा स्रोतका अनुसार नेताहरूबीच शक्ति बाँडफाँडमा पनि संवाद भएको छ । २५ वैशाखको स्थायी समिति बैठकअघि सरकार र पार्टी नेतृत्वमा सञ्चालनमा समझदारी विकास हुने सम्भावना भएको स्थायी समितिका एक सदस्यले बताए।

सरकार र पार्टी सञ्चालनबारे दुई अध्यक्षबीच काम बाँडफाँड गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने, मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा गृहकार्यको सम्भावना छ । यसअघि नेपाल समूहका नेताहरूसँग सोमबार भएको वार्तामा पनि ओली समूहका नेताहरूले यस्तै प्रस्ताव राखेका थिए।

बैठकको सुरुमै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी र सरकार सञ्चालनका क्रममा अहिलेसम्मका कमजोरीबारे आत्मालोचना गर्दै यस्तै जिम्मेवारी स्विकार्न अन्य नेताहरूलाई पनि आग्रह गरेका थिए।

‘अहिलेसम्म जे–जे भयो–भयो, पार्टी नै विभाजन हुन्छ कि भन्ने अवस्था पनि आयो । तर, अब सबै तितोपिरो भुलौँ,’ सचिवालयका एक नेताका अनुसार ओलीको भनाइ थियो, ‘मिलेर जाऊँ । हामीसँग विकल्प पनि छैन । सरकार र पार्टी सञ्चालनका विषयमा मेरा पनि कमजोरी भएका छन् । ती कमजोरीका लागि म आत्मालोचना गर्छु । प्रचण्ड कमरेड र अरू कमरेडले पनि आ–आफ्नो भूमिकाअनुसारको जिम्मेवारी लिनुहुन्छ।’

ओलीले अब पार्टी र सरकारबीच समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

लगत्तै बोलेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीको प्रस्तावलाई समर्थन गर्दै आफ्नोतर्फबाट भएका कमजोरीका लागि आत्मालोचना गरेका थिए । ‘म प्रधानमन्त्रीको मिलेर जाऊँ भन्ने प्रस्तावको समर्थन गर्छु । पार्टी विभाजनतिर जान दिनुहुँदैन भनेर सबैले कोसिस गरेका छौँ । मेरोतर्फबाट कमजोरी भए त्यसलाई स्वीकार गर्छु,’ उनको भनाइ थियो, ‘अब यही स्पिरिटलाई आत्मासात् गरेर स्थायी कमिटी बैठक डाकौँ । साथीहरूले पत्र नै लेख्नुभएको छ । बाँकी काम त्यही बैठकबाट टुंग्याउँला।’

वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजनका लागि होइन, पद्धतिको पक्षमा आफूले आवाज उठाएको दोहो¥याएका थिए ।

 ‘मैले विभाजनको कुरा गरेको होइन, विधि, पद्धतिका लागि आवाज उठाएको हो । कार्यशैलीमा प्रश्न गरेको हो,’ उनको भनाइ थियो, ‘हामीले पनि नमिलौँ भनेर कहाँ भनेका छौँ? तर, तपाईंहरू दुईजना (ओली–प्रचण्ड)को मात्रै चोचोमोचो मिलेको हो भने हामीलाई स्वीकार्य छैन।’

बैठकमा प्रचण्डको कुर्सी सरिरहेको विषयमा नेपालको टिप्पणी थियो, ‘तपाईंहरूको कुर्सी कहिले तल आउँछ, कहिले माथि जान्छ । बुझ्नै गाह्रो छ।’

उत्कर्षमा पुगेको नेकपा विवाद मिलाउन पार्टीभित्रका नेताहरू सक्रिय थिए । त्यति मात्र होइन, चिनियाँ कम्युनिस्ट पार्टी र काठमाडौंस्थित दूतावासले पनि भूमिका खेलेको सचिवालयका एक नेताले बताए ।

‘योबीचमा चिनियाँहरू सक्रिय भएका छन्, उनीहरूले राष्ट्रपति, दुवै अध्यक्ष, वरिष्ठ नेता माधव नेपालसँग पनि संवाद गरेका छन्, उनीहरूको पहलले पनि काम गरेको देखिन्छ,’ उनले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad