कोरोना महामारी र प्राकृतिक विपत्तिले देश संकटमा छ । तर, चितवन कुसुमखोलाको चेपाङबस्तीमा यही वेला सरकार पनि लागेको छ।
चितवन राष्ट्रिय निकुन्जका कर्मचारी र सेनाको टोलीले विपन्नका घर हात्ती लगाएर भत्काइदिएको छ । सरकारले झुप्रोमा आगो लगाइदिएपछि मध्यबर्खामा चेपाङ घरबारविहीन भएका खबर आजको नयाँ पत्रिका दैनिकमा चितवनबाट विवेक पोखरेलले लेखेका छन्।
टिकटक बनाउन खेतको हिलोमा हामफाल्ने प्रतिस्पर्धा चलेको वेला चेपाङ बस्तीका २० वर्षीय युवा दानबहादुर प्रजा भने दुनियाँको खेत जोत्दै र खन्दै हिँडेका थिए । ‘अहिले रोपाइँको सिजन थियो, कमाइ गर्ने वेला पनि यही हो । एक दिन नबिराई ठाउँठाउँमा गएर खेतमा कोदालो चलाएँ, महिना दिन लगाएर १० हजार कमाएको थिएँ,’ उनले भने, ‘घरसँगै त्यही पैसा पनि जल्यो, सबैभन्दा ठूलो सम्पत्ति नै त्यही थियो ।’
शनिबार निकुन्जको टोली आउँदा उनी घरमा थिएनन् । उनी फेरि अर्काको घरमा काममा गएका थिए । ‘घरमा बुबाआमा हुनुहुन्थ्यो । आगो लगाउनु पहिले अरू सामान त निकाल्नुभएछ, तर १० हजार रुपैयाँ र नागरिकता निकाल्ने मेसो पाउनुभएनछ,’ दानबहादुरले रुन्चे स्वरमा भने, ‘घरमा आगो लाग्यो रे भन्ने सुन्नासाथ दगुर्दै आएँ, तर म आइपुग्दा घर नै खरानी भइसकेको थियो, पैसासँगै नागरिकता पनि जलेछ । हिलोमा कोदालो चलाएर कमाएको हुँ ।’
नगद र नागरिकता मात्र होइन, निकुन्जको टोलीले उनीहरूको खेती पनि नष्ट गरिदिएको छ । ‘घर भत्काइदियो, आगो लगाइदियो । ससाना गरामा लगाएको मकै र धान पनि नष्ट गरिदियो, हाम्रो उठिबास लगायो,’ उनले भने ।
सरकारले उठिबास लगाइदिएपछि चेपाङहरू स्थानीय विद्यालयमा बस्दै आएका छन् । दानबहादुरसँगै दीपबहादुर चेपाङको घरमा आगो लगाएको थियो भने अन्य आठ घर हात्ती लगाएर भत्काइएको थियो ।
कुसुमखोलाको चेपाङबस्तीमा १० परिवारको उठिबास लगाइएको छ । अरू परिवारलाई पनि एक साताभित्र बस्ती छाड्न निकुन्जले आदेश दिएको छ।

प्रतिक्रिया