छापा खबर


ओलीले प्रचण्डलाई भने- ‘तपाईं र म मिलौं, भैंसी तान्दा जुम्राहरू आफैं तानिन्छन्’

ओलीले प्रचण्डलाई भने- ‘तपाईं र म मिलौं, भैंसी तान्दा जुम्राहरू आफैं तानिन्छन्’

नेपालखबर
साउन ६, २०७७ मंगलबार १:११,

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको पछिल्लो छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबारे दुई तिखो टिप्पणी गरे।

पहिलो : तपाईं मेरो टिममा बस्ने कि माधव नेपालको टिममा, फैसला गर्नुहोस्।

दोस्रो : तपाईं र म मिलौं। भैंसी तान्दा जुम्राहरू आफैं तानिएर आउँछन्।

वरिष्ठ नेता नेपालप्रति ओलीको आवेगात्मक असन्तुष्टि थियो यो। त्यसले नेकपामा ओलीको सम्बन्ध दाहालभन्दा नेपालसँग बढी तिक्ततापूर्ण देखाउँछ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

ओली नेपाल कटुता तत्कालीन एमालेको नवौं महाधिवेशनपछि उत्कर्षमा पुगेको हो। ओली र नेपाल २०७१ को नवौं महाधिवेशनमा छुट्टाछुट्टै प्यानल बनाएर भिडे। वामदेव गौतम खुलेरै ओलीका पक्षमा लागे। झलनाथ खनालले भने भित्रभित्रै नेपाललाई साथ दिए। महाधिवेशनको नतिजा ओलीले ४९ मतान्तरले आफ्नो पोल्टामा पारे।

त्यसयता ओली-नेपाल सम्बन्ध सुमधुर बन्न सकेको छैन। त्यसअघि पनि यी दुई नेताबीच खटपट नभएको होइन। ६ वर्षयता भने यी दुई नेताको सम्बन्ध कहिले निकै पेचिलो अवस्थामा रह्यो त कहिले पानीको फोकामा परिणत हुँदै आयो। प्रधानमन्त्री ओलीले नेपालसँगको सम्बन्धलाई ‘पुरेत र जजमानको सम्बन्ध’का रूपमा अथ्र्याउने गरेका छन्।

‘पुरेत र जजमानको सम्बन्ध भनेको जजमानले जहिले पनि पुरेतलाई मानसम्मान, दानदक्षिणा दिन्छ। पुरेतले भने जजमानलाई कहिल्यै केही दिँदैन’, ओलीले भन्ने गरेका छन्, ‘मेरो र माधव नेपालको सम्बन्ध पुरेत र जजमानको जस्तो भयो। म जजमानजस्तो भएँ, उहाँचाहिँ पुरेतजस्तो हुनुभयो। मलाई उहाँले दिनुपर्छ भन्ने ठान्दिनँ। जुन दिन मान, सम्मान, सेवा नपुगेजस्तो हुन्छ त्यो दिन उहाँ आग्रह, रिसमा आइहाल्नुहुन्छ।’

ओली आफू पार्टी नेतृत्वमा आएदेखि नेपालले कहिल्यै साथ नदिएको महसुस गर्छन्। ओलीले संयमित भएर विधि र पद्धतिमा रही पार्टी चलाउनेभन्दा आफ्नो समूहको हित मात्र हेर्ने गरी काम गरेको भन्ने नेपाललाई लाग्छ। यही अविश्वास र असमझदारी बढ्दै जाँदा ओली-नेपाल सम्बन्ध दिनदिनै टाढिँदो छ।

एमाले-माओवादी एकतापछि नेकपामा त्रिपक्षीय शक्तिसंघर्ष छ। ओली, दाहाल र नेपालका आआफ्ना बलिया समूह छन्। दुई नेता मिल्दा अर्का किनारामा पर्छन्। अहिले ओली एकातिर र दाहाल(नेपाल अर्कोतिर देखिँदा पार्टी र सरकार सञ्चालनमा ओली अप्ठ्यारोमा परेका छन्।

यही अप्ठ्यारो अवस्थामा ओलीले नेपालसँग सम्बन्ध बढाउन चाहे। तर, ओली र दाहाल मिल्दा आफूलाई पेलेको भन्दै ओलीभन्दा दाहालसँग नजिकिन पुगे नेपाल।

प्रधानमन्त्री ओलीको अर्का अध्यक्ष दाहालसँग महिनामै झन्डै १५/२० पटक भेट हुन्छ। कहिले दाहाल ओली भेट्न बालुवाटार पुग्छन् त कहिले ओलीले नै बोलाएर छलफल गर्छन्। पछिल्लो पार्टी विवादमा पनि ओली र दाहालले १५ दिनमा झन्डै ११ पटक बालुवाटारमा घण्टौं छलफल गरेका छन्।

तर, नेपालसँग ओलीको यस्तो भेट ठप्पप्रायः छ। नेपालनिकट एक स्थायी समिति सदस्य भन्छन्, ‘प्रधानमन्त्रीले एक त भेट्नै बोलाउनुहुन्न, उहाँ (माधव नेपाल) पनि नबोलाइकन किन जाने भन्नेमा हुनुहुन्छ। भेटघाट नगन्य अवस्थामै छ। औपचारिक पार्टी काम, मिटिङहरूबाहेक मुस्किलले वर्षमा ५ पटक भेट हुन पनि गाह्रो छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad