कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भइरहेकोप्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वागत व्यक्त गरेको छ तर महामारीविरुद्ध लड्न अझै धेरै काम गर्न बाँकी रहेको बताएको छ ।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रायनले कोरोनाविरुद्ध खोप बनाइरहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिएका छन्। तर सँगैसँगै उनले भने, ‘यो सकारात्मक परिणाम हो, तर अझै लामो बाटो पार गर्न बाँकी छ।’
याे पनि: ‘अक्सफोर्डले बनाएको कोरोनाविरुद्धको खोप सुरुवाती चरणमा प्रभावकारी’
उनले खोपको परीक्षण ‘वास्तविक विश्व’ मा ठूलो मात्रामा हुन आवश्यक रहेको बताए।
कोरोनाविरुद्ध भनेर अहिले विश्वमा २३ वटा खोप बनिरहेका छन्। डा. रायनले भने, ‘ उपचार खोज्ने क्रममा धेरैवटा खोप निर्माण भइरहनु राम्रो कुरा हो।’
डब्लूएचओका महानिर्देशक डा. टेड्रोसल एडहानम गेब्रियससले सफल खोप सबैले प्राप्त गर्नुपर्नेमा जोड दिएका छन्।
धेरै देशले खोप निर्माणलाई ‘एटा वैश्विक सार्वजनिक सेवा’ का रूपमा लिइरहेका छन् भने केही विपरीत दिशामा पनि देखिएका छन्।
उनले भने, ‘जबसम्म यसमा आम सहमति हुँदैन, तबसम्म जोसँग पैसा हुन्छ, उसले मात्र खोप पाउने र अन्यले नपाउने अवस्था आउँछ।’
उनले जबसम्म खोप बन्दैन, तबसम्म ‘हामीले ज्यान बचाउनुपर्छ’ भने।बीबीसी

प्रतिक्रिया