देशभर लगातार वर्षा भइरहेको छ। अहिले (मंगलबार बिहान) पनि देशका धेरैजसो स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार विशेषगरी प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ मा मनसुन बढी सक्रिय देखिएको छ।
हिजो (सोमबार) साँझ पौने ६ बजेसम्मको मापनअनुसार सबैभन्दा बढी वर्षा बारामा भएको छ। मौसमविद् शाक्यका अनुसार हिजो साँझसम्म २४ घण्टामा त्यहाँ १ सय ६९ मिलिमिटर वर्षा भएको हाे। १५० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षा भनिन्छ भने ५० मिलिमिटरभन्दा माथिलाई भारी वर्षा भनिन्छ।
यस्तै काठमाडौंमा पनि भारी वर्षा भएको उनले जानकारी दिइन्। उनका अनुसार बितेको १२ घण्टामा काठमाडौं उपत्यकामा ५५.३ मिलिमिटर वर्षा भएको छ। अहिले पनि वर्षा जारी छ।
यस्तै आज दिउँसोे प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैगरी राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिअनुसार कम्तीमा अझै तीन दिन भारी वर्षा हुने क्रम रोकिने छैन। महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। त्यसपछि फेरि अर्काे बुलेटिन जारी गर्नेछ।
मौसमविद्का अनुसार अहिले नेपालको दक्षिणतर्फ नजिकै मनसुनको न्यून चापीय रेखा आएर बसेकाले व्यापक वर्षा भइरहेको हो।
जसका कारण बाढी र पहिरोले यो हप्ता निकै जनधनको क्षति गर्ने सम्भावना रहेको अनुमान गर्दै जल तथा मौसम विज्ञान विभागलगायत सम्बन्धित निकायले यसअघि नै सूचना जारी गरेर सचेत गराइसकेका छन्।
याे पनि:
अझै पाँच दिन भारी वर्षात् हुने, चार नदीमा ठूलो बाढी आउने पूर्वानुमान
आइतबारदेखि ५ दिन ठूलो वर्षाको सम्भावना, ‘पाहुना लागेर भए पनि ज्यान जाेगाउनू’ (भिडियो)

प्रतिक्रिया