छापा खबर


सिरिन्ज आक्रमण भयो भन्दै दैनिक ३/४ युवती पुग्छन् टेकु अस्पताल

सिरिन्ज आक्रमण भयो भन्दै दैनिक ३/४ युवती पुग्छन् टेकु अस्पताल

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ४:२४,

बुधबार दिउँसो राजधानीकी २१ वर्षीया युवती आत्तिँदै टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगिन्।

ढाडमुनिको भागमा सिरिन्ज घोपिएको शंकामा उनी अस्पताल पुगेकी थिइन् ।

चिकित्सकले चेकजाँच गर्दा सानो रातो डाबर मात्रै भेटियो । सिरिन्जले घोपे जस्तो कुनै लक्षण थिएन। बसमा यात्रा गर्दा पछाडिको सिटबाट कसैले तिखो वस्तुले घोचेजस्तो लागेको उनले बताइन्।

उपचारमा संलग्न डा‍. रिना देवकोटाका अनुसार उनलाई सिरिन्ज आक्रमणको ‘फोबिया’ ले समातेको हो। चिकित्सकको परामर्शपछि मात्रै उनी ढुक्क भएर घर फर्किन्।

त्यस्तै, एक साताअघि ४५ वर्षीया महिला पनि नाडीमा रातो डाम लिएर आत्तिँदै अस्पताल पुगिन्। मन्दिरमा लाइन बस्दा पछाडिबाट कसैले सुई रोपिदिएजस्तो लागेपछि उनी अस्पताल पुगेकी थिइन्।

‘चिकित्सकले ‘कसले के हानेको हो मान्छे देख्नुभयो ?’ भनेर सोध्दा उनले यस्तो कोही नदेखेको बताइन् । चेकजाँच गर्दा उनको नाडीमा आफैंले कोतरेका घाउ र रगत थियो।

उनी पनि यस्तै फोबिया देखिएको डा। देवकोटा बताउँछिन्। यी दुई पात्रजस्तै दिनहुँ ३र४ जना सिरिन्ज आक्रमणको ‘फोबिया’ बाट पीडित भएर महिला र किशोरी टेकु अस्पतालमा पुग्ने गरेका छन्। पछिल्लो डेढ महिनाको अवधिमा मात्रै यस्तै फोबिया लिएर ३० जना महिला अस्पताल पुगे।

‘आएजति एक जनामा पनि सिरिन्ज रोपिएको लक्षण भेटिएन। तिखो वस्तुले हल्का घोचेजस्तो लागेकै आधारमा उनीहरू अस्पताल आउँछन्,’ डा देवकोटाले भनिन्।
उनीहरू कसैमा रगत बग्ने, सुन्निने र घाउ हुनेजस्ता सिरिन्ज रोपिँदा देखा पर्ने लक्षण समस्या नभएको उनले बताइन्। यो खबर आजको कान्तिपुरमा फातिमा बानुले लेखेकी छन्।

सिरिन्ज आक्रमणका त्रासले एचआईभी र हेपटाइटिस संक्रमण सरेको डरका कारण आत्तिएर अस्पताल पुग्ने गरका छन् । यसरी पुगेकामध्ये कसैलाई पनि उपचार आवश्यक परेको छैन। अस्पतालले परामर्श मात्रै गरेर पठाइदिने गरेको छ ।

बसमा यात्रा गर्दा, बाटोमा हिँड्दा थोरै मात्रै तिखो वस्तुले घोचिहालेमा महिला र किशोरी अस्पताल पुगिहाल्ने गरेका छन् ।

अस्पतालकी नर्सिङ इन्चार्ज मञ्जु अधिकारीका अनुसार सामान्य ठेस लाग्दासमेत सिरिन्ज आक्रमणकै शंकामा उनीहरू अस्पताल पुग्छन्, आत्तिन्छन् ।

‘विशेष गरी मिडियामा सिरिन्ज आक्रमणको समाचार आउन थालेपछि यस्तो फोबिया बढेको छ । धारिलो वस्तुले घोचेकी एचआईभी नै सरिहाल्यो भन्ने डर छ उनीहरूमा,’ उनले भनिन्।

आत्तिनु पर्दैन
डा देवकोटाका अनुसार संक्रमित सिरिन्जले अरूलाई घोप्ने कुरा आममानिसले सोचेजस्तो सामान्य र सजिलो छैन । उनले भनिन्, ‘संक्रमित व्यक्तिले आफ्नो शरीरबाट रगत निकालेर १५ सेकेन्डभित्र सिरिन्जका माध्यमबाट अरूको शरीरमा लगाए मात्रै रोग सर्छ । यसरी मिलाएर कसैले सिरिन्ज आक्रमण गर्न त सम्भवै नै छैन ।’

यदि कोही संक्रमितले कुनै अर्को व्यक्तिमा रोग सार्नका लागि आफ्नै रगत सिरिन्जमा भरिहाले पनि रोगका कीटाणु हावाको सम्पर्कमा आउनेबित्तिकै मरिहाल्छन्।

सिरिन्ज आक्रमण भई नै हालेमा पनि एचआईभी र हेपटाइटिसको संक्रमण सर्ने सम्भावना अत्यन्तै न्यून ९करिब शून्य दशमलब १५० हुने बताउँदै उनले थपिन्,

‘रगत र सिरिन्जमा काम गर्ने प्रोफेसनल व्यक्तिबाहेक अन्य व्यक्तिमा सिरिन्जका माध्यमबाट एचआईभी सरेको विश्वमै एउटा पनि रेकर्ड छैन । त्यसैले डराउनु पर्दैन।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad