महोत्तरीमा आर्थिक वर्ष २०७५/७६ मा पोखरीमा डुबेर १८ जना बालबालिकाको मृत्यु भएको छ।
यस अवधिमा १० महिनादेखि १२ वर्ष उमेर समूहका १८ जना बालबालिकाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
आव ०७५/७६ मा महोत्तरीमा खोलाले बगाएर र पोखरीमा बगेर र डुबेर २७ जनाको मृत्यु भएको प्रहरी अभिलेखमा उल्लेख छ।
जसमध्ये यही असार अन्तिम साताको बाढी र डुबानमा परी सातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीले जानकारी दिए।
पछिल्लोपटक बाढी र डुबानमा परी मृत्यु हुनेमा पनि सात महीनादेखि १२ वर्षभित्रका बालबालिकाको सङ्ख्या बढी छ।
यसक्रममा मृत्यु भएका सातमध्ये चार १२ वर्षमुनिका र दुई १३/१४ वर्षीय किशोर छन्। यसक्रममा बाढीमा बगेर एक ७० वर्षीय वृद्धको पनि मृत्यु भएको छ।
यस्ता घटनामा बालबालिका पर्नुमा अभिभावकको बेवास्ता मुख्य कारण रहेको प्रहरी अधिकारीको भनाइ छ।
नदी र पोखरीमै तीन वर्षदेखि १० वर्षका बालबालिका नुहाउन जाँदा घरका अभिभावक बेखबर देखिएको प्रहरी बताउँछन्। अभिभावकले आफ्ना साना सन्तानबारे चासो नदेखाउँदा अकालमा बालबालिकाको ज्यान गएको देखिन्छ।

प्रतिक्रिया