छापा खबर


नेपालकाे गरिबी १८ प्रतिशतबाट बढेर २२ प्रतिशत पुग्ने अनुमान

नेपालकाे गरिबी १८ प्रतिशतबाट बढेर २२ प्रतिशत पुग्ने अनुमान

नेपालखबर
भदौ ७, २०७७ आइतबार २:५,

गत वर्ष नेपालका लागि केही सुखद खबर आयो। गत वर्ष (सन् २०१९) नेपाल निम्नमध्यम आय भएको श्रेणीमा उक्लियो।

नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार ९५ अमेरिकी डलर पुगेपछि मुलुकको हैसियत पनि बढेको थियो। सरकारले सन् २०३० सम्ममा मुलुकलाई मध्यम आयस्तरको श्रेणीमा पुर्याउने लक्ष्य राखेको छ। अहिले गरिबी करिब १८ प्रतिशत छ।

मध्यम आयस्तरमा पुग्न पाँच प्रतिशतमा झार्नुपर्ने हुन्छ। तर दुर्भाग्य, यही समयमा देखिएको कोभिड १९ महामारीले गतवर्षको सफलता र आगामी लक्ष्यमा तुषारापात हुने देखिएको खबर आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्।

कोभिडको कारण मुलुकको गरिबी तीनचार प्रतिशतले बढ्ने अनुमान गरिएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा बताउँछन्। ‘रोजगारी र आम्दानी गुमेपछि गरिबी बढ्छ,’ उनले भने, ‘अहिले उत्पादन र व्यापार चक्र प्रभावित भएको छ।’

कोभिडका कारण अर्थतन्त्रमा आएको गम्भीर समस्या र त्यसले निम्ताएको बेरोजगारीका कारण सबै क्षेत्र लथालिंग हुन पुगेको हो। कोरोनाको कारण लामो लकडाउन र त्यसपछि व्यापार व्यवसाय नतंग्रिँदै फेरि मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरिएको छ। यसले निम्न र मध्यवर्गीय परिवारको रोजगारी गुमेको छ भने क्रयशक्ति पनि घटाएको छ।

सडकपेटीमा पसल गर्दै आएकी धनमाया तामाङले यो वर्षको तीज निरस बनेको बताइन्। चार महिनादेखि उनको व्यापार ठप्प छ। कमाइ नभएपछि उनलाई बिहानबेलुकी छाक टार्न हम्मेहम्मे छ। चाडपर्वका लागि अतिरिक्त पैसा कहाँ होस्।

‘पैसा नभएपछि तीजमा मिठो मसिनो खान पाइएन,’ वाग्मती नदीकिनारको छाप्रोमा बस्दै आएकी तामाङले भनिन्, ‘कोरोनाले हातमुख जोड्न धौधौ भइसक्यो।’

कोभिड-१९ का कारण व्यापार गर्न नपाएपछि उनीसँग भएको बचत सकिएको छ। ‘आम्दानी एक रूपैयाँ छैन,’ निन्याउरो अनुहार लगाउँदै उनले भनिन्, ‘अब भएको बचत सकियो, कसरी जीविका चलाउने ?’ अहिले तामाङ परिवारले दैनिक उपभोग्य वस्तु किन्ने क्षमता गुमाएको छ।

कोभिडका कारण विशेष गरी दैनिक ज्यालादारी गर्ने, करारमा काम गर्ने, निजी क्षेत्रमा काम गर्ने र सानोतिनो व्यवसाय गर्नेले आम्दानी गुमाएका छन्। ठूला उद्योगीको नाफा स्वात्तै घटेको छ। यी विभिन्न पक्षले सहरी बेरोजगारी बढाएको छ।

लकडाउन, निषेधाज्ञाका कारण सहज आपूर्ति नहुँदा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ, कालोबजारी बढेको छ। आम्दानी घटेसँगै मुलुकमा गरिबी पनि बढ्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad