गत आर्थिक वर्ष २०७६७७ को अन्तिम चार महिनामा आर्थिक गतिविधि ठप्प रहँदा पनि वार्षिक आर्थिक अवस्थामा ठूलो प्रतिकूल प्रभाव परेको देखिएको छैन।
नेपाल राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका सूचक अनुसार गत वर्षको आर्थिक तथा वित्तीय स्थिति सकारात्मक देखिएको खबर आजको गोरखापत्र दैनिकमा भेषराज बेल्बासेले लेखेका छन्।
केन्द्रीय तथ्याङ्क विभागलाई उद्धृत गर्दै राष्ट्र बैङ्कले जनाए अनुसार आर्थिक वर्ष २०७६/७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि भएको अनुमान छ । कृषि क्षेत्रको वृद्धि २.५९ प्रतिशत, उद्योग क्षेत्रको ३.२३ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि १।९९ प्रतिशत रहेको छ।
त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २७.६५ प्रतिशत, १४.२७ प्रतिशत र ५८.०८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको १८.१ प्रतिशत पुगेको छ।
कुल पुँजी निर्माण, कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादन सँगको अनुपात क्रमशः ५०.१५ प्रतिशत, २८.१४ प्रतिशत र ४६.०३ प्रतिशत रहेको छ । कुल जलविद्युत् उत्पादन ११.५० प्रतिशतले वृद्धि भई १३१८.२ मेगावाट पुगेको छ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा चालू खाता घाटा ८७.९ प्रतिशतले घटेर ३२ अर्ब छ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २६५ अर्ब ३६ करोड रुपियाँ थियो।

प्रतिक्रिया