छापा खबर


कोरोना संक्रमणबाट बाबुको मृत्यु, किरियापुत्री बसेका छोरालाई गाउँलेले घरबाटै लखेटे!

कोरोना संक्रमणबाट बाबुको मृत्यु, किरियापुत्री बसेका छोरालाई गाउँलेले घरबाटै लखेटे!

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १:४३,

बानेश्वर, चितवनलगायतका क्षेत्रमा कोरोना संक्रमितमाथि छरछिमेकीले अमानवीय र असहिष्णु व्यवहार देखाएको समाचार बाहिर आइरहेका बेला धुलिखेलका एक समाजसेवीको परिवारलाई छरछिमेकी र स्थानीय प्रतिनिधिले किरियापुत्री बसेकै अवस्थामा लखेटेका छन्।

समाजसेवी रामचन्द्र घिनाञ्जुको कोरोना संक्रमणकै कारण ९८ वर्षको उमेरमा गत साता निधन भएपछि किरियामा बसेका उनका छोरासहितको परिवारलाई स्थानीय जनप्रतिनिधिसमेतले जबरजस्ती लखेटेका खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

‘यस क्षेत्रमा समाजसेवीका रुपमा स्थापित मेरा पितालाई दागबत्ती दिन पाइनँ, धैर्य गरेरै बसेको थिएँ, छरछिमेकी र जनप्रतिनिधिहरु नै आएर गाउँ छोडेर जा भनेपछि म सार्वजनिक भएको छु, अब नाम गोप्य राखिरहनुको के अर्थ?’घिनाञ्जुका छोरा रामेश्वर घिनाञ्जुले भने।

‘आजीवन समाजसेवा केका लागि, मेरो गाउँ–समाज भन्नु किन?’ उनले भने, ‘मैले सबै कुरा फेसबुकमा लेखेको छु, त्यही हेरिदिनुहोला।’

उनले फेसबुकमा लेखेका छन् - कोरोना संक्रमित भएर अस्पतालको आइसोलेसनमा बसेका बेला मेरा आदरणीय पिता रामचन्द्र घिनाञ्जु ९८औं वर्ष प्रवेश गर्नासाथ हामीबाट सदा सदाका लागि कुनै दुःख नै नदिई जानुभयो। समाजसेवाको बाटो सिकाएर र जीवन समाजका लागि समर्पित गर्नुपर्छ भन्दै बित्नुभयो। बुबा, तपाइँले सिकाएको बाटाहरु बिर्सने छैनौं।

बुबा, हजुरलाई श्रद्धाञ्जली दिन पनि हामीले त्रसित हुनुपरेको छ। यो के आइलाग्यो, हाम्रो परिवार र शुभचिन्तकहरुसामु। सबैसमक्ष यथार्थ राख्नैपर्ने बाध्यता पनि आइलाग्यो । आफूले आफूलाई सम्हाल्ने कोसिस कति गरें, मन बिचलित भयो, निद र भोक दुवै हरायो । सहनै सकिनँ । के यो धुलिखेलबासीलाई हजुरले गरेको सेवाको उपहार हो बा?

हामीलाई तपाईंको तस्वीरमा हेरेर तपाईंको चिरआत्माको कामना गर्न, शान्तिको दीप बाल्नसमेत मौका दिइएन बा । यो मेरो सेतो धोती कपडा मात्र नभएको भए हाम फालेर निस्कने थिएँ । यी पापीहरुसँग लडाइँ लड्थें । तपाईंलाई दाग बत्ती दिने अन्तिम कर्तव्य पनि पूरा गर्न पाइनँ बा । दाई पनि बूढो हुनुभयो र सक्नुहुन्न भनेर मैले दागबत्ती दिने इच्छा थियो।

बा, हामीलाई छरछिमेकीले हौसला दिनुको सट्टा अझै दुःखित बनाए । तपाईंको काजकिरिया समेतबाट वञ्चित गराए । आफू सधैं जीवितै हुनेजस्तो गरेर, मर्नै नपर्नेजस्तो व्यवहार गरे । नाम धेरै कमाइयो भने पनि गाह्रो हुन्छ भन्थे, त्यही भएको हो कि हामीलाई घर गाउँ छोड्ने धम्की आइरहेको छ। भएभरको शक्ति प्रयोग गरेर धुलिखेल हस्पिटलको एउटा कोठाभित्र थुनेर कैदीका रूपमा थन्क्याएका छन् । छिमेकीको उजुरी भनेर घरबाट निकाल्ने वहाना बनाए । सफल पनि भए । यस दुःखद घडीमा धम्कीको भाषा प्रयोग गरेर अस्पतालको आइसोलेसनमा ल्याएर कोचियो, किरिया गर्न पनि दिइएन।

सुरक्षाको नाम दिएर हस्पिटलमा कोचियो । यो हाम्रो लागि एउटा जेलजस्तै छ । हामीप्रति दया–माया गर्ने कोही छैन भन्ने महसुस भयो । रात छर्लङ बितिसक्दा पनि निद्रा लाग्दैन, बिहानी पख निदाउन खोज्छु हस्पिटलको होहल्लाले सुत्न सकिन्न । कतिदिन यसरी राख्ने हो केही थाहा छैन।

समाजसेवा तपाईंले सिकाएको बाटो । समाजसेवा गर्नकै लागि धुलिखेल खानेपानी उपभोक्ता समितिमा अध्यक्ष पदमा उम्मेदवारी दिएँ । हजुरको छोरा भएकै कारण मैले जितें, नगरबासीले पत्याए । नत्र काठमाडौंमा बसेर धुलिखेलमा चुनाब जित्न सम्भव थिएन, त्यसमाथि विरोधीहरुको जमात नै थियो । म मेरो बाबाटै परिचित छु, गर्व छ मलाई, बुबाको कान्छाछोरा हुनुमा।

रामचन्द्र घिनाञ्जु समाजसेवा प्रतिष्ठान कोष खडा गरेर बुबाको जन्मोत्सवमा प्रत्येक वर्ष समाजसेवीलाई सम्मान पनि गर्नसकियो । अहिले यो वर्ष जन्मदिन मनाउन पाएनौं । जन्मदिनकै दिन बुबा मृत्युसँग लडाइँ लड्दै हुनुहुन्थ्यो । तपाईंको नामको कोषमा ३५ लाख छ । १००औं जन्मदिनमा ५० लाख पु¥याउने योजना थियो । तर, समाजले घरमै बस्न नदिने भयो!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad