छापा खबर


४ करोडको लागुऔषधसहित पोर्चुगलका युवक पक्राउ, कसरी भित्रियाे यति धेरै आइस ड्रग?

४ करोडको लागुऔषधसहित पोर्चुगलका युवक पक्राउ, कसरी भित्रियाे यति धेरै आइस ड्रग?

नेपालखबर
साउन ६, २०७६ सोमबार २:५२,

ग्रामकै १० हजार रुपैयाँभन्दा धेरै पर्ने ४ किलो २ सय ग्राम आइस ड्रग (एमफेटामाइन) जापान तस्करी गर्न लागिएको अवस्थामा बरामद भएको छ।

पोर्चुगलका नागरिक टियागो मेन्डेस परइरालाई लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

झोलामा फल्स बटम बनाई त्यसभित्र लुकाएर जापान लैजान लागिएको आइस ड्रग बरामद भएको ब्युरोका एसपी कृष्ण प्रसाईंले बताए।

‘१७ वटा कागजका बक्समा माथि रुमाल र टाई थियो,’ उनले भने, ‘त्यसमुनि स–साना प्याकेटभित्र लुकाइ आइस ड्रग राखिएको थियो।’

परइराबाट बरामद आइस ड्रगको बजारमूल्य अन्दाजी चार करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

नेपालमा कसले ल्यायो?
ठूलो परिमाणमा आइस ड्रग बरामद गरेको प्रहरीले सो गिरोहका बारेमा भने केही पत्ता लगाउन सकेको छैन। आइस ड्रग नेपालमा ल्याउने को थियो भन्नेसमेत खुल्न सकेको छैन। पोर्चुगलका ती युवक बिहीबार नेपाल आएका थिए । ठमेलको एक होटेलमा बसे।

ठमेलमै एक व्यक्ति आएर आफूलाई सो झोला दिएको उनले बताएका छन् । ‘उनले अंग्रेजी नबोल्ने भएकाले अनुसन्धानमा भाषाको समस्या भएको छ,’ ब्युरोका एसपी प्रसाईंले भने, ‘सो लागुऔषध कसरी र कसले नेपाल ल्याएको थियो भन्ने विषय अनुसन्धानकै क्रममा छ ।’

आइस ड्रग बर्मा, लाओस देशमा धेरै उत्पादन हुन्छ। त्यहाँबाट नेपाल ल्याएर अन्य देशमा तस्करी हुने गरेको प्रहरीले जनाएको छ।

के हो आइस ड्रग?
औषधि बनाउन प्रयोग हुन केमिकल प्रयोग गरी यस्तो लागुऔषध बन्ने गर्दछ । नेपालका कतिपय औषधि कम्पनीले आइस ड्रगको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहलाई यस्तो केमिकल बेच्दै आएकोसमेत खुलेको थियो।

विश्वका महँगा क्लबमा व्यापार हुने आइस ड्रग नेपालमा समेत खपत हुन थालेको छ। केही धनाढ्य लागुऔषध दुर्व्यसनीले नेपालमा समेत यस्तो लागुऔषध प्रयोग गर्छन् ।

केही नेपाली थाइल्यान्डमा बसेर आइस ड्रगको कारोबार गर्दै आएको प्रहरी अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad