छापा खबर


३ जना मन्त्री र प्रधानसेनापति नै आइसोलेसनमा

३ जना मन्त्री र प्रधानसेनापति नै आइसोलेसनमा

नेपालखबर
भदौ १३, २०७७ शनिबार ०:२८,

सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ता (कमान्डर)हरू नै आइसोलेसनमा पुगेका छन्।

नेतृत्वकर्ता नै आइसोलेसनमा पुगेपछि कोभिड नियन्त्रणमा झनै समस्या देखिएको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

यस्तो अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्काल बैठक बसेर कोभिड नियन्त्रण सम्बन्धमा वैकल्पिक व्यवस्था गर्नुपर्नेमा प्रधानमन्त्री कार्यालय आफैं शिथिल देखिएको छ।

नेपाली सेनाको छाउनीस्थित हाताभित्र रहेको सिसिएमसी सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि सिसिएमसीका प्रमुख अधिकारी तथा महत्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीहरू शुक्रबारदेखि नै होम आइसोलेसनमा बसेका छन्।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र प्रधानसेनापति पूर्णचन्द्र थापा र सचिव महेन्द्र गुरागाईं होम आइसोलेसनमा बसेका हुन्।

सिसिएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका सम्बन्धमा उनीहरू छाउनीस्थित सिसिएमसीको कार्यालयमा बैठक बसेका थिए।

मन्त्रीहरूसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरूको पनि पिसिआर परीक्षण गरिए पनि उनीहरूको नतिजा आउन बाँकी छ । नतिजा नआउँदासम्म उनीहरू होम आइसोलेसनमै बस्नेछन्।

सिसिएमसी सचिवालयका कर्मचारीसम्ममै कोरोना पुष्टि हुँदा उपत्यकामा संक्रमणको झनै खतराको संकेत देखिएको छ । सिसिएमसी सचिवालय संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले ती कर्मचारीमा कपाल काट्न जाँदा संक्रमण भएको हुन सक्ने जनाएका छन्।

पछिल्ला दिनमा सिसिएमसीले कोरोना नियन्त्रणका लागि महत्वपूर्ण निर्णय लिन सकेको छैन । विगतका केही बैठकमा आगामी रणनीतिबारे के गर्ने भन्ने विषयमा छलफल हुने गरे पनि कुनै निर्णय हुन सकेको छैन।

कोभिड–१९ को महामारी तीव्र रूपमा फैलँदै गर्दा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय झनै सक्रिय हुनुपर्नेमा सक्रियता कम देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad