छापा खबर


निषेधाज्ञामै झन् किन बढ्यो काठमाडौं उपत्यकामा संक्रमण?

निषेधाज्ञामै झन् किन बढ्यो काठमाडौं उपत्यकामा संक्रमण?

नेपालखबर
असोज १, २०७७ बिहिबार १:८,

काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ।

निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले बढिरहेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले साउनभन्दा भदौमा मृत्युदर बढेको बताए। अहिले मृत्युदर ०.६ प्रतिशत छ।

सरकारी अधिकारीले निषेधाज्ञाको प्रभावका कारण संक्रमितको संख्या घट्ने आशा व्यक्त गरेका थिए। तर, निषेधाज्ञाले उपत्यकामा संक्रमण विस्तारको ‘चेन ब्रेक’ गर्न नसकेको विज्ञले जनाएका छन्। दिनहुँ सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा भेटिन थालेका छन्।

जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीले नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण झन् बढेको बताए। ‘मास्क नलगाई र भौतिक दूरीसमेत कायम नराखी बिहान–बेलुका घुमिरहेका छन्’, डा. मरासिनीले भने, ‘त्यसले पनि संक्रमण बढाएको हो।’

उपत्यकाका सबै स्थानीय तहमा अहिले संक्रमित छन्। वडा तहमा पनि संक्रमण देखिएको छ। तीनै जिल्लामा भदौ सुरुमा निषेधाज्ञा जारी गरिएको थियो। मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै संक्रमितको संख्या ११ हजार २ सय ३५ पुगेको छ। ललितपुरमा १ हजार २ सय ८६ र भक्तपुरमा १ हजार १ सय ४० संक्रमित छन्।

मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेलले निषेधाज्ञामा प्रभावकारी उपचार व्यवस्थापन र सीमान्तकृत एवं गरिबलाई निःशुल्क मास्क वितरणमा ध्यान दिनुपर्ने बताए।

‘जीविकोपार्जनका सबै आधार गुमाएर नागरिकले निषेधाज्ञा पालना गरी सहयोग गरे। मास्क किन्न नसक्ने विपन्नलाई सरकारले सहुलियत वा निःशुल्क वितरण गर्नुपर्थ्यो’, उनले भने, ‘उपचारका लागि पूर्वाधार एवं संरचना व्यवस्थापन गरी निषेधाज्ञाको उपयोग गर्नुपर्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad