छापा खबर


सुषमा स्वराजः नेपालकी शुभचिन्तक

सुषमा स्वराजः नेपालकी शुभचिन्तक

नेपालखबर
साउन २३, २०७६ बिहिबार ३:१९,

भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधनले यस क्षेत्रकी एक सशक्त नेतृको अवसान भएको छ।

साथै नेपालकी एक शुभचिन्तक पनि गुमेको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

मंगलबार साँझ नौ बजे टेलिभिजन हेरिरहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि ६७ वर्षीया स्वराजलाई एम्स अस्पतालमा पुर्‍याइएको थियो। अस्पताल लगिएको केही समयमै मृत घोषणा गरिएको थियो। उनले केही घण्टाअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै आफू यही दिन देख्न पर्खिरहेको बताएकी थिइन्।

जीवनको अन्तिम घडीमा सुषमाले प्रधानमन्त्री मोदीप्रति निकै सम्मान देखाएकी थिइन्। प्रधानमन्त्री मोदीलाई अभिनन्दन गर्न चाहन्छु भन्दै उनले ट्विट गरेकी थिइन्, ‘यहाँलाई धरैधेरै धन्यवाद। म जीवनमा यही दिनको प्रतीक्षामा थिएँ।’ मोदीले कश्मीरमा चालेको कदम र संविधानको धारा ३७० खारेजीलाई उनले सम्मान गरेकी हुन्।

उनी कांग्रेस आई सत्तामा रहँदा कटु आलोचक थिइन्। उनले तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहलाई संसद्मा बोल्नै अप्ठ्यारो पार्थिन्। यस क्षेत्रबाट पूर्वीय दर्शन र संस्कृतको प्रमुख प्रवद्र्धकको अन्त्य भएको धारणा भारतीय नेतृत्वको छ। नेपालसँग उनको साइनो जोडिनुको मुख्य कारण पनि भाषा र संस्कृति नै थियो। उनी संस्कृत भाषा अध्ययन गर्नेलाई निकै सम्मान गर्थिन् र आफू निकटको सूचीमा राख्थिन्।

उनले भारतमा पश्चिमा संस्कृतिलाई ओझेलमा राख्न आफ्नो पहिचान सधैं हिन्दु महिलाको आदर्श झल्किने पहिरनबाट दिइरहिन्। यसबाट उनले हिन्दु नारीलाई जोड्ने काम पनि गरिन्। पछिल्लो पटक उनलाई भाजपाले प्रमुख जिम्मेवारी दिने तयारी गर्दै थियो।
गत निर्वाचनमा स्वास्थ्यका कारण भाजपाले मैदानमा उतारेन। भारतीय राजनीतिमा उनको भाषणको निकै प्रशंसा हुन्थ्यो। २५ वर्षको उमेरमै सांसद र राज्यमन्त्री बनेकी सुषमा कुनै विरासतबाट राजनीतिमा उदाएकी होइनन्।

उनले विदेशी नागरिकसँग विवाह गरेर आएकी भन्दै सोनिया गान्धी प्रधानमन्त्री बनिन् भने आफू भिक्षुणी हुने घोषणा नै गरेकी थिइन्। अन्त्येष्टिमा समेत पुगेर भारतीय जनता, हिन्दुत्व, पूर्वीय दर्शनमा एउटा ‘पहाड’ नै खसेको धारणा नेतृत्वहरूले व्यक्त गरेका थिए।

राजकीय सम्मानका साथ लोधी रोडस्थित विद्युतीय शवदाहगृहमा उनको अन्त्येष्टि गरिएको थियो। छोरी बाँसुरीले दाहसंस्कारको धार्मिक कार्य पूरा गरेकी थिइन्।

विदेशमन्त्री रहँदा नेपालसँगको सम्बन्ध आरम्भमा सुखद रह्यो। १७ वर्षदेखि हुन नसकेको दुईपक्षीय भ्रमणलाई उनले संयुक्त आयोगको तेस्रो बैठक गर्न नेपालको प्रस्तावलाई सहमति दिइन् र वार्ता भयो।

त्यसलगत्तै मोदीले नेपाल भ्रमण गरे। सार्कको १८ औं शिखर सम्मेलन पनि नेपालमा भयो। त्यसमा पनि सुषमाको सक्रियता थियो। नेपालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो। नाकाबन्दीका विषयमा उनले संसद्मा दिएको धारणालाई लिएर नेपालमा उनको विरोध भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad