छापा खबर


सर्वोच्चलाई प्रधानमन्त्रीको चेतावनी, तर निर्भीक न्यायाधीश सत्तासँग डराउँदैनन्, यस्ता छन् नजिर

सर्वोच्चलाई प्रधानमन्त्रीको चेतावनी, तर निर्भीक न्यायाधीश सत्तासँग डराउँदैनन्, यस्ता छन् नजिर

नेपालखबर
फागुन ९, २०७७ आइतबार ३:११,

०१५ को आमनिर्वाचनपछि प्रधानमन्त्रीमा निर्वाचित बिपी कोइरालालाई राजा महेन्द्रले १ पुस ०१७ मा पदच्युत गरी संविधान र प्रजातान्त्रिक व्यवस्था नै समाप्त गरेका थिए।

आठ वर्ष जेल जीवन बिताएपछि भारत निर्वासनमा गएका बिपी १६ पुस ०३३ मा नेपाल फर्के । नेपालमा आफूविरुद्ध राजद्रोहको मुद्दा चल्ने र जीवन नै जोखिममा पर्ने अवस्था हुँदाहुँदै बिपी नेपाल फर्किएका थिए । ‘त्यो वेला नेपाल फर्कनु ज्यानको समेत जोखिम हो भनेर बिपीलाई शुभचिन्तकहरूले सावधान गराएका रहेछन् । तर, नेपालमा मेरा पक्षमा लड्ने वकिल छन्, न्याय दिने अदालत छ । त्यसैले म फर्कन्छु भनेर उनी नेपाल आए,’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्झन्छन्।

बिपी मेलमिलापको नीति लिएर आएका थिए, तर उनलाई यहाँ राजद्रोह र राष्ट्रविप्लवसम्बन्धी मुद्दा लगाइयो । उनलाई तत्कालीन सत्ताले एउटा होइन, सातवटा मुद्दा लगायो । अभियोग सदर हुँदा उनलाई मृत्युदण्ड हुने थियो । बिपीका मुद्दा हेर्ने विशेष अदालतको जिम्मेवारी अतिरिक्त न्यायाधीश जनकमान श्रेष्ठले पाएका थिए । विशेष अदालतमा बिपीले आफूविरुद्धका सबै अभियोगको प्रतिवाद गरे।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बराल र शिल्पा कर्णले लेखेका छन्।

देशमा पञ्चायती व्यवस्था थियो, तर अदालतमै उभिएर उनले पञ्चायती व्यवस्था नै असंवैधानिक र गैरकानुनी हो भने । ‘२०१७ साल पुस १ गतेको घटना अनुचित मात्र होइन, असंवैधानिक र गैरकानुनीसमेत थियो, न्याय सिद्धान्तको आधारमा म यस न्यायालयका समक्ष यो निवेदन गर्न चाहन्छु,’ २९ वैशाख ०३४ मा उनले अदालतमा यो बयान दर्ज गराएका थिए।

अदालतमा बिपीको मुद्दामा बहस चलिरहँदा सत्ताको यो कदमको समर्थन गर्नेको पनि कमी थिएन । तर, विशेष अदालतका तत्कालीन न्यायाधीश जनकमान श्रेष्ठको एकल इजलासले बिपी कोइरालालाई सबै अभियोगबाट उन्मुक्ति दिने फैसला ग¥यो।

आफू नेतृत्वको सरकार संकटमा परेपछि प्रधानमन्त्री मनमोहन अधिकारीले २६ जेठ ०५२ मा प्रतिनिधिसभा नै विघटन गरिदिएका थिए । संसद् विघटनका लागि उनले गरेको सिफारिस चार दिनपछि राजा वीरेन्द्रले सदर गरेका थिए । तर, प्रधानमन्त्रीको सिफारिसमा राजाले गरेको विघटन पनि अदालतको संपरीक्षणमा गयो।

यो मुद्दामा सुनुवाइ गर्न सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले आफूसहित ११ जनाको बृहत् इजलास गठन गरेका थिए। त्यो वेला पनि प्रधानमन्त्री अधिकारीले सरकार लोकप्रिय भएकाले षड्यन्त्रपूर्वक ढाल्न खोजिएको भन्दै अदालतलाई राजनीतिक जवाफ दिएका थिए ।

तर, संसद् विघटन संविधानको दृष्टिमा गलत भएकाले राजनीतिक दुराशयलगायत विषयमा अदलत प्रवेश नै गरेको थिएन । ‘प्रतिनिधिसभाको विघटन असंवैधानिक र प्रारम्भदेखि नै कानुनी प्रभाव शून्य भएको हुँदा प्रतिनिधिसभा उक्त असंवैधानिक विघटनभन्दा पहिलेको स्थितिमा पुनर्जीवित भई संविधानअनुसार आफ्नो कार्य गर्न समर्थ र सक्षम रहेको कुरा यसै निर्णयद्वारा घोषित गरिएको छ,’ आदेशमा भनिएको थियो ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चार पूर्वप्रधानन्यायाधीशले पनि विज्ञप्ति जारी गरेर विरोध गरेका थिए । जननिर्वाचित प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्ने पूर्वप्रधानन्यायाधीशहरूलाई व्यंग्य गर्दै प्रधानमन्त्री केपी ओलीले २६ पुसमा राष्ट्रिय सभामा भनेका थिए, ‘यिनीहरू अदालतमा हुँदा कस्तो न्याय दिए होलान्?’

प्रधानमन्त्रीले निकट मात्रै इतिहास सम्झिएको भए यी न्यायाधीशप्रति व्यंग्य होइन, सादर अभिनन्दन गर्थे । किनकि यी यस्ता न्यायाधीश हुन् जसले सर्वोच्च अदालतमा हुँदा राजाकै प्रत्यक्ष शासनकालमा गठन भएको शाही आयोगसमेत खारेज गरिदिएका थिए । हो, सडकमा परिवर्तनकारी जनता र न्यायालयमा न्यायिक साहस भएका न्यायाधीश भएकोले शाही शासन ढलेको थियो, फलस्वरूप जनताका छोराछोरी राष्ट्रप्रमुख र सरकारप्रमुख बन्न पाएका छन् ।

राजा वीरेन्द्रको वंश विनाशपछि जेठ ०५८ मा राजा भएका ज्ञानेन्द्रमा शासकीय महत्वाकांक्षा बढ्दै जाँदा १९ माघ ०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार विघटन गरिएको थियो । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर राजाले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए ।

उनलाई राज्यका विधिवत् संरचनामा होइन, आफ्नो शक्तिप्रति अतिशयोक्तिपूर्ण विश्वास थियो । त्यसैले उनले अख्तियारलाई सन्दर्भहीन बनाउँदै ‘अधिकारसम्पन्न भ्रष्टाचार नियन्त्रण शाही आयोग’ गठन गरेका थिए । तर, त्यो शाही आयोग शाहीकालमै विघटन गर्ने साहस तत्कालीन सर्वोच्च अदालतले गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad