छापा खबर


नयाँ सत्तासमीकरण : महन्थ ठाकुरले ओलीसँग गोप्य संवाद गरेपछि जसपामा असन्तुष्टि

नयाँ सत्तासमीकरण : महन्थ ठाकुरले ओलीसँग गोप्य संवाद गरेपछि जसपामा असन्तुष्टि

नेपालखबर
फागुन २५, २०७७ मंगलबार २३:४४,

नयाँ सत्तासमीकरणमा जनता समाजवादी पार्टी निर्णायक बनेको छ । एमाले, कांग्रेस र माओवादीले समीकरणका लागि जसपासँग संवाद थालेका छन् । मंगलबार साँझसम्म जसपाले भावी समीकरणलाई लिएर औपचारिक निर्णय भने लिएको छैन।

प्रतिनिधिसभामा ३४ (हाल कायम ३२) सिट रहेको जसपाले सहयोग गरेमा प्रधानमन्त्री केपी ओलीको सरकारलाई सुविधाजनक बहुमत पुग्नेछ । एमालेसँग एक सय २१ मत रहेकाले जसपाले समर्थन गरेमा ओलीसँग एक सय ५३ मत पुग्नेछ । सरकार बनाउन अहिले १३५ मत पर्याप्त हुन्छ । त्यस्तै, ओलीको विकल्पमा सरकार बनाउन कांग्रेस (६१), माओवादी केन्द्र (५३) लाई जसपा (३२) को समर्थन अनिवार्य हुन्छ । यी तीन दलको समीकरणले १४६ मत पु¥याउन सक्छन् ।

जसपाले सत्तासमीकरणदेखि संविधान संशोधनसम्मका मुद्दामा अन्य दलसँग संवाद गर्न कार्यदल बनाउने निर्णय गरेको छ । जसपाले आफ्ना एजेन्डा नगदमै हल हुने गरी समीकरणबारे निर्णय लिने बताएको छ । पार्टी पदाधिकारी बैठकले नयाँ समीकरणबारे निर्णय लिने जसपाका शीर्ष नेताहरूले बताएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीको संसदीय दलको बैठकमा नयाँ समीकरणबारे छलफल भएको, तर यसबारे पदाधिकारी बैठकले अन्तिम निर्णय लिने बताए । ‘आज (मंगलबार) हाम्रो संयुक्त संसदीय दलको पहिलो बैठक बसेको हो । साथीहरूले समसामयिक राजनीतिका विषयमा आ–आफ्नो धारणा राख्नुभयो । त्यसमा आमधारणा भनेको अहिले ओली नै यो प्रतिगमनका मुख्य बाहक हुन् । उनको बिदाइ जरुरी छ, अब कुनै पनि ढंगले फेरि ओलीप्रति नरम हुने स्थिति आउँदैन । ओलीलाई छिटोभन्दा छिटो बिदा गर्नुपर्छ, त्यसका लागि विचार मिल्ने शक्तिहरूसँग गठबन्धन गरेर ओलीलाई विस्थापित गर्नुपर्छ भन्ने हो । तर, यसबारे हामी पदाधिकारी बैठक बसेर निर्णय लिन्छौँ,’ डा.भट्टराईले भने।

तर, जसपा वरिष्ठ नेता राजेन्द्र महतोले उधारोमा कुनै पनि पक्षलाई समर्थन वा सहयोग नहुने भन्दै सरकारमा सहभागी भएर सँगै जाने विषय धेरै टाढाको विषय भएको बताए । ‘विगतमा गरेको गल्ती जसपाले अब गर्दैन । विभिन्न कालखण्डमा ठगिएका छौँ । जसपा वैकल्पिक शक्ति निर्माणका लागि बनेको हो । त्यसका लागि जनताको विश्वास गुमाउनुहुँदैन भन्ने मान्यतामा हामी पुगेका छौँ । त्यसैको आधारमा अघि बढ्छौँ,’ उनले भने।

जसपाभित्र भावी सत्तासमीकरणलाई लिएर नेताहरूबीच मंगलबार संसदीय दलमा मतभेद देखिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकको अध्यक्ष ज्येष्ठताका आधारमा अध्यक्ष महन्थ ठाकुरले गरेका थिए । प्रधानमन्त्री ओलीसँग संवादमा रहेको विषय अध्यक्ष ठाकुरले संसदीय दल बैठकमा जानकारी गराएपछि केही नेताले असन्तुष्टि पोखेका थिए।

सांसद प्रदीप यादवले आफूलगायत तमाम नेता–कार्यकर्तामाथि मधेस आन्दोलनका वेलामा लागेका मुद्दा विचाराधीन रहेका वेला एकतर्फी रूपमा अघि बढेर समस्याको समाधान नहुने धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad