छापा खबर


कांग्रेस ताजा जनादेशकै पक्षमा

कांग्रेस ताजा जनादेशकै पक्षमा

नेपालखबर
चैत ५, २०७७ बिहिबार ०:४८,

पुनर्स्थापित संसद्ले काम गर्न नसकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकमा चुनावमा जाने प्रस्ताव गरेको अर्को दिन संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि ताजा जनादेशकै पक्षमा देखिएको छ।

राष्ट्रपतिले मंगलबार बोलाएको सर्वदलीय बैठकमा भने कांग्रेस सभापति शेरबहादुर देउवा बोलेका थिएनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले भने संसद् फेरि विघटन गरेर चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावमा आपत्ति जनाएका थिए।

सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेको एक महिना नपुग्दै प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाबीच चुनावी एजेन्डामा एकरूपता देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।

कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन सरकारको पहल भए पनि त्यसबारे ठोस निष्कर्षमा पुग्न नसकिरहेका वेला कांग्रेसले ताजा जनादेशलाई अघि सारेको हो । पार्टीका नेता कार्यकर्ता, माओवादी केन्द्र र जसपाले समेत ओलीको विकल्पमा अग्रसरता लिन आग्रह गर्दा पनि सभापति देउवाले ठोस पहल थालेका छैनन्।

तर, देउवाका विश्वासपात्र मानिने केन्द्रीय सदस्य रमेश लेखकले एमाले र जसपाभित्र सरकार गठनका विषयमा फरक–फरक मत रहेको र बहुमतको सरकार बन्न सक्ने अवस्था नभएकाले ताजा जनादेशको विकल्प नरहेको बताए।

‘पार्टीहरूको आन्तरिक द्वन्द्व संसद्मा आएको छ, यस्तो अवस्थामा संसद् कसरी गतिशील हुन सक्छ? न त यसले वैकल्पिक सरकार दिन सक्छ, न त स्थिरता र विकास नै,’ लेखकले भने, ‘त्यसैले मुलुकलाई निकास र संसद्लाई गतिशील बनाउन ताजा जनादेशमा जानुको विकल्प छैन । अन्यथा संसदीय व्यवस्था नै गलत हो भन्ने सोचलाई बल पुग्न सक्छ।’

उनले सत्तारुढ दल विभाजित अवस्थामा पुनस्र्थापित प्रतिनिधिसभाले स्थिरता र निकास दिन नसक्ने दाबी गरे । ‘प्रतिनिधिसभामा ६४ प्रतिशत मत भएको दल अहिले औपचारिक रूपमा दुईवटा भएको छ र अनौपचारिक रूपमा तीनवटा भएको देखिन्छ, जब कि ६४ प्रतिशत मत भएको दलले नै स्थिरता दिन सकेन भने अब त्रिशंकु अवस्थामा पुगेको प्रतिनिधिसभाले कसरी स्थिरता दिन सक्छ?’ लेखकले भने, ‘त्यसैले यसले धेरै काम गर्न सक्छ जस्तो मलाई लाग्दैन, निकासको बाटो भनेको ‘अर्ली इलेक्सन’ नै हो ।’

तर, कांग्रेसभित्र यो मुद्दामा एकरूपता छैन । कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधानको त्यही व्यवस्थाबमोजिम कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने बताएका छन् । ‘मुलुकको निकासको अन्तिम विकल्प भनेकै निर्वाचन हो । अब निर्वाचनमुखी सरकार निर्माण हुनुपर्छ, कांग्रेस निर्वाचनमुखी सरकारको पक्षमा छ,’ कोइरालाले भने।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल अहिलेको अवस्थामा जे–जे भए पनि ओलीको विकल्प खोज्नु पहिलो सर्त हुनुपर्ने बताए । ‘ओलीको नेतृत्वमा चुनावमा जान सकिँदैन, त्यो उहाँलाई धाँधली गर्न सजिलो बनाउने कुरा मात्रै हो । त्यसैले संकटको गाँठो फुकाउनका लागि उत्तम विकल्प भनेको त निर्वाचन नै हो । तर, पहिले ओलीको विकल्प खोज्नुपर्छ, त्यसका लागि कांग्रेसले आफ्नै नेतृत्व हुनुपर्ने अडान लिनुहुन्नँ, अरूलाई दिन पनि तयार हुनुपर्छ,’ पौडेलले भने।

प्रधानमन्त्री ओलीले सबै दल मिलेर ताजा जनादेशका लागि चुनावतिर जानुपर्ने प्रस्ताव अघि सारिसकेका छन् । ‘लोकतन्त्रमा चुनावबाट किन डराउने? अहिले नभए पनि दुई वर्षपछि त चुनाव हुन्छ नै, संसद् पुनस्र्थापनापछि यसले प्रभावकारी काम गर्न सकेको छैन । काम गर्ने अवस्था पनि छैन । परिणाममुखी नहुने संसद्तिर फर्कनुभन्दा सबै मिलेर चुनावतिर लागौँ,’ ओलीले मंगलबार राष्ट्रपति निवासमा भएको सर्वदलीय बैठकमा भनेका थिए।

पार्टीको विवादबाट भाग्न प्रधानमन्त्री ओलीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad