तपाईंले बैंक खाता खोलेर लामो समय नचलाई बस्नुभएको त छैन? त्यसो भए तत्काल नै गएर सक्रिय पार्नुहोस्। ६ महिनासम्म बैंक खातामार्फत कारोबार नगरेमा खाता निष्क्रिय हुने गर्छ।
निष्क्रिय खातामा अन्यत्रबाट पैसा जम्मा गर्न तथा रकमान्तर गर्नसमेत मिल्दैन। हाल भूकम्पपीडितको खातामा यस्तै समस्या देखिएको छ।
भूकम्पपीडितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग अनुदान सम्झौता गरेपछि पहिलो किस्ता बैंक खातामा जम्मा हुने गर्छ। तर, लाभग्राहीको बैंक खाता नै निष्क्रिय रहेपछि समस्या देखिएको छ। यस्तो समस्या पहिलो किस्ता लिनेको हकमा मात्र नभएर कतिपयको दोस्रो र तेस्रो किस्ता लिनेमा समेत देखिएको छ।
प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेका लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित बैंकमा सम्पर्क राखी खाता सुचारु गर्न अनुरोध गरेको छ। यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निष्क्रिय भएको बताए।
प्राधिकरणले आफ्नो बैंक खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजी आवास पुनर्निर्माण सुरु गर्न लाभग्राहीसँग आग्रह पनि गरेको छ।
प्राधिकरणले समयमै खाता सक्रिय नगर्नेहरूको हकमा प्राधिकरणले खाता निस्क्रिय पार्ने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया