छापा खबर


ठडियो २२ तले धरहरा, यस्तो बन्यो संरचना

ठडियो २२ तले धरहरा, यस्तो बन्यो संरचना

नेपालखबर
चैत २५, २०७७ बुधबार १:१४,

लामो समय चर्चा र विवादको विषय बनेको धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ६ वर्षअघि भूकम्पका कारण पूर्णरूपमा क्षति भएको धरहरा २२ तला निर्माण सम्पन्न भइसकेको छ।

धरहरामा राखिने गजुरको काम पनि सकिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शान्ति तामाङले लेखेकी छन्।

धरहराको गजुरमा सुनको जलप लगाउन भने बाँकी छ । गजुरमा सुनको जलप लगाउन प्राधिकरणले एक सय २६ तोला सुन धरहरा निर्माण कम्पनीलाई दिने तयारी गरेको छ । प्राधिकरणका विज्ञ इन्जिनियर राजुमान मानन्धरका अनुसार प्राधिकरणबाट सुन उपलब्ध गराएको सात दिनभित्र जलप लगाउने काम सम्पन्न हुनेछ । ‘जलप लगाएको गजुर राखेपछि धरहरा निर्माण सम्पन्न हुनेछ,’ उनले भने।

भूकम्पका कारण २२ टुक्रामा परिणत भएको गजुरलाई पहिलाकै जस्तो बनाउन गत माघदेखि काम थालिएको थियो। ‘हामीले महत्वपूर्ण काम सम्पन्न गरिसकेका छौँ,’ प्राधिकरणका विज्ञ सदस्य मानन्धरले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएअनुसार दोस्रो साता धरहरा उद्घाटन गर्ने गरी काम गरिरहेका छौँ ।’

प्राधिकरणका अनुसार लिफ्ट राख्ने काम पनि सकिएको छ । भर्‍याङ, विद्युत्, रङ लगाउने काम बाँकी छ । ‘हाल गजुरमा सुनको जलप लगाउन बाँकी छ । प्राधिकरणले सुन उपलब्ध गराएको हप्ता दिनमा गजुरमा जलप लगाएर सकिन्छ । भर्‍याङ, विद्युत्, रङको कामबाहेक अरु महत्वपूर्ण काम सकिएको छ,’ मानन्धरले भने।

यस्तो बन्दै छ धरहरा
धरहरा ऐतिहासिक सम्पदा भए पनि यसको पुनर्निर्माण बहुउपयोगी आधुनिक भवनका रूपमा हुँदै छ । यहाँ तीनतले सवारी पार्किङस्थल समेत निर्माण गरिनेछ । सुन्धारा, न्युरोड, रत्नपार्क क्षेत्रमा आउने गाडी यहाँ सःशुल्क पार्किङ गर्न सकिनेछ । न्युरोड क्षेत्रको पार्किङ समस्या हल गर्न यो सुविधा थप्न लागिएको प्राधिकरणले बताएको छ।

आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गर्ने गरी लिएको थियो । जसकारण पहिले पाँच रोपनी क्षेत्रफलमा भएको धरहराले ४२ रोपनी ओगटेको छ । प्राधिकरणबाट पारित डिजाइनअनुसार गोश्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहनेछ । भित्र छिरेपछि दुईतला भूमिगत हुनेछन् । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ ।

पर्यटकको सुविधा निम्ति धरहरा चढ्न र ओर्लन दुईवटा लिफ्ट छुट्टाछुट्टै राखिएको छ । लिफ्टमा एकपटकमा आठ जनासम्म चढ्न सक्नेछन् । आकस्मिक अवस्थाका लागि खुड्किला पनि हुनेछ । नयाँ बन्ने धरहराको संरचना अपांगतामैत्री हुने प्राधिकरणले जनाएको छ । धरहराको २०औँ तलामा ‘अब्जरभेसन डेस्क’ निर्माण गरिनेछ । यहाँबाट काठमाडौं उपत्यका दृश्यावलोकन गर्न सकिनेछ । बीस तलाबाट धरहराको टुप्पासम्म जान प्रयोग गरिने लिफ्ट पारदर्शी हुनेछ।

धरहराको १६ फिट अग्लो गजुर प्राधिकरणले आफ्नो संरक्षणमा राखेको छ । यो गजुर नयाँ धरहरामा पनि प्रयोग गरिनेछ । धरहरालाई हरियालीयुक्त बनाउन एउटा बगैँचा बनाइनेछ । बगैँचालाई ‘ह्यांगिङ गार्डेन’ नाम दिइएको छ । धरहरा पुनर्निर्माण क्रममा सुन्धारा पनि मर्मत गरिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .