छापा खबर


क्रूरतापूर्वक कुकुर मारिएपछि पशुअधिकारकर्मी र स्थानीयबीच घम्साघम्सी

क्रूरतापूर्वक कुकुर मारिएपछि पशुअधिकारकर्मी र स्थानीयबीच घम्साघम्सी

नेपालखबर
चैत ३१, २०७७ मंगलबार २:१३,

शुक्रबार (चैत २७ गते) साँझबाट सामाजिक सञ्जाल फेसबुकमा फरक प्रकारको एउटा भिडियो भाइरल बन्यो। कुकुरलाई निर्ममतापूर्वक मारेको भिडियो थियो त्यो।

त्यो घटना काभ्रेपलाञ्चोकको अट्ठाइसकिलोबाट काठमाडौं विश्वविद्यालय प्रवेश गर्ने बुद्धपार्क भन्ने ठाउँको हो। भिडियोमा एउटा सार्वजनिक पोलमा झुन्ड्याएर कुकुरलाई मारिएको दृश्य समेटिएको छ। दृश्यमा दुईजना मानिसले लट्ठी, कोदालो र भाटाले कुकुरको टाउकोमा प्रहार गरी निर्ममतापूर्वक मारेको देख्न सकिन्छ।

त्यो दृश्य भाइरल बनेपछि पशु अधिकारकर्मीले सामाजिक सञ्जाल फेसबुकबाटै न्यायका लागि भोलिपल्ट बुद्धपार्कमा जान सबैलाई आह्वान गरे। सोही आह्वानबमोजिम भोलिपल्ट शनिबार दिउँसो काठमाडौंबाट गएका र अन्य केही व्यक्ति तथा संस्थाका प्रतिनिधि गरी झन्डै दुई दर्जन मानिस बनेपामा भेला भए।

उनीहरू प्रहरीलाई लिएर बुद्धपार्क पुगे। त्यहाँ स्थानीय र पशु अधिकारकर्मीबीच झन्डै दिनभरि नै घम्साघम्सी पर्‍यो। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

टोलीमा सहभागी श्रीस एनिमल रेस्क्युकी अध्यक्ष सिर्जना ठकुरीले कुकुरलाई निर्ममतापूर्वक मार्नु हुन्न भनी जनचेतना फैलाउन घटनास्थल पुगे पनि स्थिति घम्साघम्सीमा परिणत भएको जनाइन्। कुकुरलाई मारेको सामान्य विषयमा पनि यत्रो गुन्डागर्दी गर्न आएको भन्ने स्थानीयको विरोधपछि अधिकारकर्मी र स्थानीयबीच हात हालाहालको स्थिति आएको उनले बताइन्।

‘प्रहरी सँगै लिएर नगएको भए त्यहाँ हातपातको अवस्था आउने थियो,’ उनले भनिन्। कुकुरलाई निर्ममतापूर्वक मारेको भिडियो काठमाडौं विश्वविद्यालयमा अध्ययनरत एकजना विद्यार्थीले घरको झ्यालबाट खिचेर सामाजिक सञ्जालमा राखेको जनाइएको छ। घटनाले उग्र रूप लिएपछि अहिले त्यो भिडियो हटाइएको छ। घटनाको दुई सातापछि मात्रै उनले भिडियो फेसबुकमा राखेको बताइएको छ।

दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म अधिकारकर्मी र स्थानीयबीच घम्साघम्सी चलेको थियो। अधिकारकर्मीले अभियुक्त भन्दै स्थानीय नेत्र तामाङमाथि कारबाही गर्न माग राखी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निवेदन दिएका छन्।

निवेदन हाल्न दिने र नदिनेबीच पनि प्रहरी कार्यालयमै घम्साघम्सी चलेको अधिकारकर्मी सुवास श्रेष्ठले बताए। उनका अनुसार त्यहाँ पुगेका दुई दर्जनजति अधिकारकर्मीमाथि चार दर्जनजतिको संख्यामा रहेका स्थानीयले अपशब्द प्रयोग गरेका थिए। त्यही विषयका कारण आफूहरूलाई डरधम्की आइरहेको अधिकारकर्मीले बताए।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका एसपी भूपेन्द्रबहादुर खत्रीले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिए। घटनाको विषयमा कसैलाई पक्राउ नगरेको जनाउँदै उनले घटनाको एनजिओकरण भएको हो कि जस्तो आफूलाई लागेको बताए।

घटनाले उग्ररूप लिएको स्विकार्दै एसपी खत्रीले स्थानीयले कुकुरलाई मार्नु सामान्य ठानेको र अधिकारकर्मीले ठूलो मुद्दा सोच्दा उग्र रूप लिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .